PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चुकेका भट्टराई, चम्केका लामिछाने : अस्ट्रेलियाको डढेलो र नेपाल भ्रमण वर्ष



मुकुन्द घिमिरे

चुकेका भट्टराई, चम्केका लामिछाने : अस्ट्रेलियाको डढेलो र नेपाल भ्रमण वर्ष

केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भिजिट नेपालको प्रचार गर्न अस्ट्रेलिया पुगे। त्यहाँ मौन र्‍याली गर्ने क्रममा मन्त्री भट्टराईसहितको टोलीलाई त्यहाँको प्रशासनले रोक्यो भन्ने चर्चा चल्यो।

अस्ट्रेलियामा प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भइरहँदा नेपालका मन्त्री भने त्यहीँ कै नागरिकलाई नेपाल घुम्नलाई निम्तो दिन गएको भन्दै विरोध पनि भयो।

एकछिनमा त्यसो भएको होइन भन्ने पनि कुरा आयो।

एकातर्फ अस्ट्रेलिया भ्रमण पूर्व निर्धारित भएको हुँदा भट्टराई सिड्नी पुगेको बताइएको छ। अर्कोतर्फ र्‍याली रोकिनु नरोकिनु अलग कुरा भए पनि अस्ट्रेलिया प्रकोपमा गुज्रिरहँदा भ्रमण वर्ष प्रचारको समय गलत भएको टिप्पणी पनि भइरहेको छ।

अस्ट्रेलियामा अहिले डढेलोका कारण आपतकाल घोषणा गरिएको छ। लाखौँ हेक्टर जङ्गल डढेलोका कारण विनाश हुँदा पर्यावरणमा ठूलो समस्या भएको छ। ५० करोड भन्दा बढी जनावरहरूको मृत्यु भएको छ।

मन्त्री भट्टराईले र्‍याली रोकिएको भन्ने समाचार गलत रहेको प्रतिक्रिया दिएका छन्।

फेसबुकमा उनले मौन र्‍यालीमार्फत भ्रमण वर्षको प्रवर्द्धन गरिएको भन्दै गलत समाचार प्रकाशित गरेर मित्र राष्ट्रसँगको सम्बन्धसँग खेल्ने प्रयास भएको भन्दै लेखेका छन्, 'काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ!'

यी बिचमा मुख्य ३ कुरा आए। अस्ट्रेलियाको डढेलो, नेपाल भ्रमण वर्षको प्रचार र प्रचारको टाइमिङ।

यसैबीच अस्ट्रेलियामै फरक शैलीबाट प्रचार गरिएको छ भ्रमण वर्षको। र प्रचार गर्ने व्यक्ति हुन् क्रिकेटर सन्दीप लामिछाने। विश्व क्रिकेटका अधिकांश ठूला फ्रेन्चाइज लिग खेलिरहेका लामिछाने अहिले अस्ट्रेलियामा विश्वकै प्रतिष्ठित मानिने विगब्यास लिगमा व्यस्त छन्। उनी बिगब्यास लिगमा मेलबर्न स्टारमा आबद्ध छन्।

बुधबार सन्दीपको टिम मेलबर्नको खेल थियो। प्लेइङ सेटमा सन्दीप पनि थिए। ४ ओभर बलिङ गरेका सन्दीपले विकेट लिन सकेनन्। उनले विकेट नलिई ३९ रन खर्चिए। तर पनि उनी चर्चामा रहे।

कारण थियो उनले लगाएको जुत्ता।

सन्दीपले बुधबारको खेलमा नेपाल भ्रमण वर्षको प्रचारमात्र गरेनन्, अस्ट्रेलियामा लागेको डढेलो पीडितलाई सहानुभूति समेत दर्साए। खेलको कमेन्ट्रीका क्रममा सन्दीपको जुत्ताको पटकपटक चर्चा भएको थियो।

उनले लगाएको एउटा जुत्तामा भिजिट नेपाल २०२० लेखिएको थियो भने अर्को जुत्तामा ‘बुस फायर हिरोज’ लेखिएको थियो।

भ्रमण वर्षमा सन्दीपको क्रिकेट कूटनीतिबाट योगदान यहीमात्र भने होइन। केही दिनअघिमात्र सन्दीपले अस्ट्रेलियन स्पिनर जाम्पालाई नेपाल आउन निम्ता दिएका थिए।

‘सन्दीप र मसँगै हुँदा रमाइलो लाग्छ। पछिल्लो वर्षयता हाम्रो मित्रता राम्रो भएको छ। उ त्यतिबेला छिट्टै गएको भए पनि हाम्रो कुराकानी भएको थियो।’ जाम्पाले भनेका छन्, ‘उसले म नेपाल आएको हेर्न चाहेको छ। र, मैले पनि इच्छुक भएको उसलाई भनेको छु। उ मलाई हाइकिङमा लैजान चाहन्छ। मैले नेपालमा पनि खेलेको हेर्न चाहन्छ।’

जाम्पाले उक्त भिडियोमा सन्दीपले कहिलेकाहीँ बाहिर नेपाली रेस्टुरेन्टहरूमा लगेर खुवाउने गरेको बताएका छन्।

‘म सन्दीपसँग घुम्न जान इच्छुक छु। उ मेरो सानो राम्रो साथी हो। उ सानो र क्युट छ। उ विकेट लिन मन पराउँछ। जसमा उ राम्रो पनि छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell