PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चन्द्र डाक्टरले छामेको देश : नेता र पढेलेखेका मान्छे नै बेइमानी! पैसा कमाउन लाग्दा देश खोक्रो



प्रकाश भण्डारी

चन्द्र डाक्टरले छामेको देश : नेता र पढेलेखेका मान्छे नै बेइमानी! पैसा कमाउन लाग्दा देश खोक्रो

कपाल सेतै फूले पनि जोशिला देखिन्छन्। रातो स्वेटरमाथि जरीकोट। जिन्स पाइन्टले अझै फूर्तिला देखिएका छन्। मध्ये पुसको जाडोमा काठमाडौंको बुद्धनगरस्थित भण्डारी निवासमा मुस्कुराउँदै छन् उनी। अनि हामीसँग गफिँदै पनि।

उनी अर्थात्, चन्द्र भण्डारी।

भर्खरै पिएचडीबाट दीक्षित भएका भण्डारीको परिचय चाहिँ नेपाली काँग्रेसका केन्द्रीय सदस्य।

'१२ वर्षमा पिएचडी सकाएँ,' पढाइमा परेको परिश्रम र पसिनाबारे सुनाए भण्डारीले। भण्डारीको पीएचडी विश्वव्यापीकरणले नेपाल निर्माणमा पारेको भूमिका विषयमा केन्द्रित छ। शीर्षक - नेपाल राष्ट्र र राज्य निर्माणमा विश्वव्यापीकरणको भूमिका।

२०६४ सालमा पिएचडीको फर्म भरेका रहेछन् भण्डारीले। पिएचडी अवधिमा उनी तीन पटक चुनाव लडे। पहिलो संविधानसभाको निर्वाचनमा प्रदीप ज्ञवालीसँग हार बेहोरे। दोस्रो संविधान सभाको निर्वाचनमा गुल्मी २ बाट ज्ञवालीलाई पराजित गर्दै चुनिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने भण्डारी उनै ज्ञवालीबाट फेरि पराजित भए।

नेपालमा बेलाबेला हुने राजनीतिक परिवर्तन र समृद्धिको यात्रा व्यक्ति केन्द्रित हुन थालेको उनको अध्ययनको ठम्याई छ।

'नेताहरु पैसा कमाउनतिर लागे। देशका लागि भन्दा पनि परिवार केन्द्रित राजनीतिमा लागे,' भण्डारी आफ्नै पीएचडीबारे प्रस्ट्याउँछन्, 'पूजीवादको होडबाजीमा लागेकाले नेता जनतासँग सन्तुष्ट छैनन्।'

उनको पिएचडीको निष्कर्ष छ : राज्य सञ्चालन गर्ने नेताहरूले सबैभन्दा बढी नेपाली संस्कृति भुलेर विदेशी संस्कृतिमा रमे। उनी भन्छन्, 'अध्ययनले नेपाल अस्थिपन्जर मात्रै बन्दै गएको देखाएको छ। आफ्नो संस्कार संस्कृति भुल्दै गएको देखाउँछ।'

यसरी शुरु भयो भण्डारीको पिएचडी यात्रा

निर्वाचनकै क्रममा मत माग्न गुल्मीको दुई बस्तीमा पुग्दा भण्डारीले फरक व्यवहार पाएँ।

पहिलो गाउँमा पुग्दा उनको नमस्कार कसैले वास्ता गरेनन्।

'नमस्कार है नमस्कार।'

'हात जोडेर बारम्बर नमस्कार गर्दा पनि अहँ कसैले वास्ता गरेनन्,' उक्त दिन यसरी सम्झिए भण्डारीले, 'केटाकेटी भागे। बुढापाका तर्किए। कुकुर पो भुक्न थाले। गाईबस्तु पनि स्वाँस्वाँ फ्वाँफ्वा गरी मैतिरै हेरे।'

त्यसपछि १५ मिनेटको अर्को गाँउमा पुगे उनी। 'यताको मान्छेको स्वभावै फरक। तुरुन्तै नमस्कार फर्काए। गफ गर्न नजिकिए। केटाकेटी ओइरिँदै घेर्न थाले,' सोही दिनको घटना सुनाए उनले, 'बुढापाकाले बेलीबिस्तार लगाए। सडक पनि राम्रो। ठूला ठूला घर। सबैको शरीरमा सफाचट् परेका कपडा।'

बोटे माझी बस्ती थियो जहाँ उनलाई देखेर मानिसहरु तर्सिएका थिए। 'त्यहाँका जनतालाई चुनावको अघिल्लो दिन नेताले रक्सी खुवाउने रहेछन्। अनि आफैँ भोट हाल्न लैजाने रहेछन्,' उनले भने, 'अर्को गाँउमा त आफैँ भोट हाल्न जानसक्ने। कति सचेत!'

१५ मिनेटको फरकमा यस्तो उल्का विभेद? भण्डारीलाई यही विभेदको दृश्यले हान्यो 'स्ट्राइक'।

'थुक्क देशलाई यस्तो अवस्थामा राखेर चन्द्र भण्डारी नेता भएको?,' नेता भण्डारीले आफैँलाई प्रश्न गरे। २०६४ सालको चुनावमा त्यो गुल्मीको दुईवटा गाउँको अवस्था देखेपछि तुरुन्तै पिएचडी शुरु गरेका रहेछन् उनले। र, १२ वर्षमा हातमा आयो- प्रमाणपत्र।

भण्डारी २०१८ मा गुल्मीको हुँगामा जन्मिए। एसएलसी गाउँकै जनजागृति माविबाट २०३३ सालमा सकाए - दोस्रो डिभिजनमा। भन्छन्, 'म टप विद्यार्थी होइन, राजनीतिमा नलागेको भए कि गाई भैसी चराइरहेको हुन्थेँ कि स्कुलको मास्टर।'

कम्युनिस्टको कुटाइपछि राजनीतिमा इन्ट्री, ठेडुकाको बास

गाउँलेमाथि कम्युनिस्टको कुटपिट सहन नसकेका भण्डारी परिस्थितिले राजनीतिमा हाम्फालेको बताउँछन्। 'गाउँमा धेरै थिचोमिचो थियो। कम्युनिस्टले समेत कुट्ने। राजाले संरक्षण गरेको उनीहरुलाई त। राजा त्यतिखेर काँग्रेसका बिरुद्धमा थिए,' उनको दाबी।

विद्यार्थी जीवन उनको राजनीतिको पाइला चाल्ने ठाउँ भयो। त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा प्रविणता प्रमाणपत्र तहको परीक्षा दिएर बसेका थिए चन्द्र। त्यहीबेला भयो - जनमत संग्रह। विद्यार्थी आन्दोलन चर्कियो। उनी प्रहरीको फन्दामा परे।

जेल जीवन साह्रै दर्दनाक!

जेलको अनुभव सुनाउन तनक्क तन्किए उनी। भने, '३६ दिन ठेडुकामा राखे, ठेडुका भनेको जेलमा लानुअघि कस्टडीमा राख्नेबेला खुट्टा राख्नलाई काठ खोपेर बनाइएको हुन्छ, जसमा हालेपछि बस्न मिल्दैन। दिसा पिसाब पनि जहाँ राखेको त्यहीँ। चर्कै गन्हाउने। त्यही गन्ध हटाउन १५ वर्षको कलिलो उमेरमा चुरोट तान्न सिकेँ। परिस्थितिको दास बन्छ नि मान्छे। मैले पनि नराम्रोबाट छुटकार पाउन नराम्रोकै सहारा लिएँ।'

पाल्पा, गुल्मी र सेन्टर जेल गरी साढे पाँच वर्ष कैदमा बिताएका उनले जेलमै पढे।'

राजनीतिमा झन्डै चार दशक बिताएका भण्डारी क्याडर बेसको राजनीति अन्त्य हुनुपर्ने बताउँछन्। त्यतिबेला परिस्थितिले राजनीतिमा रसिद काटेर लागेको भण्डारी भन्छन्, 'त्यसैले म भन्छु डिप्लोमा नपढी कसैलाइ पनि रसिद कटाउनु हुँदैन। दुनियाँमा कम्युनिस्ट हार्दैछन्। तर, हाम्रोमा जित्दैछन्। त्यसैले उनीहरु रसिद काटेर आउछन्। कडा अनुशासन हुन्छ। नेताका विरुद्धमा बोल्न दिँदैनन्।'

नजिकका साथी घनश्याम

पाल्पापछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका विद्यार्थी भए चन्द्र। बसाई त्रिविको होस्टेल।

भण्डारी युवा अवस्थाबाटै तिखा भाषण गर्थे। भाषणकै कारण उनी चर्चामा छाए। भन्छन्, '३/३ घण्टा भाषण गर्थेँ। नेतासँग बाक्लो भेटघाट। मान्छे काम छाडेर भाषण सुन्न आउँथे। मानसम्मान उस्तै।'

हालका कृषि मन्त्री घनश्याम भुसाल उनका मिल्ने साथी।

'मित्र घनश्याम भुषालको भाषण पनि धेरैले मन पराउँथे। त्रिभुवन बहुमुखी क्याम्पसमा पढ्दा भुषाल र भण्डारी बराबरी जस्तै। आन्दोलनमा कतिपटक पुलिसको डण्डा पनि सँगै खाए। 'स्ववियूको क्याम्पस सभापतिको चुनावमा दुवै जनाले बराबर मत पाएको उनले बताए। पिएचडीको फारम भर्दा पनि सँगै भरेका भण्डारी भुषाललाई यति मात्र फरक देख्छन् - पार्टी र बिचार।

२०४६ सालको परिवर्तनपछि देवेन्द्रराज पाण्डे अर्थमन्त्री भए। अर्थमन्त्री भएपछि सिधै होस्टेलमा आए। त्यतिखेर चन्द्र भण्डारी किताब पढिरहेका रहेछन्। पाण्डेले किताब खोसेर फालिदिए र भने, 'तपाईजस्तो इमान्दार मान्छेले पढनु पर्दैन, मन्त्रालयमा सल्लाहकार भइदिनु पर्यो ।' तर, भण्डारीले मानेनन्।

सिटी हलको त्यो भाषण, नेविसंघको हुन नसकेको अध्यक्ष

काँग्रेसमा अहिलेको जस्तै किचलो थियो, त्यतिबेला पनि। गणेशमान सिंह, किसुनजी र गिरिजाप्रसा कोइराला तीनतिर फर्केका हुन्थे।

२०५१ मा सिटी हल (हालको राष्ट्रिय सभा गृह)मा कार्यक्रम भयो। सिंह, किसुनजी र कोइराला उपस्थित थिए। त्यहाँ एउटा भाषण छेडे भण्डारीले। त्यही भाषणको आधारमा भोलिपल्ट पत्रपत्रिकाले सम्पादकीय बनाए। के थियो त्यो भाषण? जोशिए चन्द्र, 'त्यो बेला पार्टीमा पदका लागि खुब ठुलो किचलो थियो, नेताहरुका वरिपरिकाले लबिङ गरिरहेका थिए। मैले तीनै नेतालाई तपाईँहरुले व्यक्तिको लागि झगडा गर्नु हुँदैन भनेर मन्तव्य राखेँ। त्यही विषय सम्पादकीय बन्यो।'

भाषण गरेर उनी पाल्पा गए। पाल्पाबाट फर्किएपछि पार्टीको चर्को पेलाइमा परे। नेता वरिपरिका मान्छे कति बलिया हुन्छन भन्ने चाल बल्ल पाए उनले। २०५३ मा उनी नेविसंघको अध्यक्षको उम्मेद्वार बनेर चुनावी मैदानमा थिए। 'त्यही बेला मतदान गर्न दिइएन। मैले जित्छ भन्ने थाहा पाएपछि चुनावै क्यान्सिल भयो,' भण्डारीले भने। कृष्णप्रसाद भट्टराई पार्टीका सभापति थिए, त्यतिबेला।

२०७४ को चुनावमा पार्टीकै असहयोग

२०६४ को निर्वाचनमा ज्ञवालीसँग पराजित भण्डारीले २०७० सालमा बदला लिए। २०७४ को प्रतिनिधिसभा चुनाव भने ठीक उल्टो भयो नतिजा। ज्ञवालीसँगै चुनाव हारे। उनी दुई कारणले हारेको ठान्छन्। पहिलो ५ नम्बर प्रदेशलाई टुक्राउनु हुँदैन भनेर अभियान छेड्दा र अर्को निर्वाचन क्षेत्र विभाजन हुँदा।

'मैले दु:खले आफ्नो क्षेत्र निर्माण गरेको हो बरु म उठ्दिन निर्वाचन क्षेत्र विभाजन नगर्नुस् भने तर मान्नुभएन,' उनले भने।

गुल्मीमा पहिला तीन निर्वाचन क्षेत्र थियो। २०७४ मा दुई बनाइयो। पहिलाको क्षेत्र नम्बर दुई लाई दुईवटामा बाँडियो। पहिलेको एक र दुई निर्वाचन क्षेत्र मिलेर बनेको एक नम्बरमा थिए, काँग्रेस नेता भण्डारी। पार्टीकै रणनीति बमोजिम आफूलाई चुनाव हराइएको आरोप पनि लगाउँछन् उनी।

त्यसो त, समग्र राजनीति नै त्यस्तै रहेको उनको बुझाई छ।

'हाम्रोमा सहि नेता छान्दैनन्। त्यसैले जनता अरब जानु परेको छ,' उनी भन्छन्, 'दुई चार जना नेताका कारण देशले कति सहेको छ। पढेलेखेकाले नै देश बिगारे। नेता र पढेलेखेका मान्छे बेइमान भए।'

विकास पनि समय र ठाउँ अनुसारको नभएको उनको रिडिङ छ। 'त्यसैले पनि मैले यहाँको विकास यहीँको अनुसार हुनुपर्छ भनेर पिएचडी गरेको हुँ। अर्को पूर्वीय दर्शनविना त ज्ञान नै प्राप्त हुँदैन। ज्ञान पाउनु र पढ्नु फरकफरक विषय हो,' उनले भने। राज्य र समाज चलाउने मान्छेसँग ज्ञान हुनैपर्ने ठान्छन् नेता भण्डारी।

भण्डारी राजनीति र मानवता बढी रुचाउँछन्। यी विषय उनको पीएचडीको थेसिसमा पनि समेटिएको छ। राजनीतिले अभिभावकको भूमिका खेल्न नसकेको उनको गुनासो छ। 'यहाँ त चुनाव जित्ने बेला जनता चाहिने अरु बेला जनताको वास्ता नुहुने,' भण्डारीले भने, 'घर बनाउनतिर लागे राजनीति गर्नेहरु। मानवता खै? राजनीतिमा मानवता हुनु पर्दैन? हाम्रो ज्ञान त मानवता हो। संसारको अध्ययनका लागि हाम्रो भूमि काम लाग्न सक्थ्यो तर यसलाइ कुरुप बनाए। ग्लोबलाइइजेसनको प्रभावले धन सम्पति कमाउनमा लागे नेताहरु।'

काँग्रेसमै छैनन् गतिला नेता

वीपी कोइराला, सुवर्ण समसेशर, गणेशमान र किसुनजी उनका आदर्श ब्यक्ति। उनको विचारमा काँग्रेसमा हाल आदर्श नेता छैनन्। सुशील कोइराला प्रधानमन्त्रीको चुनावमा लड्दा सबैभन्दा बढी चित्त दुख्यो उनलाई। भन्छन्, 'चुनाव नलड्नुस् भन्दाभन्दै लड्नुभयो। उहाँले त आफ्नो नेतृत्वमा संविधान जारी गर्नुभएको हो नि! नत्र उहाँ मरेर गए पनि हाइट कहाँ हुन्थ्यो। अर्को कुरा गिरिजाबाबुले किसुनजीलाइ हराउने कुरा भयो नि त्यसले मलाइ एक दम पोल्यो। सधै राजनीतिमा इन्टरफेयर गर्नु हुँदैन। बिदा गर्नुपर्छ।' उनी काँग्रेसभित्र जहिले पनि व्यक्ति र स्वार्थ समूहका गुट रहेको मान्छन्। नेता भन्दा पनि नेताका वरिपरि रहेनहरु भयंकर पावरफुल लाग्छन् भण्डारीलाई।

'धर्म निरपेक्षता बनाउनु हुँदैन थियो। काँग्रेसले यसमा सहमति नै गर्नु हुँदैनथ्यो। यति धेरै प्रदेश बनाएकोमा पनि उनलाई चित्त बुझेको छैन। यसमा आफूलाई पनि भागिदार मान्छन् उनी। पद र पैसामा राजनीति चलेकाले पनि यस्तो भएको लाग्दोरहेछ उनलाई। नका विचारमा पार्टी गुट र उपगुटका आधारमा चल्यो। विज्ञभन्दा दासहरुको बोलवाला भयो। पार्टी सरकारमा हुँदा पनि उनी किनारमै बसे।

उनलाई पिएचडी गर्न उक्साउने त्यो बोटे माझी गाउँको हाल के छ त?

'त्यहाँ मेरा ६ सय बच्चा छन्। दशैंमा दुई दिन टीका लगाउँछु,' उनले भने। तिनै बालबालिकासँग हरेक दशैंमा टीका जमरा लगाउन पुग्छन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell