PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'सरकारमा जाने-नजाने कुरा भएको छैन, समाजवादी हाम्रो डिमान्डमा बाहिरिएको होइन': अनिल झा



पहिलोपोस्ट

'सरकारमा जाने-नजाने कुरा भएको छैन, समाजवादी हाम्रो डिमान्डमा बाहिरिएको होइन': अनिल झा

८ पुसमा समाजवादी पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरियो। समाजवादीले सरकार छाडेपछि मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सरकारमा 'इन्ट्री' गर्ने अड्कलबाजी पनि चलिरहेको छ। राजपाले यस विषयमा मुख खोलेको छैन। उता, केही समयअघि समाजवादी र राजपाबीच एकताको चर्चा पनि चलेको थियो। सरकारमा सहभागिता र समाजवादीसँग भइरहेको वार्ताका विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झासँग गरिएको कुराकानीः- 

समाजवादी पार्टीले सरकार छाडेपछि राजपा सरकारमा जाने अड्कलबाजी चलिरहेको छ। खासमा के भइरहेको छ?

सरकारमा जाने-नजाने विषयमा पार्टीमा छलफल भएको छैन।

नेकपासँग वार्ता गरिरहेको छ होइन र?

यति बेला हाम्रो ध्यान राष्ट्रियसभाको निर्वाचन केन्द्रित छ। प्रदेश २ मा हामीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहकार्य गरेका छौँ। हामी राष्ट्रियसभा निर्वाचनमा केन्द्रित रहेर छलफलमा छौँ। चुनावी तालमेल गरेपछि निर्वाचनका विषयमा छलफल गर्नुपर्छ नै। चुनावका विषयमा दुई दलबीच छलफल गर्न नपाउने भन्ने कुरा पनि भएन। तर, सरकारमा जाने-नजाने भन्ने विषयमा कुराकानी भएको छैन।

के भयो भने राजपा सरकारमा जान्छ?

सरकारसँग स्पष्ट बहुमत छ। अर्को पार्टी सरकारमा नजाँदा अप्ठ्यारो पर्ने अवस्था पनि छैन। त्यसमाथि हामी त्यत्तिकै सरकारमा जादैनौँ। सरकारमा जान त सरकारबाट स्पष्ट कुरा आउनुपर्‍यो। रेशम चौधरीको मुद्दाको कुरा छ। संविधानको कुरा छ। रेशम चौधरीको मुद्दा फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग छ। सरकार यसमा स्पष्ट हुनुपर्छ। त्यसैले अहिल्यै सरकारमा जाने सम्भावना देखिँदैन।

प्रदेश २ मा राष्ट्रियसभाको चुनावमा तालमेल गर्नु र समाजवादी सरकारबाट बाहिरिनुले यहाँहरूको सरकारमा इन्ट्री हुने कुरालाई अझै मद्दत गर्छ नि?

प्रदेश २ मा राजपा, समाजवादी र कांग्रेस तालमेल गरेर जाऔँ भन्ने कुरा पनि भएको थियो। त्यति बेला समाजवादीले सहमति जनाएन। त्यसपछि हामीले नेकपासँग सहमति गर्‍यौँ। एउटा प्रदेशमा चुनावका लागि सहमति गर्दैमा सरकारमा जाने भन्ने कुरा हुँदैन।

यहाँहरूले समाजवादी पार्टीसँग एकताका लागि सरकार छाड्नुपर्ने शर्त राख्नुभएको थियो। समाजवादी सरकारबाहिर छ। के पार्टी एकताको काम अघि बढ्छ?

समाजवादीले हाम्रो डिमान्डमा सरकार छाडेको होइन। समाजवादीले पार्टी एकताका लागि सरकार छाडेको पनि होइन। हामीले जुन बेला सरकार छोडे पार्टी एकता भन्ने कुरा उठायौँ त्यति बेला त समाजवादी सरकारमा नै बसेको हो। अहिले प्रधानमन्त्रीले एक हिसाबले सरकार छाड्नु नै भनेको देखियो। त्यसपछि अर्थात् समाजवादी आफ्नै कारणले सरकार छाडेको हो। समाजवादीले सरकार छाड्ने बित्तिकै एकता हुन्छ भन्ने छैन। पार्टी एकताका लागि विभिन्न कुराहरू मिल्नुपर्ने हुन्छ।

समाजवादीले सरकारबाट बाहिरिएपछिको पत्रकार सम्मेलनमा उपेन्द्र यादवले राजपा आत्महत्या गर्न सरकारमा त जाँदैन होला भन्नुभएको थियो। यसमा यहाँको टिप्पणी?

समाजवादी त्यही सरकारमा बसेको हो। त्यसो भए त उहाँहरूले आत्महत्या गरिसक्नुभयो। आफू सरकारमा बस्दा आत्महत्या नहुने राजपा सरकारमा गए आत्महत्या हुन्छ र? के गर्दा राम्रो हुन्छ भन्ने निर्णय राजपा आफैंले लिन सक्छ। त्यो कुरा कसैले सिकाउन जरुरी छैन।

उपसभामुख तपाईँहरूलाई दिने कुरा भएको हो?

पहिलो कुरा त सभामुख कसलाई बनाउने भन्ने कुरामा टुंगो लागिसकेको छैन। हाल उपसभामुख पद खाली पनि छैन। नेकपाले सभामुख लिएपछि कानुनी रूपमा उपसभामुख अर्को दललाई दिनुपर्ने बाध्यता छ। दुवै पद आफूले लिन नमिल्ने भएपछि कुन दललाई दिने भन्ने कुरा नेकपाको हो। यस विषयमा खासै छलफल भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell