PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बिन्दास सन्तोष : १०० ‍‌औँ गोल गर्न भन्दा टिमलाई जिताउनेमा चासो, दाइ बालगोपाल भन्छन्, ‘रेकर्ड तोड्न गाह्रो छ’



मुकुन्द घिमिरे

बिन्दास सन्तोष : १०० ‍‌औँ गोल गर्न भन्दा टिमलाई जिताउनेमा चासो, दाइ बालगोपाल भन्छन्, ‘रेकर्ड तोड्न गाह्रो छ’
फोटोहरु एन्फा।

काठमाडौं : दशरथ रंगशालामा आज एउटा महत्वपूर्ण खेल हुँदै थियो। घरेलु लिगमा ९९ गोल गरेका च्यासलका कप्तान सन्तोष साहुखलको लागि त झनै महत्वपूर्ण।

घरेलु लिगमा १०० गोल पुर्‍याउने सन्तोषको प्रयास यसअघिका दुई वटा खेलमा असफल भएको थियो। विभागिय टोली नेपाल पुलिस क्लबविरुद्ध गोल गर्न पक्कै पनि सजिलो थिएन तर पनि फुटबल प्रेमी सबैले आज सन्तोषको खेलप्रति निकै चासो देखाएका थिए।

तर सन्तोष भने १०० औं गोलमा पनि खासै उत्साहित देखिएनन्। उनले यसलाई सामान्य प्रकृयाका रुपमा लिएको जस्तो देखिन्थ्यो। खेलपछिको कुराकानीमा पत्रकारहरुले पटकपटक १०० औं गोल गर्दाको अनुभव सुनाउन भन्दा उनी मुस्कुराउँदै खासै केही फरक अनुभव नभएको र टिमलाई जिताउन पाइए हुने भनेर मात्र आफूले सोचेको बताए। 

खैर, उनले जस्तो अनुभव गरे पनि नेपाली फुटबलमा चाहिँ नयाँ अनुभव गराए। शुरुका दुई खेलमा आक्रामक देखिएका सन्तोष पछिल्ला दुई खेलमा सेलाए र आजको खेलमा २ गोल गर्दै इतिहास बनाए। बहुप्रतिक्षित इतिहास।

आज उनले अनुभवी टिम नेपाल पुलिसविरुद्ध गोल गर्दै १०० औं गोल गरे। १८ औँ मिनेटमा सन्तोषले प्रहार गरेको बलले जाली चुम्दा नेपाली फुटबलमा इतिहास बनेको थियो। एउटा राष्ट्रिय कीर्तिमान। जो सजिलै बन्न सक्नेवाला देखिँदैन। निरन्तरता, फिटनेस र स्किलले गर्दा सन्तोषले आफ्नो १०० औँ गोल गरे। त्यतिमात्रै होइन उनले १०१ औँ गोल पनि आजकै खेलमा गरे। पुलिससँगको खेल २-२ को बराबरीमा सकिए पनि सन्तोषका लागि आजको खेल अविस्मरणीय रह्यो।

खेलपछिको प्रेस कन्फ्रेन्समा सन्तोषले १०० औँ गोल गर्ने भन्दा पनि टिमलाई जिताउने सोचेको बताए। टिम अलि नमिलेका कारण पछिल्ला खेल बिग्रिएको उनको भनाइ थियो।

लजालु स्वभावका सन्तोषले भने, ‘मलाई कुनै बेला ५० गोलको रेकर्ड पुग्दा अब १०० पुर्‍याउनु पर्छ भन्ने लागेको थियो। नयाँ खेलाडीले यो तोडेर अघि बढुन भन्ने छ। लिग चलिरह्यो भने कसैले यो रेकर्ड तोड्छ।’

सो प्रेस कन्फ्रेन्समा पुलिस क्लबका प्रशिक्षक अनन्त थापा आजको खेल एग्रेसिभ भएको बताए। खेलमा योजना अनुसार नै काम भएको पनि उनले बताए।

उनले भने, ‘टफ खेल थियो। ३ प्वाइन्ट लिनु पर्ने थियो तर सकिएन। कथाले सन्तोष मागेको थियो। १०० गोल चानचुने होइन। कुल वेदर, हट म्याच।’

यता च्यासलका कोच बालगोपाल साहुखलले १०० गोल पुगेपछि रिदम ब्याक भएको बताएका छन् छ। पुलिसले अनुमान गरे जस्तै खेलेको भन्दै उनले सके जति राम्रो म्याच खेलेको बताए। सन्तोषले १०० औं गोल गर्दा आफूलाई निकै गर्व महसुस भएको उनको भनाइ थियो।

सन्तोषको दाइ समेत रहेका बालगोपालले भने, ‘दाइको रुपमा प्राउड छु। उसको यो रेकर्ड तोड्न गाह्रो छ।’

नेपालमा स्ट्राइकरको कमि भएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell