PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चाकु उद्योगमा गजबको चहलपहल: नेपालमा मात्र होइन, टोखाको उत्पादन पुग्छ अमेरिका, अस्ट्रेलिया, जापान र चीन

चाकु उद्योगमा गजबको चहलपहल: नेपालमा मात्र होइन, टोखाको उत्पादन पुग्छ अमेरिका, अस्ट्रेलिया, जापान र चीन

प्रवीण रानाभाट/पहिलोपोस्ट


टोखा: माघे संक्रान्ति नजिकिएसँगै टोखामा बेग्लै चहलपहल सुरु हुन्छ। चहलपहल अरू केहीको होइन, चाकु उत्पादनको। माघमा अत्यधिक खपत हुने भएकाले यहाँका उद्योगमा भ्याइनभ्याइ छ।

माघे संक्रान्तिमा घ्यू चाकुको विशेष महत्त्व छ। यसका अलावा तिलको लड्डु पनि उत्तिकै खपत हुने गर्छ यतिखेर। तिलको लड्डु पनि चाकुमा मिलाएर बनाइने हो। 

अरूलाई जस्तै ३५ वर्षीय बुद्ध श्रेष्ठलाई पनि भ्याइनभ्याइ छ। बुद्ध काशीलाल चाकु प्रोडक्सनका सञ्चालक हुन्। चाकु उत्पादन मौसमी व्यापार भएकाले उनीसँगै व्यस्त छ उनको सिङ्गो परिवार। त्यसबाहेक ३० जना त कामदार नै छन् चाकु उत्पादनका लागि खटिएका।

'नाफा घाटा भन्दा पनि हाम्रो परम्परागत पेसा हो,' उनले भने, 'त्यसैले चाकु बनाउन रमाइलो लाग्छ।'

स्थायी व्यवसाय भने हलवाई हो उनको। अरुबेला मिठाई बनाउन व्यस्त उनी चाकु र लड्डु बनाउन दुई महिनाअघिदेखि सक्रिय हुने गर्छन्।

'हामी गुणस्तरमा कम्प्रोमाइज गर्दैनौँ। त्यही नै विशेषता भएकाले हामी निर्यातमा अगाडि छौँ,' उनले भने।

दश वर्षको उमेरदेखि चाकु र लड्डु बनाउँदै आएका छन् उनी, पुर्ख्यौली पेसा धान्दै। उनका अनुसार बिहान ६ बजेदेखि सुरु हुन्छ चाकुको काम। साँझ ८ बजेसम्म उनी र उनका परिवारसँगै कामदारहरू खटिएका हुन्छन्। पहिलेभन्दा माग बढेका कारण बुद्धको सिङ्गो परिवार त्यो माग धान्नका लागि यतिखेर बोल्नसमेत नभ्याउने गरी काममा जुटेको छ।

उनको कारखानामा उत्पादन हुने चाकु नेपाली बजारमा मात्र होइन, विदेशसम्मै पुग्ने गर्छ। त्यसैले उनी दुई महिना अघिदेखि नै यसको उत्पादनका लागि खटिने गर्छन्। जापान, अमेरिका र चीनमा समेत चाकु पठाउनुपर्ने भएकाले उनलाई भ्याइनभ्याइ छ।

चिसोमा चाकु खाँदा शरीर न्यानो हुने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले माघे संक्रान्तिमा चाकु अनिवार्य नै हुने गरेको हो। 'शरीरलाई न्यानो बनाउने मिठाई हो यो। स्वस्थकर हुन्छ। त्यसैले यसलाई अन्य समय पनि सहज रूपमा उपलब्ध हुनेगरी बजार विस्तारको योजनामा छु,' उनले भने।

विदेश पठाउनेदेखि नेपाली बजारको मागसमेत धान्नुपर्ने भएकाले उनीमात्र होइन, यहाँका धेरैवटा उद्योगमा काम गर्नेको चहलपहल बाक्लै छ।

हेर्नुस् चाकु बनाउँदाका दृष्यहरु:



ट्रेन्डिङ पोस्ट

Ncell