PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश ३ को नाम र राजधानी के राख्ने? 'सचिवालयले जे भन्यो त्यही!'



सहयोग रञ्जित

प्रदेश ३ को नाम र राजधानी के राख्ने? 'सचिवालयले जे भन्यो त्यही!'

काठमाडौं : प्रदेश नम्बर ३ का नेकपा सांसदहरु यतिखेर संसदमा प्रदेशको नाम र राजधानी कहाँ रहने भन्नेमा छलफल गरिरहेका छन्। सांसदहरु नाम र राजधानीका बारेमा आ-आफ्नो धारणा राख्दैछन्। बोल्नेमा धेरै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नै छन्। दुई तिहाई पनि उनीहरुकै जो छ।

प्रदेश संसदमा उभिएर सांसदहरु भक्तपुर, काभ्रे, मकवानपुर, नुवाकोटलाई राजधानी बनाउनुपर्ने भन्दै भाषण गर्दैछन्। 'मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ...' भने झै उनीहरु हरेक जिल्लाको नाम लिँदै राजधानी बनाउनुपर्ने तर्क गरिरहेका छन्। उनीहरुलाई थाहा छ संसदमा जे बोले पनि आखिरमा नेकपाको सचिवालयले जे निर्देशन गरेको छ त्यही लागू हुने हो। अर्थात् जतिसुकै संघीयता भने पनि पार्टी सचिवालयको निर्देशनले त्यसलाई भुत्ते बनाइसकेको छ।

अब प्रदेश ३ को नाम वाग्‍मती र राजधानी मकवानपुरको हेटौडा हुनेमा केही संदेह छैन।

प्रदेश सांसदहरुलाई सचिवालयको प्रष्ट निर्देशन छ – वाग्मती र हेटौडामा तलमाथि नहोस्।

संविधानले प्रदेशलाई दिएको अधिकारमाथि केन्द्रले निर्देशन दिएको भनेर सांसदहरुले विरोध नगरेका पनि होइनन्। सत्तारुढ सांसदहरुले नै खुल्ला रुपमा विरोध गरिरहेका छन्। हेटौंडा भौगोलिक हिसाबमा राजधानी हुनै नहुने धेरै सांसदहरुको मत छ। यस्तै नामका बारेमा पनि सांसदहरु विभाजित छन्। पूर्व माओवादी सांसदहरु नेवा: ताम्सालिङको पक्षमा छन्। उपत्यकाका सांसदहरु नेपाल मण्डलको पक्षमा छन्।

जातीय राज्य सहितको संघीयताको नारा दिएर राष्ट्रिय राजनीतिमा होमेको तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा साविक नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल अन्तत: 'सेफ जोन' छनौट गर्न बाध्य भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समेत हाललाई सचिवालयकै निर्णमा अडिग भएर अगाडि बढ्ने मुडमा छन्। प्रदेश ३ को नेतृत्व गर्दै केन्द्रीय नेतृत्वलाई भेट्न पुगेकी प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले सचिवालयले लिएको निर्णयको परिणाम सही नभएको भन्दै विरोध समेत जनाइन्। तर, सचिवालय आफ्नो निर्णय सच्याउने तर्फ लागेन। अध्यक्षद्वयले साझा धारणा बनाउनका लागि भनेर सचिवालयले निर्णय गरेकाले अब त्यसबाट पछि हट्दा 'राजनीतिक घाटा' हुने तर्क राखेका छन्। किनभने अझै प्रदेश नम्बर १, २ र ५ को नामांकन बाँकी नै छ। प्रदेश ३ मा आफ्नो निर्णयबाट पछि हट्दा प्रदेशमा पनि गाह्रो हुने शीर्ष नेतृत्वको बुझाइ छ।

यता, प्रदेश सभामा भाग लिन हेटौडा पुगेका नेकपाकै सांसदहरु सचिवालय र पार्टी नेतृत्वको कार्यशैली प्रति खुशी छैनन्। पार्टीले जबरजस्ती निर्णय लागू गर्न कोसिस गरे उनीहरुले 'फ्लोर क्रस' गर्नसक्ने चेतावनी दिएका छन्। केही सांसदले भने विकल्प नभए राजीनामा दिन बाध्य हुने तर्क गरिरहेका छन्।

चेतावनी र तर्कबीच नेकपा प्रदेश ३ को संसदीय दलको बैठक बसेको थियो। प्रदेश नेतृत्वले उनीहरुलाई केन्द्रीय नेतृत्वको निर्देशनबारे ब्रिफिङ गरेका थिए। संसदीय दलको बैठकपछि प्रदेश सांसदहरुले उचित निर्णय लिने तयारी गरिरहेका छन्। तर, प्रदेशको राजधानी र नाम तय गर्नेबारे सचिवालयले कुनै निर्णय लिन नसकेको बताइएको छ। कम्युनिष्ट पार्टी भएकाले केन्द्रको निर्णय मान्नुपर्छ भन्ने एउटा जमात नै खडा भएको छ।

प्रदेश सभा सदस्य दीपक निरौला पार्टीले दिएको निर्देशन सबैले मान्नुपर्ने मत राख्छन्। उनी पार्टीकै निर्देशन बमोजिम प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौडा हुने दाबी गर्छन्।

त्यसैले, सचिवालयको निर्णय कार्यान्वयन गराउन 'ह्वीप' नै लगाउने पक्षमा नेकपा पुगेको बताइन्छ।

पार्टी सचिवालयले निर्देशन नमान्ने उद्घोष नै गरी हिँडेका सांसदहरु प्रदेशको राजधानीका लागि काभ्रेको नाम दर्ता गराउने पक्षमा छन्। उपत्यकाका सांसदहरु भने नेपाल मण्डल नाममै अडिग छन्।

आज ३ बजेदेखि प्रदेश संसद बैठक सुरु भएको छ। हिजो केही सांसदहरुले प्रदेशको नाम र राजधानीका बारेमा आफ्नो मत राखेका छन्। आज पनि करिब १५ देखि २० जना सांसदहरु बोल्ने तयारीमा छन्।

प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ भन्छन्, 'सांसदहरु बोल्ने क्रम सकिएसँगै प्रक्रिया सुरु हुन्छ। सांसदहरुलाई नाम र राजधानी प्रस्ताव गर्न समय दिन्छौं। त्यसपछि मतदान प्रक्रियाबाट सबै छिनोफानो हुन्छ। धेरैमा पुस २७-२८ गते भित्र प्रदेशको नामांकन र राजधानी टुंगो लाग्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell