PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शैलुङमा दीपकको आतंकः एनजिओको आवरणमा गाडी र शिक्षिकासहित फरार



सविन ढकाल

शैलुङमा दीपकको आतंकः एनजिओको आवरणमा गाडी र शिक्षिकासहित फरार

काठमाडौँः शारीरिक अपाङ्गता भएका दीपक दशैँअघि दोलखाको शैलुङ गाउँपालिका पुग्दा धेरैका लागि आशाका केन्द्र बने। दशैँको महोलमा उनी शैलुङ पुगेका थिए। यसै पनि शैलुङ रमाइलो ठाउँ। दशैँको माहोलमा थप रौनक थियो।

गाउँमा बनेका राम्रा स्कुल र कलेजमा उत्तिकै उत्साह थियो। भूकम्पपछि बनेका गाउँका स्कुल र कलेजमै विज्ञान र प्राविधिक शिक्षातर्फ बाली विज्ञान पढाउने तयारी चलिरहेको थियो। तीन वर्षे डिप्लोमा कोर्सको सम्बन्धन पाएपछि शैलुङवासी दंग थिए। भौगोलिक रुपमा विकट शैलुङमा प्राविधिक शिक्षाको पठनपाठन थालनी हुनु सानो कुरा थिएन।

सम्बन्धन पाए पनि क्याम्पसमा भौतिक पूर्वाधार चाहे अनुसार थिएनन्। ल्याब समेत कसरी स्थापना गर्ने भन्ने समस्या थियो। त्यत्तिकैमा गाउँ पुगेका दीपक सबैका आशाको केन्द्र बन्न थाले। दीपकले आफ्नै गैरसरकारी संस्था भएको र त्यसबाट प्राविधिक शिक्षाका लागि सहयोग पुर्‍याउने बताएपछि ढुङ्गा खोज्दा देउता भेटेझैँ भएको थियो, गाउँलेका लागि।

उनले एनजिओबाट सहयोग गर्ने प्रतिवद्धतामात्र जनाएनन् तत्कालै काम पनि थाले। गाउँमा पुगेका अपरिचित युवकले सहयोग गर्लान् भन्ने कुरा शैलुङवासीका लागि पत्याइहाल्ने कुरा चाहिँ थिएन। तर, नपत्याई पनि सुख पाएनन्। काम त थालिसकेका थिए।  

'उहाँले सहयोग गर्छु भन्नुभयो। हामीले हुन्छ भन्यौँ। लगत्तै काम सुरु गर्नुभयो, 'शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले पहिलोपोस्टसँग भने।

दीपकले क्याम्पसको सबै विवरण तयार पारेका थिए। पहिलो चरणमा दुर्गा माविमा ल्याब बनाउने तयारी भयो। दीपकले १३ लाख रुपैयाँ बराबरको सामान दुर्गा माविमा झारेपछि त नपत्याउने कसरी? त्यसको लगत्तै अर्को क्याम्पसमा झन्डै ११ लाख रुपैयाँ बराबरको सामान पनि ल्याइहाले।

'दुई वटा क्याम्पसमा ल्याब बनाएपछि अन्य माविमा पनि सहयोग गर्ने भन्नुभएको थियो,' गाउँपालिका अध्यक्ष दुलालले भने।

विकासका काममा सरकारी पारा देखे भोगेका यहाँका मानिसहरू उनको काम गर्ने शैलीबाट तत्कालै प्रभावित नहुने कुरै भएन। धेरै जना उनीसँग नजिकिन चाहन्थे, यसरी तीव्र गतिमा काम गर्ने उनको शैलीले सबैलाई मोहित बनाइरहेको थियो।

कलेजमा ल्याब बनाउने तयारी भएसँगै अरुजस्तै दीपकसँग नजिकिएकी थिइन्, निर्मला। गाउँकै एक विद्यालयमा पढाउँदै आएकी शिक्षिका हुन् उनी। ल्याब बनाउने कामले नै दीपक र निर्मलालाई नजिक्याएको थियो। सामान झारेर काम गर्न थालेपछि आवश्यक सामान ल्याउन र हिँडडुल गर्न पनि गाडी चाहिने देखियो। एक ठाउँबाट अर्को ठाउँ गइरहन पर्ने अनि हिँडेरै दुरी तय गर्न कठिन। त्यसमाथि सार्वजनिक यातायातको गतिलो प्रवन्ध नभएको शैलुङमा काम सजिलो थिएन। दीपकले एउटा गाडी पनि किन्ने तयारी गरेको थाहा पाएका थिए गाउँपालिकाका अध्यक्ष दुलालले। अनि उनैले एउटा गाडी मिलाइदिए।

'मोलतोल समेत भयो। मैले नै गाउँपालिका मार्फत उनका लागि गाडी भन्दिएको हुँ,' दुलालले भने।

दीपक त्यसपछि त्यही गाडीमा ओहोरदोहोर गर्थे। ल्याब बनाउने अभियान चलिरहेको थियो।

तर, एकाएक एक दिन दीपक गाडीसहित गाउँबाटै बेपत्ता भए। शिक्षिका निर्मला पनि हराइन्। त्यसपछि गाउँमा हल्लाखल्ला मच्चियो। दीपक, गाडी र शिक्षिका नै लिएर फरार भएको गाइँगुइँ चल्न थाल्यो।

निर्मला पनि त्यही युवकसँग भागेकी थिइन्। उनीहरूबीच प्रेम सम्बन्धको सुरुवात भइसकेको रहेछ। दीपक र निर्मला अनि उनीहरूले चढ्ने बोलेरो गाडीमात्र हराएको थिएन, थुप्रैका सपना पनि एकाएक भत्किएका थिए।

दीपकको कामदेखि लट्ठिएकाहरू उनलाई यसरी विश्वास गरे कि कसरी ठगिए पत्तै पाएनन्। विभिन्न रोजगारीको लोभ देखाउँदै दीपकले समानान्तर हिसाबमा अर्को धन्दा सुरु गरिरहेका रहेछन्। लाखौँ खर्च गरेर गाउँमा जसरी प्रभाव छरिरहेका थिए उनले, सँगै त्यहाँका स्थानीयहरूसँग रोजगार र कामको लोभ देखाउँदै रकम पनि उठाइरहेका रहेछन्। युवती, गाडीसँगै दीपक फरार भएपछि उज्ज्वल भविष्यको कल्पना गर्दै उनलाई रकम दिनेहरू बल्ल होसमा आए -ला हामी त ठगिएछौँ।

गाडी गायब भएको खबरले गाडी धनीलाई पिर्ने नै भयो। गाडीको पुरै पैसा उनले पाइसकेका थिएनन्। त्यसैले गाडी धनीले गाडीको खोजी थाले। गाउँपालिकाका प्रतिनिधिसँग कुनै जवाफ थिएन। त्यसपछि गाडी धनी पुगे प्रहरीकहाँ जसले दीपक गायब भएको खबर डढेलोझैँ गाउँभरि फैलायो।

तर, एकाएक निर्मला फर्किइन्। गाडी पनि भेटियो।

उनीहरू गाउँबाट गायब भएको केही सातामै प्रहरीले हराइरहेको बोलेरो फेला पार्‍यो। झापाको काँकडभिट्टामा अलपत्र अवस्थामा गाडी फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रेवतीप्रसाद पोखरेलले जानकारी दिए।

 

फर्किइन् निर्मला, दीपक फरार नै

'मलाई त्यो मान्छेमाथि शंका लाग्यो। म भागेर आएँ।'

निर्मलाले प्रहरीकहाँ पुगेर दीपकविरुद्ध बयान दिइन्।

केही दिनदेखि गाउँबाट बेपत्ता भएकी निर्मला गाउँ फर्किँदा सबै अचम्ममा परे। मंसिरको पहिलो साता निर्मला गाउँबाट एकाएक गुमनाम थिइन्। उनी कहाँ गइन्? किन गइन् कसैलाई थाहा पत्तो नै थिएन। जब फर्केर आइन् त्यसपछि भने उनी फरार हुने घटनाका प्लटहरू बाहिर आउन थाले। 

उनीसँगै दीपक पनि बेपत्ता थिए, दोलखाको शैलुङबाट। त्यसैले धेरैले अड्कलबाजी काटिसकेका थिए, निर्मला त्यही युवकसँग भागिन्। तर, पुष्टि कतैबाट हुनसकेको थिएन। उनी फर्किएपछि भने निश्चित भयो -उनी तिनै युवकसँग भागेकी थिइन्। आफ्नै राजीखुशीमा गाउँ छाडेकी निर्मला आखिर किन फर्किन्? शंकास्पद हिसाबले उनी फर्किनुको कारण के थियो? उनले प्रहरी कहाँ पुगेर युवकको बारेमा उजुरी समेत दिएपछि घटनाको पर्दा खुल्ने क्रम सुरु भयो।

निर्मला जुन युवकसँग भागेकी थिइन्, ती त्यही गाउँका थिएनन्। गाउँमात्र होइन, जिल्ला अझ भनौँ नेपालकै थिएनन्। गाउँबाट निर्मला गायब भएपछि उनीभन्दा धेरै खोजीमा थिए, दीपक। एकाएक गायब भएका युवकलाई गाउँपालिकाका अध्यक्ष आफैं खोजी गर्न जुटेका थिए, बाध्यताले उनी बाँधिएका थिए। गायब युवकमाथि प्रहरीमा उजुरी पनि परिसकेको थियो, फरार भएपछि। दीपक गौतम नाम बताएका उनको उमेर अन्दाजी ३५ वर्ष छ। उनले बताएकै आधारमा भन्ने हो भने उनको ठेगाना : सिक्किम, भारत।

'निर्मला शंकास्पद गतिविधि बुझेपछि फर्किएकी हुन्। उजुरी परेको छ। हामी अनुसन्धान गरिरहेका छौँ,' दोलखाका प्रहरी प्रमुख डिएसपी रेवतीप्रसाद पोखरेलले भने।

(निर्मला पीडित शिक्षिकाको परिवर्तित नाम हो। व्यक्तिगत गोपनीयताका लागि अन्य पीडितहरूको नाम नखुलाइएको हो। - सं.)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell