
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको खेलमा संकटा क्लबले विभागिय टोली एपिएफमाथि जित निकालेको छ। संकटाले एपिएफलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १९ औं मिनेटमा लक्ष्मण रुचालले फ्रि-किकमार्फत गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिनै लाग्दा संकटाले फेरि अर्को गोल थप्यो। ४४ औं मिनेटमा कर्णबहादुर सुब्बाले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए। यो सँगै पहिलो हाफमा संकटा २-० ले अगाडि रह्यो।
दोस्रो हाफमा पनि संकटाले नै गोल शुरुवात गर्यो। ५३ औं मिनेटमा अजय मार्टिन्सले गोल गर्दा संकटा ३-० ले अघि थियो। त्यसपछी तात्यो एपिएफ। खेलको ५६ औं मिनेटमा नविन लामाले गोल गर्दै एपिएफको खाता खोले। ७२ औं मिनेटमा आशिष लामाले गोल गर्दा एपिएफ ३-२ ले पछि थियो। एपिएफलाई आवश्यक थियो एक गोलको तर गोल गरे संकटाका अजय मार्टिन्सले। उनले खेलको ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा संकटा ४-२ ले खेल जित्न सफल भयो।
जितसँगै संकटा क्लव ७ अंकसहित ७ औं स्थानमा पुगेको छ। रेलिगेसन जोनमा नजिक रहेको संकटालाई आजको जितले राहत दिएको छ। उसले ५ खेलमा २ जित १ बराबरी र २ हारसँगै ७ अंक जोडेको हो। यता एपिएफ भने ४ अंकसहित ११ औं स्थानमा छ।
आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सरस्वती युवा क्लब भिड्दै छन्।