PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई लाख ९८ हजारको नोट १ लाखमै बेच्ने तयारी ! कारोबार हुनै लाग्दा समातिए ४ जना



सविन ढकाल

दुई लाख ९८ हजारको नोट १ लाखमै बेच्ने तयारी ! कारोबार हुनै लाग्दा समातिए ४ जना

काठमाडौं : करिब ३ लाख रुपैयाँको मूल्य १ लाख मात्र? यस्तै कारोबार हुँदै गर्दै प्रहरीको नियन्त्रणमा परेका छन् चार जना।

हिजो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिकाका २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ का बल बहादुर राना मागर, डोटी पूर्वी चौकी गाउँपालिका घर भएका २४ वर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपाटी गाउँपालिका ३ का छत्रबहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले एक हजार दरका ४ लाख १३ हजार रुपैयाँ बरामद गरेको ब्यूरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

नोट थियो नक्कली

सस्तोमै बिक्री गर्न खोजेको नोट भने नक्कली रहेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका खड्का नक्कली नोट डिजाइन गर्ने मुख्य व्यक्ति हुन् भने बाँकी तीन जनाले भने बजारमा ती नोट पुर्‍याउने गरेको अनुसन्धानमा देखिएको छ।

बुधवार दिउँसो उनीहरु नक्कली नोट १ लाख रुपैयाँ बिक्री गर्ने योजना अनुसार सामाखुसीमा पुगेका थिए। प्रहरीलाई केही दिनअघि नै नक्कली नोटको कारोबार हुँदै छ भन्ने जानकरी थियो। 'हामीलाई सुचना आएको थियो। त्यसैले निगरानीमा राखेका थियौं,' ब्यूरोका एसपी पाण्डेले भने।

उनीहरुले २ लाख ९८ हजार रुपैयाँ बराबरको नक्कली नोट एक लाख सक्कली नोटमा बिक्री गर्न लागेका थिए। चीनमा व्यापार गर्ने एक जनाले नक्कली नोट किन्ने भएका थिए।

'व्यापारको लागि किन्ने योजना देखियो। तर, हामी पुग्दा उसले थाहा पाएछ पैसा नै लिन आएन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

बलबहादुर राना मगरले आफ्नै घरमा नक्कली नोट छाप्ने गरेको खुलेको छ। प्रहरी प्रारम्भीक अनुसन्धानमा अहिलेसम्म बजारमा नक्कली नोट गइनसकेको देखिएको जनाएको छ। रानको आफ्नै फोटोकपी तथा प्रिन्टिङ सेवा समेत छ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद -२२, मुद्रा सम्बन्धी कसूर अन्तर्गत दफा २५६ विपरीत कसूर भएको हुदा कसूर गर्ने वा गराउने व्यक्तिलाई मुद्भाको परिमाण र मूल्य विचार गरी ५ वर्ष देखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell