
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा संकटा क्लबले एपिएफको सामना गर्नेछ। दिउँसो १२ बजे सुरु हुने खेलमा १० औँ स्थानको एपिएफ र ११ औँ स्थानको संकटा स्पष्ट ३ अंक जोड्दै रेलिगेसन जोनबाट माथि उक्लने प्रयासमा रहनेछन्।
जारी सिजनमा ४ खेल खेलेको एपिएफको प्रदर्शन सन्तोषजनक छैन। ४ खेल खेलेको एपिएफले १ जित २ हार र १ बराबरी १ खेल्दै ४ अंक जोडेको छ।
अर्कोतर्फ संकटाले पनि समान ४ खेलमा २ हार, १ बराबरी र १ जित निकाल्दै ४ अंक नै जोडेको छ।
आर्मीको नजर शीर्ष स्थानमा
मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबबीच खेल बराबरी हुँदा कसैलाई धेरै फाइदा भएको थियो भने त्यो त्रिभुवन आर्मी क्लब थियो। चौथो चरण सकिँदा आर्मी ९ अंकसहित तेस्रो स्थानमा थियो। समान ९ अंक नै भएको मछिन्द्र दोस्रो र १० अंक भएको मनाङ पहिलो स्थानमा थियो।
पाँचौँ चरणको खेलमा मनाङ र मछिन्द्रले अंक बाँड्दा प्रत्यक्ष फाइदा आर्मीलाई पुग्यो। अहिले मनाङ ११ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने मछिन्द्र १० अंकसहित मनाङलाई पछ्याइरहेको छ। १ खेल कम खेलेको आर्मीको ९ अंक छ।
आजको खेल जितेको खण्डमा आर्मीको १२ अंक हुनेछ। आर्मीले लिग लिड गर्ने अवसर पाउनेछ। खेलमा आर्मीको प्रतिस्पर्धी सरस्वती युथ क्लबसँग छ। सरस्वती क्लबले यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। ४ खेल खेलेको सरस्वतीले एउटा पनि जित निकाल्न सकेको छैन। लिगको अंक तालिकाको पुछारमा छ। सरस्वती आर्मीलाई हराउँदै रेलिगेसन जोनबाट माथि उक्लने दाउमा हुनेछ।
यता आर्मी जित निकाल्दै ३ अंक जोडेर शीर्ष स्थानमा पुग्ने कोसिसमा हुनेछ। दोस्रो खेल ३ बजे सुरु हुनेछ।