PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश २ मा बिमा कार्यक्रम भएन प्रभावकारी, निजी स्वास्थ्य संस्थाले लत्त्याए सरकारसँगको सम्झौता



पहिलोपोस्ट

प्रदेश २ मा बिमा कार्यक्रम भएन प्रभावकारी, निजी स्वास्थ्य संस्थाले लत्त्याए सरकारसँगको सम्झौता

  • सुमित मिश्र-

जनकपुरधाम : सरकारको महत्वकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम प्रदेश नम्बर २ मा प्रभावकारी देखिएको छैन। प्रदेश २ मा अहिलेसम्म १ दशमलव २३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएका छन्।

प्रदेश २ को ५४ लाख जनसंख्यामध्ये ६६ हजार ५ सय ५८ जनाले मात्र अहिलेसम्म स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड प्रदेश २ का प्रदेश संयोजक रमेन्द्र प्रसाद कुशवाहाले जानकारी दिए।

उनले भने, ‘अस्पताल र स्वास्थ्य चौकीहरुले बदमासी गरेपछि स्वास्थ्य बिमा गरेका बिमितहरु निःशुल्क औषधी पाउनबाट बञ्चित भएका छन्।’

२०७४ साल माघ २५ गतेदेखि महोत्तरीबाट शुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अहिले प्रदेश २ का ५ वटा जिल्लामा विस्तार भइसकेको छ। सप्तरीमा बिमा बोर्डको कार्यालय सञ्चालन गर्ने तयारी शुरु भइसकेको छ। त्यस्तै बारा र सर्लाहीमा यस आर्थिक वर्षभित्र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने संयोजक कुशवाहाले बताए। 

रौतहटमा २०७४ चैत २२ गते, पर्सामा २०७५ जेठ ७ गते, धनुषामा २०७५ माघ २९ गते र सिरहामा २०७५ फाल्गुन २ गतेदेखि सञ्चालनमा ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन।

प्रदेश २ का ४० वटा सरकारी तथा निजी स्वास्थ्य संस्थासँग सम्झौता गरेर सञ्चालन गरिएको स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य संस्थाहरुको फार्मेसीमा औषधि अभावको समस्या हुनाले पनि प्रभावकारी बन्न नसकेको आँकलन गरिएको छ। प्रादेशिक अस्पताल जनकपुरधामको फार्मेसीमा पनि प्रर्याप्त औषधि नहुँदा अस्पतालमा सेवा लिन आउनेको संख्या गुणात्मक रुपमा न्युन रहेको बोर्डका संयोजक कुशवाहाले बताए।

प्रादेशिक अस्पताल जनकपुरधामले पुस मसान्तसम्ममा २ हजार ८ सय ३८ जनालाई सेवा दिएको बोर्डको तथ्यांकमा उल्लेख छ। यो संख्या तुलनात्मक रुपमा कम रहेको कुशवाहाले स्वीकारेका छन्।

निजी स्वास्थ्य संस्थातर्फ प्रदेश २ का आँखा अस्पतालहरुले राम्रो सेवा दिँदै आएको कुशवाहाले बताए। आरएन केडिया आँखा अस्पताल पर्सा, गौर आँखा अस्पताल रौतहट, किरण आँखा अस्पताल पर्सा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, जानकी आँखा अस्पताल जनकपुरधाम लगायत निजी अस्पतालले बिमितहरुलाई भरपर्दो सेवा प्रदान गरेको उनको भनाइ थियो। तर शुभ स्वस्तिक अस्पताल महोत्तरी, नेशनल मेडिकल कलेज पर्सा, सप्तऋषी अस्पताल सिरहा लगायतका अस्पतालले सम्झौता गरेर पनि स्वास्थ्य बिमा कार्यक्रममा कुनै चासो नै नदेखाएको कुशवाहाको गुनासो छ।

यता स्वास्थ्य बिमा कार्यक्रमप्रति निजी स्वास्थ्य संस्थाहरुले खासै चासो नदेखाएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अम्बिका मण्डलले दुःखेसो पोखिन्।

स्वास्थ्य बिमा कार्यक्रम अहिलेसम्म ४९ वटा जिल्लामा शुरु भइसकेको छ। तर बिमा कार्यक्रममा नागरिकको सहभागीता भने उत्साहजनक देखिएको छैन। प्रदेशगत रुपमा प्रदेश नम्बर २ मा सबैभन्दा कम नागरिकले बिमा गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell