PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दिलीपलाई कुटपिट गरी हत्या गरिएको परिवारको आरोप, मेयरले भने : नगरमा के भइरहेको छ मलाई के थाहा?



पहिलोपोस्ट

दिलीपलाई कुटपिट गरी हत्या गरिएको परिवारको आरोप, मेयरले भने : नगरमा के भइरहेको छ मलाई के थाहा?

  • सुमित मिश्र-

जनकपुरधाम : शुक्रवार धनुषाको मिथिला नगरपालिकामा अवैध उत्खनन् रोक्न गएका दिलीपकुमार महतोलाई कुटपिट गरी हत्या गरिएको उनको परिवारले आरोप लगाएका छन्।

दिलीपकी बहिनी लक्ष्मीका अनुसार साथी रोशन यादवको फोन आएलगत्तै बिहानै ४ बजे उनी घरबाट निस्किएका थिए। घरबाट निस्केको १५ मिनेट नबित्दै उनको हत्या भएको खबर पाएको लक्ष्मीले बताइन्। खबर पाएलगत्तै आफू खोला तर्फ गएको उनले बताइन्।

उनले भनिन्, ‘दाईलाई पहिले नै हातपात गरेर हत्या गरिएको थियो, त्यसपछि टिपरले किचिएको छ।’

मिथिला नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादवले शुक्रवार बिहान ४ बजेतिर आफूलाई दिलीपले फोन गरेको र उत्खनन् रोक्दा आफूमाथि कुटपिट भइरहेको भन्दै फोन गरेको बताए। अवैध उत्खनन् भएको थाहा पाएर रोक्नकै लागि छिमेकी साथी रोशनलाई लिएर उत्खनन्स्थल पुगेका दिलीपमाथि पहिला कुटपिट गरिएको र त्यसपछि टिपरले किचेर उनको हत्या गरिएको अनुमान गरिएको छ।

दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका भाइ रजनीश कुमारले दाईसँगै पुगेका रोशनले भागेर ज्यान जोगाएको बताए। दाईको हत्या भएको खबर रोशनले नै फैलाएका रजनीशको भनाइ छ। उनले दाईलाई पहिलेदेखि नै विरोध गर्न बन्द नगरे मार्ने धम्की आएको बताए।

यता घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि बर्दिबास नगरपालिका९ बस्ने टिपर चालक मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

बिनामुचुल्का नै उठाइयो शव

साथी रोशन यादवले अवैध उत्खनन भइरहेको खबर गरेपछि दिलीप बिहानको ४ बजेको घरबाट निस्केका थिए। दिलीप घरबाट निस्किएको केही बेरमै गाउँभरी उनको हत्या भएको खबर फैलियो। बहिनी लक्ष्मी, बुवा रामजीवन, वडाध्यक्ष श्यामबाबु यादव लगायत केही स्थानीय घटना स्थलमा पुगेका थिए। केहीबेर नबित्दै प्रहरीको टोली घटनास्थल पुगेको थियो।

वडाध्यक्ष महतोको सहमतिपछि दिलीपको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइयो। दिलीपको शव उठाइए पनि परिवारका सदस्यहरुले आफूहरुको सहमति तथा मुचुल्का बिना नै शव घटनास्थलबाट लगिएको आरोप लगाएका छन्।

वडाध्यक्ष यादवले पनि मुचुल्का बिना नै शव उठाइएको स्वीकार गरे।

उनले भने, ‘घटनास्थल पुगे लगत्तै शवलाई मेरै तौलियाले ढाकेको हुँ। गाउँको एक होनहार युवा गुमाउँदा मेरो मस्तिष्कले समेत काम गर्न सकेन र शव उठाउन दिएको हुँ।’

यता मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्।

नगरप्रमुख महतोसँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिप्रश्न गर्दै भने, ‘घरको भान्सामा के खाना पाकिरहेको छ भन्ने कुरा घरका सदस्यलाई थाहा हुँदैन भने नगरमा के भइरहेको छ भन्ने कुरो मलाई कसरी थाहा हुन्छ?’

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा छ। परिवारका सदस्यले भने बिना मुचुल्का किन शव उठाइयो भन्ने विषयमा स्पष्ट जवाफ नआएसम्म आफूहरुले शव नबुझ्ने बताउँदै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell