PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

'मैले १२ अर्ब पचायो भन्छन्, दिने को रहेछ?' प्रश्न गर्दै संचार मन्त्रीले भने : म आफैँमा एउटा ब्रान्ड हुँ



सविन ढकाल

'मैले १२ अर्ब पचायो भन्छन्, दिने को रहेछ?' प्रश्न गर्दै संचार मन्त्रीले भने : म आफैँमा एउटा ब्रान्ड हुँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा अहिले सबैभन्दा धेरै आलोचना र चर्चामा रहेका मन्त्री हुन् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटा। प्रधानमन्त्री ओली शैली पछ्याउँदै भाषण र कटाक्षमा निपूर्ण भएकाले पनि उनी चर्चित छन्। त्यसो त सरकारका प्रवक्ता आफैँमा चर्चासँग जोडिने पद हो।

मन्त्री बास्कोटाका पछिल्लो समय 'दुई तिहाइको सरकारीलाई हेप्नी?' अथवा 'हेप्नी?' शब्द धेरैका मुखमा झुन्डिन थालेको छ। एकहिसाबले उनको यही शब्द 'ब्रान्ड' नै बनेको छ। त्यो त उनी आफूलाई आफैं ब्रान्ड भएको समेत भन्न पछि पर्दैनन्। बुधवार काठमाडौंको एक पाँचतारे होटेलमा ब्रेकएनलिङ्सको 'ब्राण्ड स्टोरी' कार्यक्रम उद्घाटन कार्यक्रममा उनले आफू नै ब्रान्ड भइसकेको दावी गरे।

स्वम् नै ब्राण्डको जानकारी दिँदै मन्त्री बाँस्कोटाले भने, 'म पनि ब्रान्ड हुँ। धेरैले गाली गर्नुहुन्छ। तर, पनि म जानी जानी आफ्नो कुरा छोड्दै छोड्दिन। त्यसै गरी ब्रान्ड बन्दो रहेछ।'

मन्त्री बास्कोटाले यसो भनिरहँदा हलमा सहभागीहरुको हाँसोको फोहोरा छुटिरहेको थियो। त्यसैले हौसाएको हुनुपर्छ, उनी पनि मन्दमन्द मुस्कान दिँदै ब्राण्डबारे बोलिरहे। उनले आफूलाई कसैलाई रीस उठाउन मन नलाग्दा नलाग्दै पनि रीस उठाउनु परेको सुनाए।

पत्रकार विजयकुमार पाण्डेदेखि किशोर नेपालको उदाहरण दिँदै उनले आफूलाई पनि त्यस्तै ब्रान्ड भन्न भ्याए।

'मेरो कुरा गर्नुहन्छ भने म खुला कुरा गर्दिन्छु। कसैले मलाई यो काम गर्दिनुस् यति पैसा आउँछ भन्यो भने। हो र? अझ थप्न सकिँदैन भन्दिन्छु,' ठट्यौली पारामा उनले सुनाए।

यति भन्दा त हलमा हाँसो गुञ्जयमान भइहाल्यो। उनी अझै रोकिने पक्षमा थिएनन्।

'यसले थाहा हुन्छ खास पैसा चाहिँ कति पर्ने रहेछ। कसैले काम गरेवापत परल मूल्यभन्दा पनि बढी पैसा दिन्छु भने त्यहाँ उत्साह जाग्नुपर्छ। के हुन्छ? कति हुन्छ? एउटालाई कति हुन्छ? अर्कोलाई कति हुन्छ? सबै भाग छुट्याएर जाँदा चिजमा चाहिँ कति हुन्छ भन्ने हुन्छ। त्यसपछि थाहा हुन्छ मनमा के छ? अब कुरा मनको हुन्छ। त्यसमा लोभिने वा 'इन्टु' गर्दिने,' उनले सविस्तार व्याख्या गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठट्यौलीकै शैलीमा नै भाषण गरिरहेका मन्त्री बास्कोटले पर्यटन वर्ष २०२० लाई पनि भाषणमा जोड्न भ्याए। भ्रमण वर्ष भन्ने बित्तिकै विदेशीमात्र नआएर नेपालीले पनि भ्रमण गर्नुपर्ने उनको सुझाव थियो।

'भिजिट नेपाल कस्तो भने आफै आफै घुम्न गएर पनि हुन्छ नि। हाम्रो बुझाइ विदेशी आएपछि मात्र हुन्छ भन्ने छ। तर, त्यो मात्र होइन,' उनी केही सिरियस सुनिए। त्यसपछि उनले फेरि ब्रान्ड सम्झिए। भने, 'सगरमाथा पनि हाम्रो ब्रान्ड हो।'

त्यसपछि उनको भाषण नेपाल टेलिकमतिर मोडियो। जुन प्रकरणमा उनी सबैभन्दा धेरै विवादित र आलोचित थिए, त्यसलाई उनले ताने। नेपाल टेलिकममा एमडी बनाउँदा १० करोड रुपैयाँसम्म दिन आएको खुलासा गरे उनले।

'यो दिन्छु र त्यो दिन्छु भन्दै आउँदा रहेछन्। कतिसम्म आउँदो रहेछ भने मैले कसै कसैलाई सोधेको थिएँ - १० करोडसम्म अफर गरे ल। अहो! १० करोडसम्म दिने? दिने कसले? दिने मानिस चाहिँ देखिँदैन। बीचमा अरु मान्छे आउँछन्। कोही आउँछन् पाँच करोड भन्छन्। कोही आउँछन् दश करोड भन्छन्,' बास्कोटाले भने।

त्यसो त उनी माथि फोर जीमा १२ अर्ब रुपैयाँ घोटला परेको आरोप लागिरहेको छ। उनी आफैँ पनि आरोपबारे भन्न हिच्किचाउँदैनन्। 'आजभोलि मेरो १२ अर्बको भुँडी भनेर आउँछ। १२ अर्ब खायो भनेर,' हाँस्दै उनले सुनाए।

आफूलाई रकम खाएको आरोप लागे पनि दिने मानिस अहिलेसम्म बाहिर नआएको उनको व्यङ्ग्यात्मक गुनासो थियो। त्यसो त उनले मञ्चबाटै पनि रकम दिएको भए बाहिर ल्याउन चुनौती नै दिए।

'दिने चाहिँ को हो? कसैले भन्दैन। मैले दिएँ भन्दिनु नि त। सके तिर्थेँ नसके जेल जान्थेँ,' कुरो टुङ्ग्याउँदै उनले भने, 'धेरै कुरा के गर्ने? प्रस्ट बोल्दिन्छु अनि आफै विवादमा पर्छु। धन्यवाद।'

कार्यक्रम सञ्चालकले सबै विवादमाथि संचारमन्त्री बोलेको भन्दै थपे - 'सबै प्रस्टिकरण त दिनुभयो तर हेप्नी? भन्नेबारे चाहिँ छुटाउनु भयो त।' प्रस्तोताको टिप्पणीमाथि उनले केही भनेनन्, मुस्कुराएमात्र।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell