PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्रेकफास्ट भेलामा देउवाले भने : पार्टी सबैको हो, मिलेर जानुको विकल्प छैन



नेत्र तामाङ

ब्रेकफास्ट भेलामा देउवाले भने : पार्टी सबैको हो, मिलेर जानुको विकल्प छैन

काठमाडौं : बुढानिलकण्ठमा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको ब्रेकफास्ट भेला सकिएको छ।

आज बिहान ब्रेकफास्टका लागि केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा काँग्रेस जिल्ला सभापतिहरुलाई निम्तो दिएका थिए।

भेलामा सभापति देउवा जिल्ला सभापतिहरुको रायमा सकारात्मक देखिएको नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए। 

छलफल सकिए लगत्तै केसीले विभाग गठन र महाधिवेशनको विषय भागभण्डा नगरी स्वतन्त्र रुपले गर्ने सुझाव दिएको बताए। उनले भने, 'हामीले हिजो तयार पारेको ज्ञापनपत्र सभापतिलाई पढाएर सुनायौ। सरकारका अलोकतान्त्रिक कदमविरुद्ध लाग्न हामीले सुझाव दियौं।' 
पार्टी सबैको भएकोले मिलेर जानुको विकल्प नरहेको देउवाले बताएको केसीले उदृत गरे।

पुस ११ गते देउवाले बहुमतका आधारमा महाधिवेशन कार्यातालिका सार्वजनिक गर्नुका साथै विभागहरु गठन गरेका थिए। त्यसपछि देउवाइतरका नेताहरु रुष्ट बनेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायतले देउवाको कदमविरुद्ध रणनीति तय गर्न जिल्ला सभापतिहरुको भेला बोलाएका थिए। 

सोमबारबाट पार्टीको केन्द्रीय कार्यालय सानेपामा पौडेल पक्षका सभापतिहरु छलफलमा भेला भएका थिए। भेटमा निर्णय सच्चिनेबारे खासै छलफल नभएको जुम्लाका काँग्रेस सभापति दीपबहादुर शाहीले बताए।

आजको भेलामा छलफलमा भएका पार्टीका नेताहरु एक भएर जानुपर्ने सुझाव देउवाले दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। आजको छलफलले महाधिवेशनको बाटो संवाद र सहमतिबाट अघि बढ्ने बाटो खुलेको शर्माको धारणा थियो। 

ब्रेकफास्ट भेलामा पौडेल पक्षका मात्र नभई देउवा पक्षका जिल्ला सभापतिहरु समेत उपस्थित थिए। भेलामा ३२ जिल्ला सभापति उपस्थित रहेको ललितपुरका काँग्रेस सभापति मदनबहादुर अमात्यले जानकारी दिए।

भेलामा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको विवादको विकसित घटनाक्रमबारे जिल्ला सभापतिहरुलाई ब्रिफिङ गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell