कैलाली : सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा तेस्रो पटक हिमपात भएको छ। बुधवार रातिदेखि भारी हिमपात शुरु भएको हो।
हिमपातका कारण पहाडी जिल्लाका सम्पूर्ण राजमार्गहरू अवरुद्ध भएका छन्। हिमपातका कारण भीमदत्त राजमार्गको डोटी-डडेलधुरा तथा कैलाली क्षेत्रको सडक खण्ड अवरुद्ध भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उक्त राजमार्गका ४ स्थानमा आवतजावत गर्ने सवारी साधनहरूलाई रोकिएको छ। बिहानैबाट सडकमा बाक्ले हिउँ जमेपछि सवारी साधनलाई रोक लगाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।
प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘भीमदत्त राजमार्गमा ४ ठाउँमा सवारीहरूलाई रोकिएको छ। अन्य पहाडी जिल्लाका राजमार्ग बन्द छन् भन्ने जानकारी आए पनि टेलिफोन सेवा अवरुद्ध रहेका कारण त्यहाँको पूर्ण विवरण आइसकेको छैन।’
राजमार्ग पुनः सञ्चालन गर्नका लागि ४ वटा स्काभेटरहरु तयारी अवस्थामा राखिएको उनले बताए।
‘हिउँ पर्ने क्रम जारी रहेकाले राजमार्ग सञ्चालन हुन भने सेकेको छैन’, उनले भने, ‘हिउँ पर्न रोकिने वित्तकै राजमार्ग पुनः सञ्चालनमा आउनेछ।’
सुदूरपश्चिमका पहाडी जिल्लाहरू डडेलधुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाहरूमा हिमपात शुरु भएसँगै चिसो पनि अत्यधिक बढेको छ। अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। चिसोले वृद्धवृद्धा, बालबालिका बढी प्रभावित भएका छन्।