प्रतितोला ७६ हजार ५ सय पुगेपछि बुधवार सुनको मूल्यले नयाँ उचाईं छोयो। सुनको भाउ अझै बढ्दै जाने पनि विश्लेषण भइरहँदा बजारमा माग ७५ प्रतिशतसम्म घटेको छ।
यसैबेला दोस्रो एक्स्पो आयोजना भएको ६ वर्षपछि नेपाल रत्न तथा आभूषण संघले शुक्रबारदेखि काठमाडौंमा तेस्रो ज्वेलरी एक्स्पो आयोजना गर्दैछ।
आन्तरिक बजारमा सुनको माग घटिरहेका बेला ज्वेलरी एक्स्पोको माहोल बनाउन रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ दौडधुप गरिरहेकी छन्।
'यो यस्तो संक्रमणकालीन समय हो, जहाँ हाम्रो अर्थतन्त्र र सुनको बजारको स्थिति एकदमै नराम्रो छ। खासमा सजिलो भन्दा पनि यस्तै अप्ठेरो समयमा हामीले आफ्नो बजारलाई यो कठिनाइबाट बाहिर निकालेर देखाउनु पर्छ जस्तो लागेर नै यो एक्स्पो आयोजना गर्न लागेका छौं,' उनले भनिन्, 'आन्तरिक बजारबाट बाहिर निस्किएर अन्तर्राष्ट्रिय बजारमा हामी लक्षित हुनुपर्ने बेला आएकाले पनि यसपटकको ज्वेलरी एक्स्पो हाम्रा लागि चुनौती र अवसर दुवैले भरिएको छ।' त्यसैले एक्स्पोका लागि 'टेकिङ नेपाली ज्वेलरी ग्लोबल्ली' भन्ने नारा तय भएको उनले बताइन्।
ज्योत्सना मेरिगोल्ड ज्वेलर्सकी संचालक हुन्। मखन टोलबाट सुरू भएको उनको पारिवारिक सुन व्यवसाय अहिले न्यूरोडका साथै दरबारमार्गमा समेत विस्तार भएको छ।
२५ वर्षदेखि गहना व्यवसाय चलाउँदै आएकी ज्योत्सनालाई यसै व्यवसायले सफल महिला उद्यमीको परिचय त दिलायो नै, विस्तारै नेतृत्व तहको आत्मविश्वास समेत बढाउँदै लगेको जस्तो उनलाई लाग्छ। रत्न तथा आभूषण संघलाई लीड गरिरहेकी उनी उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य पनि हुन्।
ढुंगामा कसी लगाएर सुन जाँच्ने समयबाट अत्याधुनिक डिजाइनका गहना बनाउन सक्ने मेशिन र नयाँ प्रविधिसम्म आइपुगेको युगको साक्षी हुन् ज्योत्सना। उनले गहना व्यवसायमा हात हालेका बेला महिलाहरू सुनका परम्परागत गहनामै चित्त बुझाउँथे। रेडिमेड गहना भन्ने अवधारणा आएकै थिएन। परम्परागत ढुंग्री, मुन्द्री, माडवारी र तिलहरीजस्ता गहनाहरू मात्र चलनमा थिए।
त्यो पनि अर्डर गरेको कति समयपछि मात्र ग्राहकको हातमा पर्ने। आफूहरूले नै रेडिमेड गहनाको सुरूवात गरेको ज्योत्सनाले बताइन्। एक समय त यस्तो पनि आयो ज्योत्सना गहनाको डिजाइन हेर्नकै लागि भएपनि हिन्दी सिरियल हेर्न थालिन्। अचेल इन्टरनेटको जमाना छ, गुगलले सबै किसिमका ट्रेन्ड र डिजाइन देखाइदिन्छ। ग्राहकहरू पनि 'यस्तो गहना बनाइदिनुस्न्' भन्दै मोबाइलमा डिजाइन बोकेर शोरुम आउन थालेको देख्दा उनलाई रमाइलो लाग्छ।
सुन नेपाली समाज र संस्कृतिको अभिन्न अंग बनिसकेको ज्योत्सनाको बुझाई छ। जन्मेदेखि मृत्यु संस्कारसम्म सुनको प्रयोग परम्परा हो। 'मूल्य त घटबढ भइरहन्छ। सुनको प्रयोगमा बरु विविधता आउला, तर कमी भने कहिल्यै आउँदैन' भन्छिन् उनी।
हाल आन्तरिक बजार कठिनाइका साथ अघि बढेका बेला उनी बाहिरी बजारलाई ताक्नुपर्छ भनेर लागिपरेकी छन्। अमेरिका, अष्ट्रेलिया र बेलायत जस्ता देशमा नेपाली गरगहनाको माग निकै बढेको छ। विदेशमा भएका नेपाली समुदायले चाडबाडमा नेपाली संस्कृति झल्काउने लुगा र गरगहनालाई प्राथमिकता दिन थालेका छन्। नेपाली गरगहना उता धेरै बिक्छ।
तीज, दशैं र तिहारमा उता लगाउने लुगा र गहना प्रवासका नेपालीले जति प्रयोग गर्छन्, त्यति स्वदेशमा बस्नेले पनि गर्न नसकेको उनले बताइन्। कम तौलका डिजाइनर गहनाका साथै परम्परागत २४ क्यारेटका सुनका गहना विदेशमा बस्ने नेपाली समुदायले बढी रुचाएको पाइन्छ। पत्थर तथा रत्नजडित गहनाहरूको पनि विदेशमा माग उच्च छ।
त्यसैले ज्योत्सना अब निर्यातमुखी हुनुपर्ने समय आएको बताउँछिन्। 'अहिलेसम्म हामी सुन आयात भएको मात्र देखिरहेका छौं। निकासी गर्दा त्यसबाट भैरहेको डलर डेफिसिटलाई पूरा गर्न सकिन्छ,' उनी भन्छिन्, 'त्यसैले पनि सुन बजारलाई निर्यातमुखी बनाउन बढी फोकस्ड भएका हौं।'
सुनका गहना निर्यात गर्दा लाग्ने १० देखि १२ प्रतिशतसम्मको करका कारण नेपाली गहना विदेश पठाउँदा महंगो पर्छ । त्यसैले विदेशी बजारमा प्रतिस्पर्धा गर्नका लागि सरकारले 'ड्युटी ड्र ब्याक' दिनुपर्ने सुन व्यवसायीले माग गर्दै आएका छन्। अहिलेसम्म हस्तकलाअन्तर्गत नै निर्यात भइरहेको सुन अब छुट्टै 'एचएस कोड' बाट निर्यात हुने भएकाले पनि सरकारी तहबाटै सुनको निर्यातलाई महत्व दिइएको जस्तो उनले महसुस गरेकी छन्। सरकारसँगको सहकार्यमा यसलाई निर्यातमुखी बनाउन प्रयास गरिरहेको ज्योत्सनाको भनाई छ।
उनलाई लाग्छ, सुनले नेपालजस्तो देशका महिलालाई सुरक्षाको काम गर्छ। सुन छ भने आवश्यक पर्दा बेचेर गर्जो टार्न पनि सक्छन् । महिलाहरूले सुनलाई आर्थिक रूपमा बलियो महसुस गर्न दिन्छ भन्छिन् उनी। त्यसैले पनि महंगो दरमा चलिरहेको सुन बजारमा पनि स-साना र हलुका डिजाइनका गहनाहरू जोड्ने महिलाहरू आइरहेको उनले अनुभव गरेकी छन्।
ज्योत्सना महिलाहरू किन सुनका बारेमा बढी गफ गर्छन् भनेर नकारात्मक रूपमा लिनुभन्दा पनि उनी त्यसबाट के सिक्न सकिन्छ भन्ने सोच्छिन्। पहिले पहिले उनलाई भोज गएर फर्केका महिलाहरूले अरू महिलाले गर्ने गहना र लुगाफाटाका कुराकानी सुन्दा पहिले त किन अरूका कुरा गरेको होला भन्ने लाग्थ्यो रे। 'तर यसले त गहनाको ट्रेन्ड कता जाँदैछ भन्ने सिकाउँदो पो रहेछ !,' उनले उत्साहित हुँदै भनिन्, 'मलाई त यस्तै गफगाफले पनि धेरै नै 'अब्जरवेन्ट' बनाएजस्तो अनुभव भयो।' यस्ता कुराकानी सुन्दा त्यसबाट सिक्न र सुन बिजनेसलाई कसरी अघि बढाउने भन्ने ट्रेन्ड बुझ्न पनि सजिलो भएको ज्योत्सनाको भनाई छ।
मेरो क्षमताको मोल कति ?
दार्जिलिङको लरेटो कन्भेन्टबाट स्कुलिङ सकेर सेन्ट जोसेफ कलेज ज्वाइन गरिन् उनले। डाक्टर बन्ने चाहनाले साइन्स पनि पढिन्। तर समयले उनलाई तत्कालीन आरएनएसीको एयरहोस्टेस बनाइदियो। सन् १९८५ मा सुरेशमान श्रेष्ठसँगको बिहेपछि भने उनी पारिवारिक सुन व्यवसायमा पसिन् र सफल उद्यमीको परिचय पनि बनाइन् । हाल उनी व्यवसायमा पनि नेतृत्व तहमा छिन्।
कुनै पनि मानिस सफल हुनुमा उनको पारिवारिक संस्कार र परिवारको साथ नै महत्वपूर्ण हुन्छ भन्ने उनलाई लाग्छ।
सानोमा जब उनी हजुरआमालाई ढोग गर्थिन् । हजुरआमाले आशिर्वाद दिँदै भन्ने गर्थिन् रे 'मेरी नातिनीलाई एकदम सहने शक्ति देउ परमेश्वर!' त्यसबेला हजुरआमाले के भनेको होला जस्तो उनलाई लाग्थ्यो। तर आज उनले बुझेकी छिन्- मानिसलाई सहनशीलताले नै सफल बनाउने रहेछ।
उमेर बढ्दै गएपछि उनले हजुरआमाको आशिर्वादलाई सिकाइका रूपमा ग्रहण गरिन्। उनी भन्छिन् -'अचेल म धेरै सुन्छु, तुरुन्त रियाक्ट गर्दिन, रिस उठेपनि म सहेर, कुरा बुझेर मात्र प्रतिक्रिया जनाउँछु।'
ज्योत्सना सकारात्मक सोचमा विश्वास गर्छिन्। सुन्दर त छँदैछिन् आत्मविश्वासले भरिएकी पनि छिन्। उनको अनुहारबाट उमेरको छनक पाउन सकिँदैन। आफू दयालु र नरम स्वभावको भएको भन्दै यो उनले यो गुण आफ्नी आमा र हजुरआमाबाट विरासतमा पाएको बताइन्।
विवाहपछिका दुई वर्ष उनले घरभित्र पूर्ण गृहिणी बनेर बिताउनुपर्यो। थापाथलीस्थित उनको घरको पर्खाल यति अग्लो थियो कि उनले बाहिरी दुनियाँ देख्न कसैको भोज वा केही अवसर नै आउनुपर्थ्यो। त्यसबेलाको समाज महिलाप्रति अहिलेजस्तो उदार पनि थिएन। महिलाले घर बाहिरको काम गर्ने चलन नै थिएन। एयरहोस्टेस भएर आकाशमा उडेकी ज्योत्सनालाई घरेलु बुहारीको बिशुद्ध गृहिणी भूमिका मन परिरहेको थिएन।
भारत र अमेरिका पढेका विद्वान ससुरा गोपालमान श्रेष्ठले भने उनलाई घरभित्रै सुन जाँच्ने र हिसाबकिताब राख्ने सीप सिकाउन थालिसकेका थिए। नेपालमा 'फाउण्डर अफ कमर्स' मानिएका गोपालमानको सालिक समेत युथ क्याम्पस प्रांगणमा छ। आफ्ना ससुराको विद्वतामा असाध्यै गर्व गर्ने ज्योत्सना सासु-सुसराकै साथ सहयोगले घर बाहिर निस्कन सकेको बताउँछिन्। दुई वर्ष घरमा भातभान्सा गरेर बसेपछि उनलाई उकुसमुकुस बढ्न थालिसकेको थियो। ससुराले सिकाएको सीपले उनी भित्रभित्रै व्यवसायप्रति रुचि पनि जाग्दै थियो।
घरधन्दा सकेपछि उनी एकदिन ससुरासामु गएर भनिन् - 'बा मैले गर्ने काम त आठ सय तिर्यो भने एउटा मान्छेलाई घरमा राखेर गराउन सकिन्छ। के मेरो शिक्षा र क्षमताको मोल यति मात्र हो ?'
यो सुनेर गोपालमान गम्भीर बनेछन्। 'श्रीमानसँग मिलेर घरब्यवहार नबिगारी काम गर'- उनले फ्याट्ट भनिदिएँ।
अनि मात्र सुरु भयो ज्योत्सनाको व्यवसायी बन्ने समय ।
ससुराले काम गर्न स्वीकृति दिएको भोलिपल्टै उनी माइती पुगिन् र आफ्नै काम थाल्ने सुनाइन्। सहनशीलताको पाठ सिकाउने उनै हजुरआमाले ५० हजारको बिटो थमाएर भनिन् काम थाल। ५० हजार थपेर अर्की साथी पनि मिसिइन्। पहिलोपटक एक लाखको संयुक्त लगानीमा उनले आफ्नै काम थालिन् -कोजो किड्स कर्नर । जहाँ बच्चाहरूको रेडिमेड लुगा पाइथ्यो। दुई वर्ष यो व्यवसायमा लागेपछि भने उनी आफ्नै सुन पसलसँग जोडिइन्। मखनको सुन पसलबाट थालिएको उनको व्यावसायिक यात्रा हाल न्यूरोड र दरबारमार्गमा समेत फैलिएको छ।
बिहेको १४ वर्षपछि मात्र ज्योत्सनाको बच्चा भयो। लामो समय बच्चा नहुनुको पीडा एकातिर पन्छाएर उनले यही समयमा बिजनेसमा आफूलाई सेटल गरेको बताउँछिन्। त्यही बीच उनी ब्यापारमा पूर्ण रूपमा लक्षित भइन्। बच्चा जन्मिसकेपछि पनि उनी बच्चा लिएरै पसल पुग्थिन् र काम गर्थिन्। हाल २० वर्षका छोरा मलेसियामा इन्टरनेशनल बिजनेसमा ग्रयाजुएसन गरिरहेका छन्।
सुन व्यवसाय बाहेक हाल उनी होटल व्यवसायलाई पनि अघि बढाइरहेकी छन्। झापामा खुल्न लागेको पाँचतारे होटेल 'मेची प्यालेस' की एक साझेदार उनले यो होटलले पूर्वी भेगको पर्यटकीय विकासमा ठूलो अवसर सिर्जना गर्ने बताइन्। होटेल आगामी ६ महिनाभित्र संचालनमा आइसक्ने उनले जानकारी दिइन्। उनका अनुसार एक सय ९ कोठा रहेको होटलको हाल ९० प्रतिशत काम सकिएको छ।
विस्तारै राजनीतितिर
नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुन लागेको चुनावको सरगर्मीले ज्योत्सनालाई नछुने कुरै भएन। केन्द्रीय सदस्य भएको नाताले उनी अझै बढी चुनावी माहोलमा भिजेकी छन्।
ज्योत्सना राजनीति भन्दा पनि कामलाई प्राथमिकता दिएर आजको अवस्थामा आइपुगेको दाबी गर्छिन्। उनले भनिन् - 'मलाई कुनै पनि गुट वा पार्टी भन्दा माथि उठेर राजनीति गर्न मन छ। सँधै राजनीतिलाई भन्दा पनि काम र परिश्रमबाट अघि बढ्नुपर्छ भन्ने मैले मान्यता राखेको छु।'
राजनीतिमा महिलालाई पुरुषभन्दा धेरै कठिनाई हुने उनले देखेकी छन्। त्यसैले उनी अघि बढ्दा आफूले गरेको कामबाट आत्मविश्वास झल्कियोस् भन्नेमा पूरा सचेत छिन्।
'म कडा परिश्रम गरेरै यहाँ आइपुगेकी हुँ। माथि जाने सबैलाई सोख नै हुन्छ, तर कुनै पनि कुरामा हामफाल्ने वा झम्टिने गर्नु पनि हुँदैन,' उनले बिस्तारै कुरा खोलिन्, 'एसोसिएट तर्फबाट जाँदा धेरै कुरा मिलाउनु पर्छ। चुनाव नै नहोस्, सबै मिलेर जान सकौं भन्ने तर्फ पनि लागिरहेका छौं। सकारात्मक माहौल बनिरहेको छ। हेरौं, अब के हुन्छ।' यसो भन्दै गर्दा थाकेको उनको अनुहारमा खुसीको लहर दौडिएको देखिन्थ्यो।