PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

तामाकोशी अझ लम्बिँदै, चौथो पटकको टार्गेट पनि मिस हुने, लागत चाहिँ दोब्बर बढी



पहिलोपोस्ट

तामाकोशी अझ लम्बिँदै, चौथो पटकको टार्गेट पनि मिस हुने, लागत चाहिँ दोब्बर बढी

काठमाडौं : ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले चौथो संशोधित तालिकामा पनि विद्युत उत्पादन गर्न नसक्ने पक्का भएको छ।

तोकिएको समयमा आयोजना नसकिएपछि लागत बढेको बढ्यै छ। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ब्याज बाहेक ३५ अर्ब थियो। त्यो ब्याज र अमेरिकी डलरको एप्रिसेसनले ४८ अर्ब पुगेको थियो। तर, अहिले यो आयोजनाको लागत ७३ अर्ब पुग्ने अनुमान छ। सुरुवातमा प्रति मेगावाट ८ करोड लागत रहेको आयोजनाको १६ करोड पुगेको छ। तर, अझै पनि आयोजनाबाट बिजुली कहिले उत्पादन सुरु हुन्छ टुंगो छैन।

आयोजनाको पावरहाउस लगायत सबै निर्माण भइसकेको छ। अहिले ठाडो सुरुङमा हाल्ने पेनस्टक पाइप राख्नै हम्मे भएको छ। अहिले आयोजनाको ६ सय ८२ मिटर लामो ठाडो सुरुङमा २८२ मिटर मात्रै पेनस्टक पाइप राखिएको छ। अझै ४०० मिटर पाइप राख्नै बाँकी छ।

आयोजनाले दाबी गरेअनुसार आगामी असारभित्र विद्युत उत्पादन गर्न चैतभित्र अर्थात् बढीमा सय दिनभित्र आयोजनाका सबै काम सक्नुपर्छ। तर, आयोजनामा भइरहेको कामको गति हेर्ने हो भने दुई सय दिनमा समेत पेनस्टक पाइप जडान हुन कठिन हुनेछ। दुई सय  मिटर पाइप जडान गर्न थप सय दिन नलागे पनि ४५ दिनमा पनि सकिने अवस्था छैन।

पुस २२ गते सम्मको तथ्यांकमा ३ सय १० मिटर लामो माथिल्लो ठाडो सुरुङमा ८७.५ मिटर मात्रै पेनस्टक पाइप जडान भएको छ। ३ सय ७२ मिटर लामो तल्लो ठाडो सुरुङमा १ सय ९० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ। माथिल्लो ठाडो सुरुङमा एउटा पाइप झार्ने काम अन्तिम चरणमा पुगेकाले यही हप्ताभित्र ९२ मिटर पाइप जडान हुने छ।

कुल ६ सय ८२ मिटर पेनस्टक पाइप राख्नु पर्नेमा पुस अन्तिम साता सम्म २ सय ९२ मिटर मात्रै पाइप जडान हुनेछ। यो कुल लम्बाइको ४० प्रतिशत मात्रै हो। आयोजनाले दाबी गरे अनुसार असारभित्र एउटा युनिटबाट बिजुली बाल्न पनि चैत सम्ममा ठाडो सुरुङमा पेन स्टक पाइप जडान गरिसक्नु पर्छ। तर, अहिलेको कामको गतिले असार सम्ममा पाइप जडानको काम मात्रै सकिने देखिन्छ।

अहिलेसम्म आयोजनाले असारमै विद्युत उत्पादन गर्नेगरी नियमित कार्य तालिकामा काम गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।

'कुनै प्राविधिक कठिनाइ आएन भने असारमा विद्युत उत्पादन हुन्छ,' उनले भने, 'विद्युत उत्पादन हुनेमा सकारात्मक सोचौं।'

कम्पनी मोडेलमा जनताको लगानीसहित निर्माण भइरहेको आयोजना समयमै आएको भए नेपालकै आकर्षक जलविद्युत आयोजना हुने थियो। भूकम्प र नाकाबन्दीका कारण केही समय पछिपरे पनि २०७३/७४ भित्र आयोजना सम्पन्न भइसक्नु पर्थ्यो।

२०७४ मंसिरमा आयोजनाको सुरुङमार्गको ब्रेक थ्रु भएपछि २०७५ पुससम्ममा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य थियो। आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell