PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कारागारको ७० प्रतिशत भूमि प्रयोग विहीन, बन्दी भने कठ्याङ्ग्रिदो चिसोमा पनि त्रिपालमुनि



एम बम

कारागारको ७० प्रतिशत भूमि प्रयोग विहीन, बन्दी भने कठ्याङ्ग्रिदो चिसोमा पनि त्रिपालमुनि

कैलाली : विसं १९९७ सालमा स्थापना भएको कैलालीको कारागार त्यति बेला १ सय ५० जना कैदी बन्दीका लागि भनेर बनाइएको थियो। झन्डै २ बिघा जमिन रहेको कारागारभित्र अहिले ३० प्रतिशत जति भूमिमा मात्रै भौतिक संरचनाहरू छन्।

अन्य ७० प्रतिशत भूमि खाली रहेको कारागारका जेलर महेन्द्र खड्काले बताए। कारागारसँग प्रशस्त जमिन भए पनि कैदीको चाप क्षमता भन्दा तीन गुणा बढी सक्दा समेत संरचना बनाउन भने कसैको चासो पुग्न सकेको छैन।

१ सय ५० जनाका लागि अट्ने गरी निर्माण भएको कारागारमा अहिले ५ सय २९ जना कैदी बन्दी रहेको खड्काले बताए।

‘कारागारमा हाल ४१ महिला, २ आश्रित नाबालक, ३३ जना विदेशी नागरिक र अन्य पुरुषहरू गरी ५ सय २९ जना कैदी बन्दी रहेका छन्’, उनले भने, ‘भौतिक संरचना अभावले निकै समस्या भइरहेको छ।’

अहिलेको कठ्याङ्ग्रिदो चिसोमा समेत कैदीलाई भौतिक संरचना बाहिरै त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाइएको उनले बताए।

‘केन्द्रमा संरचना मागका लागि कयौँ पटक स्टिमेट बनाएर पठाइसक्यौँ’, उनले भने, ‘संरचना अनुगमनका लागि कयौँ कार्यदल समेत गठन भएर अनुगमन नभएको पनि होइन। अनुगमन गरेर गइसके पनि त्यसको व्यवस्थापन भने भएको छैन।’

कारागारमा कैदीको चाप तीन गुणाले बढिसक्दासम्म सुरक्षाको दरबन्दी पनि पुरानै रहेको छ।

भौतिक संरचना र सुरक्षाको दरबन्दीका लागि केन्द्रमा पटक पटक पहल गरिएको तर सुनुवाइ नभएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell