PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मोबाइलमा केटाको फोन आउँदा छोरीको हत्या, घटना लुकाउन गाउँका ११ स्थानमा लगाएका थिए आगो



राधेश्याम पटेल

मोबाइलमा केटाको फोन आउँदा छोरीको हत्या, घटना लुकाउन गाउँका ११ स्थानमा लगाएका थिए आगो

वीरगंज : पर्सा प्रहरीले १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या अभियोगमा आमासहित चार जना आफन्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरीया नगरपालिका वडा नम्बर-९ सेमरबारी बस्ने पुनिताकी आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादव रहेको पर्साका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बताए।

करिब एक महिनाअघि पुनिता हराएको सूचना प्रहरीमा पुगेको थियो। प्रहरीले सूचनाकै आधारमा पुनिताको खोजीकार्य जारी राखेको थियो। अन्ततः पुस २१ गते पुनिताको शव फेला पर्‍यो। पुनिताको शव परालमा जलाएर हत्या गरी घर नजिकै खोलामा गाडेको अवस्थामा फेला परेको प्रहरीले बताएको थियो।

‘गोप्य सूचनाका अधारमा हामी अनुसन्धान गर्न शव गाडिएको ठाउँमा पुगेका थियौँ, घटनाको प्रकृति हेर्दा डिजेल हालेर शव जलाएको जस्तो देखिन्थ्यो। बाँकी रहेको शरीरको भाग पर लगेर जमिनमा गाडिएको थियो,’ प्रहरी उपरीक्षक राठौरले भने।

शवको आधा भाग जल्नु र बुवा फरार रहनुले घटनालाई थप रहस्यमयी बनाएको थियो। प्रहरीको अनुसन्धानमा पुनिताको मोबाइलमा कुनै केटाको फोन आउँदा आक्रोशित बनेको परिवारले कुटपिट गर्दा पुनिताको मृत्यु हुन गएको बुझिएको छ। घटनालाई ढाकछोप गर्न मट्टितेल छर्केर जलाएर शव गाडेको अनुसन्धानबाट खुलेको पर्सा प्रहरीको दावी छ।

सन्तोष दास तत्वा यसअघि पनि पोखरीया आसपासमा हुने विभिन्न आपराधिक घटनाको नाइके भएकोले उनकै उक्साहटमा घटना भएको प्रहरीको भनाइ छ।

शव जलाउने दिन मंसिर ३० गते पोखरीयाको विभिन्न ११ ठाउँमा आगलागीको नाटक पनि रचिएको प्रहरीले पत्ता लगाएको छ। शव जलाउने रातमा कसैलाई अशंका नहोस् भनी सन्तोषको योजनामा श्रृंखलाबद्ध आगलागी गराइएको प्रहरीले बताएको छ। 

पोखरीयामा अज्ञात समुहले श्रृंखलाबद्ध रुपमा ११ स्थानमा आगजनी गरेपछि नगर क्षेत्रको जनजिवन त्रसित भएको पोखरीयाका उपमेयर सल्मा खातुनले बताइन्। घटनाले यो रुप लिन्छ भनेर आफूले अनुमान पनि नगरेको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell