
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइजमाथि ३-१ को प्रभावशाली जित हात पार्यो।
खेलको १५ औं मिनेटमै शुसान्त श्रेष्ठले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। फेरि ४१ औं मिनेटमा मिक्चेन तामाङले प्रहार गरेको बललाई गति दिँदै अनन्त तामाङले गोल गर्दा थ्री स्टारले अग्रता दोब्बर बनायो।
पहिलो हाफमा २ गोलले अगाडि रहेको थ्री स्टारलाई वाइसु हजमतले गोल थप्दै टिमलाई ३ गोलले अगाडि ल्याए। उनले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए।
ब्रिगेडका लागि रोशल राना मगरले ९० औं मिनेटमा सान्त्वना गोल फर्काए।
जितसँगै १० अंक जोडेर थ्रीस्टारले दोस्रो स्थानमा रहेको मछिन्द्रसँग अंक बराबरी गरेको छ भने ब्रिगेड ब्वाइज ६ अंकसहित सातौं स्थानमा छ।