PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एक भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ



रासस

एक भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ

चौतारा : एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोग प्रहरीले सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगर रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

फटकशीलाबाट यही पुस १७ गते ६ जनालाई र प्रेम यादवलाई पर्सा प्रहरीको सहयोगमा गत पुस २२ गते वीरगंजबाट पक्राउ गरिएको हो। हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

इन्द्रावती गाउँपालिका–५ लामाटोलका पूर्णबहादुर तामाङको घरमा ठेकेदार मियाँको टोलीले यही पुस ६ गते ढलान कार्य सकेपछि उनीहरु सबैले मादक पदार्थ सेवन गरेका र राति ११ बजे ना ७ त २०९५ नम्बरको ट्र्याक्टर चढेर मेलम्ची बजार झरेका थिए।

बाटोमा विवाद परेपछि उनीहरु मुखियालाई कुटपिट गरी हत्या गरेका थिए। ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए। उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। 

हत्याको नौ दिनपछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो। हत्या गरेको आशंकामा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell