PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शीर्षमा टिक्ने होडमा आज मनाङ, मछिन्द्र र जाउलाखेल, मछिन्द्रका कप्तान भन्छन् : एन्फाको कारबाहीले अन्याय भयो



मुकुन्द घिमिरे

शीर्षमा टिक्ने होडमा आज मनाङ, मछिन्द्र र जाउलाखेल, मछिन्द्रका कप्तान भन्छन् : एन्फाको कारबाहीले अन्याय भयो

शहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई 'महत्वपूर्ण'खेल हुँदैछन्। छैटौ चरणको पहिलो दिनको आजको खेल यो अर्थमा 'महत्वपूर्ण' छ कि आज २ खेलमा ३ टिम शीर्षताको होडमा छन्।

आज खेल्ने मनाङ मर्स्याङदी क्लब, मछिन्द्र क्लब र जाउलाखेल युथक्लब शीर्षताका लागि खेल्ने छन्।

आज १२ बजे हुने पहिलो खेलमा मछिन्द्र क्लब र जाउलाखेल युथ क्लब खेल्ने छन्। अहिले मछिन्द्र क्लब १० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने जाउलाखेल ९ अंक सहित तालिकाको पाँचौं स्थानमा छ। दुवै टिम जारी लिगमा अपराजित छन्।

मछिन्द्रले ५ खेलमा ३ जित र २ बराबरी सहित १० अंक बनाएको छ। अघिल्लो सिजन पुछारको २ टोलीमा परेकाले मछिन्द्रले १ अंक गुमाएर १० अंक तालिकामा छ। यता जाउलाखेलले ५ खेलमा २ जित र ३ बराबरी खेल्दै ९ अंक जोडेको छ।

आजको खेलमा जित निकालेको खण्डमा मछिन्द्र क्लब १३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लने छ। अहिले शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १२ अंक छ। जाउलाखेलले जितेको खण्डमा शीर्षस्थानमा रहेको आर्मीको समान १२ अंक हुनेछ। तर, दुवै टिम शीर्षस्थानमा रहिरहनका लागि भने दोस्रो खेलको नतिजाको प्रतिक्षा गर्नुपर्ने छ।

***

आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्ने छ। दिउँसो ३ बजे हुने खेलमा मनाङले जित निकालेको खण्डमा सहजै शीर्षस्थानमा पुग्नेछ। मनाङको ११ अंक छ। आजको जित निकालेपछि उसलाई आर्मीको बाहेक अरु टिमको जितहारले छैटौं चरणको शीर्षस्थानमा रहन फरक पर्ने छैन।

हिमालयन शेर्पा क्लबको भने यो सिजन नतिजा खासै राम्रो छैन। ५ खेल खेलेको शेर्पाले २ हार र ३ बराबरी खेल्दै तालिकाको १२ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सकेको खण्डमा रेलिगेसनको डरबाट उसलाई केही हदसम्म राहत मिल्ने छ।

आजको खेलमा जाउलाखेल र हिमायन शेर्पा क्लबलाई केही राहत भने हुनेछ। कारण मनाङ र मछिन्द्रका केही पहिलो रोजाइका खेलाडी प्रतिबन्धमा छन्।

मनाङका जगजित श्रेष्ठ, अशोक बराल र रन्जन विष्ट आजको खेलमा हुनेछैनन् भने मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल टिममा रहने छैनन्। यी खेलाडीलाई पाँचौ चरणमा खेल सकिएपछि गरेको झगडाका कारण एन्फाको अनुशासन कमिटीले निलम्बनमा राखेको छ।

दोस्रो खेल दिउँसो ३ बजे शुरु हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ।

 

पढ्नुहोस: कुन खेलाडीलाई कति प्रतिबन्ध?

 

मनाङ मर्स्याङदी क्लबका कप्तान कमल श्रेष्ठ पहिलो रोजाइका खेलाडी प्रतिवन्धमा पर्दा खेलमा नकारात्मक प्रभाव पर्ने स्वीकार्छन्। अब विकल्पमा बेन्चका खेलाडीहरु उतार्ने योजनामा रहेको उनले सुनाए।

'सेटको खेलाडीहरु पनि हिजोअस्तिको एक्सिडेन्टका कारण खेल्न नपाउने हुनाले बाहिरै हुनेछन्। पहिलाको जस्तो टिम सेट भइनसकेको अवस्थामा यसको प्रभाव त पर्छ नै।' उनले पहिलोपोष्टसँग कुरा गर्दै भने, 'जति खेलाडी थिए तिनैलाई कोचले म्यानेज गरेर टिम बनाइएको थियो। त्यसमा पनि केही खेलाडी नहुँदा कठिन त पक्कै हुन्छ।'

श्रेष्ठले यो लिगमा कुनै टिमलाई कमजोर आँक्ने अवस्था नभएकाले स्पष्ट ३ अंकका लागि रणनीति बनाएरै खेल्ने बताए।

यता मछिन्द्र क्लबका कप्तान विराज महर्जन एन्फाको अनुशासन कमिटीको कारबाहीबाट असन्तुष्ट देखिए।

'आजको खेल हाम्रालागि धेरै महत्वपूर्ण छ। त्यसमाथि एन्फाको अनुशासन कमिटीबाट हामीमाथि जुन कारबाही भएको छ त्यसले चाहीँ अन्याय नै भएको जस्तो लागेको छ।' असन्तुष्टी जताउँदै महर्जनले थपे, 'जो मान्छेले हातपात गरेको छ, उसलाई पो कारबाही गर्नुपर्छ त। झगडाको बेला त जो पनि एग्रेसिभ हुन्छ तर हाम्रो साथीहरु त कसैले पनि हात लगाएको थिएन नि?' महर्जनले प्रश्न तेर्साए।

पहिलोपोष्टसँग कुरा गर्दै महर्जनले भने,'हातै नलगाएको खेलाडीलाई १०/१० हजार जरिवाना, क्लबलाई जरिवाना त्यसमाथि खेल्नै नमिल्ने गरिको निलम्वनले त गर्न भएन नि। त्यो हिसावले यत्रो लगानी गरेको क्लबलाई त धेरै घाटा भयो नि। भोलिको खेल हामीलाई एकदमै महत्वपूर्ण थियो। नजिति नहुने थियो। अब हाम्रो २ जना महत्वपूर्ण खेलाडीहरु नहुने बित्तिकै त क्लबले त्यत्रो लगानी गरेको छ। त्यसमा पनि असर गर्छ नि।'

आजको म्याच जित्नै पर्ने अवस्थामा आफूहरु रहेकाले त्यस्तो अवस्थामा मुख्य दुई खेलाडी नहुनु भनेको अति नै कठिन अवस्था हुने महर्जनको भनाइ छ।

'आजको म्याच जित्नै पर्ने दवाब छ। एन्फाको निर्णयले एकदमै मार परेको छ।' उनले आज उत्रने खेलाडीहरुको बारे कुरा गर्दै थपे, 'रिप्लेस गर्ने खेलाडीहरु त छन् तर मुख्य रोजाइका दुई जना नहुनु भनेको ठूलो कुरा हो। एक जना नहुँदा त कत्रो मार पर्छ। बेन्चका खेलाडी त छन् तर पनि सेट भइसकेको टिमबाट दुई खेलाडी नहुँदा ठूलो असर चाहीँ पर्छ।'

***

पाँचौ चरण सकिँदा बनेको 'टाइट' समीकरण

शहीदस्मारक ए डिभिजन लिगको पाँचौं चरण सकिएर आजबाट छैटौं चरण शुरु हुँदैछ। पाँचौं चरणसकिँदा त्रिभुवन आर्मी क्लब तालिकाको शीर्षस्थानमा छ। तर, समीकरण यस्तो छ की अनुकुलता मिलेको खण्डमा अंकतालिकामा शीर्षदेखि पाँचौं स्थानमा रहेको टिमसम्म जो पनि छैठौँचरण सकिँदासम्म अंकतालिकाको शीर्षस्थानमा पुग्न सक्छन्।

पाँचौ चरणमा मनाङ र मछिन्द्रले अंकबाँडेसँगै शीर्ष टिमहरुको अंकदुरी घटेको छ। शीर्षस्थानको आर्मी त्रिभुवन आर्मी क्लबले १२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मनाङको ११ अंक, तेस्रो स्थानमा रहेको मछिन्द्र र चौथो स्थानमा रहेको थ्री स्टारको १० अंक तथा पाँचौं स्थानमा रहेको जाउलाखेलको ९ अंक छ। अर्थात ३ अंक भित्रै ५ शीर्ष टोली अटाएका छन्।

यस्तो छ तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell