PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हिउँले छपक्कै थुम्कै थुम्काको सैलुङ : अहँ! एकपटक पुगेर हुन्न रहेछ [नियात्रा]

हिउँले छपक्कै थुम्कै थुम्काको सैलुङ : अहँ! एकपटक पुगेर हुन्न रहेछ [नियात्रा]

ऋषिकेश दाहाल/पहिलोपोस्ट


बुट्यानमा ढपक्कै सेतै हिउँ थुप्रिएर गुराँसकै आकार लियो भने त्यसलाई के नाम दिउँ? अलमलिएको छु। सेतो गुराँस भनुँ? नाई, त्यो हुनै सक्दैन। लाङटाङ घुम्दा सेतै गुराँस देखेको छु, तर यति निख्खर चाहिँ होइन। गुराँसघारी भेट्न सडकमा चिप्लिँदै चिप्लिँदै अगाडितिर बढिरहेको छ गाडी। सडक सेतोपत्रे छ, त्यसमुनि रातो माटो। रोमाञ्चित हुँदै यात्रा गरिरहँदा डर उत्तिकै छ - कसरी पुगिएला माथि?

उकालो पार गरेपछि समथर ठाउँ आइपुग्यो। यो समथर भाग पूरै हिउँले ढाकिएको छ। गाडीबाट भुइँमा यसो के टेकेथेँ - करक्क गर्‍यो। अलिअलि आकाशबाट 'भेडाको उनजस्तो' भने झै बुरबुर झरिरहेको छ तर पातलो। हिउँ कुल्चिँदा निस्केको आवाजले आफैँलाई तरङ्गित बनाइरहेको छ - मैले दिएको पीडाको अभिव्यक्ति त होइन, हिउँको? जहाँ टेक्यो त्यही आवाज, जहाँ टेक्यो त्यही। म अलिक भावुक भएँ कि? हिउँले खेल्न आउँदा हिउँलाई दुख्यो कि भन्ने ठान्नु कतै पागलपन त होइन? अलमलिएँ म।

सामुन्ने देखियो एउटा प्रवेश द्वार। यो सैलुङ डाँडातिर उकालिने पैदलमार्ग हो, दोलखातिरबाट। बाटो देखाउन सैलुङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुवकुमार श्रेष्ठ सँगै छन्। उनले प्रवेशद्वार हुँदै माथितिर जान संकेत गरेपछि अलमलिने त कुरै रहेन। प्रवेशद्वारसँगै सिढींहरु बनाइएका रहेछन् यात्रुलाई सजिलो पार्न। ट्रेकिङ होस् या हाइकिङ मन नपर्ने भनेको चाहिँ यस्तै सिढींहरु नै हुन्। सकस लाग्छ हिँड्न। तर, यसपाला रमाइलो अनुभूति भइरहेको छ। हरेक सिढीलाई ढपक्कै ढाकेको छ हिउँले। गोरेटो भरी पनि हिउँ नै बिछिएको छ।

थोरै नै सही, हावाले रुख हल्लाउँदा बुरुरुरु हिउँ झरिहाल्ने! दुई दिन अघिदेखि धुम्मिएको आकाशले हिउँ बर्साउँदा किसानहरु मख्य। कमलो हिउँका थुप्रा देख्दा मन रोमाञ्चित हुनु स्वभाविक थियो। दुई दशकअघि सगरमाथा क्षेत्रमा जमेको हिउँ खेल्दा होस् या एक दशक अघि गोसाइकुण्ड पुग्दा भेटिएका हिउँका ढिक्का फुटाउँदाका अनुभूति सायद बिर्सिसकेछु। त्यही भएर होला, यहाँ अलि बढी नै रोमाञ्चित भइरहेको छु।

हिउँ परेर बाहिर निस्किन नसक्ने ठाउँका मानिसलाई हिमपात विरहलाग्दो पनि होला। केही दिन यही बिताउनुपर्ने भए मेरा लागि पनि के पो हुन्थ्यो? हिउँ खेल्ने रहरले यहाँ पुगेको मलाई विरक्तिनु पर्ने कारण थिएन।

हिउँ फूलको बगैचा झै छ, यो गोरेटो। बाटो देखाउने संकेतहरु राखिएका छन् ठाउँठाउँमा। यसका लागि सैलुङ गाउँपालिकालाई धन्यवाद। क्यामरा नबोकेकोमा चाहिँ थकथकी लागिरहेको छ। मोबाइलबाट दृष्य उतार्नुको विकल्प छैन। त्यसभन्दा पनि धेरै त आफ्नै आँखाले 'क्याप्चर' गरिरहेको छ जुन स्मृतिको 'मेमोरी'बाट कहिल्यै 'डिलिट' हुनेछैन।

सोझो बाटो दोबाटोमा पुग्यो। सैलुङ डाफेढुंगातिर जाने कि महादेवस्थान धर्मद्वारतिर? सैलुङतिरै हामी सोझियौं। अलिकति अगाडि बढेपछि भने हिउँले पुरिएका सिढीलाई छाडेर ठाडै उकालोतिर जान मन लाग्यो। यहाँ रोकतोक के नै थियो र? गजब त के भने हामी जुन बाटो समातेर माथितिर उचालियौं - त्यो एउटा थुम्को नै रहेछ। थुम्कोको टुप्पोमा विशाल त्रिशुल। थुम्कोको फेदैमा एउटा शिवालय पनि।

'त्यहाँ (शिवालय)बाट यहाँसम्म सास नफेरी आउन सक्ने धर्मात्मा हो भनिन्छ,' ध्रुवकुमारले फेदीमा रहेको मन्दिरतिर औल्याउँदै सुनाए। कम्तिमा पनि हामी २ हजार ७ सय मिटरभन्दा माथि छौं, यतिखेर। तल झरेर सास नफेरी माथि उक्लिने हिम्मत चाहिँ जुटेन।

यहाँ आइपुग्दा आकाश यसरी खुलेको थियो कि सैलुङको शिर सजिलै देखियो। अनि देखियो थुम्कै थुम्काहरु- सबै सेताम्मे ढाकिएका। हिमालका चुचुरा झै थुम्काहरु देखेपछि सैलुङको अर्थ बुझ्न मन लाग्यो।

सैलुङ नाम कसरी रह्यो?

श्रेष्ठसँग जवाफ नहुने कुरै थिएन। उनले सुनाए - सय भन्दा धेरै थुम्काहरु छन्। त्यही भएर सैलुङ भनिएको। ऋषिहरुले तपस्या गरेको ठाउँमा थुम्का उत्पन्न भएको जनश्रुती उनले सुनाउँदा रमाइलो नलाग्ने कुरै थिएन।

यतिमात्र होइन, किम्बदन्ती अर्को पनि रहेछ। प्रथम बुद्धगुरु पद्मसम्भव स्वर्गबाट झरेर यहाँ रहेकाले सैलुङ नाम रह्यो पनि भनिँदो रहेछ। पाचौं बुद्धले पनि यहाँ तपस्या गरेका थिए भन्ने विश्वास रहेछ। गौतम बुद्धले पनि यहाँ तपस्या बसेर हलेसी हुँदै गया गएको कथा हाले उनले।

यीसँगै अरु कथाहरु पनि रहेछन् सैलुङसँग। भृकुटी यही बाटो हुँदै तिब्बत गएको कथा पनि रहेछ। भीमसेनको पत्नीलाई भगाएर लैजाने जारलाई काटेको कथा पनि हाले उनले। बुद्धका पाइला, भीमसेनले सुङ्गुर काटेपछि फालेको तरबार, अनि भीमसेनले जार काटेको कथालाई यो भूगोलका ढुङ्गाका आकृतिसँगै जोड्दै कथाहरु बनेका रहेछन्।

पहिलो थुम्कोबाट तेर्सिँदै झरेपछि फेरि उही सिढीं र गोरेटो भेटियो। यस्तै सजिलो ट्र्याक समात्नुको विकल्प थिएन। हिउँ खेल्नुको मजालाई चिप्लिएर लड्दाको बेमजाले जित्ला भन्ने भय जो थियो।

श्रेष्ठले भने झै बाटोमा भेटिए - ढुङ्गाका प्रतीमा भीमसेनले जार काटेको ठाउँ। सुङ्गुर काटेपछि बिटुलो भएको तरबार फ्यालिएको ढुङ्गा हिउँले पुरिएको रहेछ। पन्छाएर हेर्दा तरबार झै लाग्ने आकार देखियो। कथासँगै आकृति खोज्दा बादलमा आकार देखिन्छ। तर, ढुङ्गाढुङ्गामा त्यसैगरी खोजिरहेको छु।

अब भने थुम्कैथुम्कको बीचमा पुगियो। बाटामा फाट्टफुट्ट हिउँ खेलेर फर्किनेहरु भेटिए। धेरैजसो रैथाने थिए ती। हिलो बाटोमा मोटरसाइकल अलपत्रै छाडेर आउनेहरु पनि थिए तर नगन्य।

यतिखेर सुमुन्द्री सतहबाट २ हजार ९ सय मिटर माथि छौं। जता हेर्‍यो उतै हिउँमात्रै। छिनमै घमाइलो त छिनमै ढपक्कै हुस्सु। हिमाल आरोहण नै भइरहेको जस्तो लाग्ने दृष्यहरु। थुम्कापछि थुम्का, थुम्कापछि थुम्का। उकालिँदै गर्दा पानीको प्यास लाग्ने नै भयो। प्यास मेटाउने विकल्प हिउँमात्रै।

गुराँसको बुटामै फूलेको हिउँ मुखमा हाल्दा बिलाइहाल्यो। बालापनमा झै रमाउँदै - फुसफुसे हिउँ मुखमा हाल्दैछु। टुप्पोमा त सिढीं कता हो, नापनक्सा केही छैन। बाँस गाडेर टाँगिएका लुङ्दरमा पनि हिउँ अड्किएका छन्।

टुप्पो नजिकैको थुम्कोमा बुद्धको पाइला रहेछ - ढुङ्गामा। नाग देवतालाई चढाउन नमिल्ने कुराको सूचना पनि। प्रकृति र संस्कृतिको बेजोड कथा रहेछ हिउँको बगैचामा। सैलुङको टुप्पोमा मानिसहरु नाचगानमा व्यस्त छन्।

माथिबाट त अझ धेरै थुम्का देखिए जसमा मानिसका पाइला अझै पुगेका थिएनन्। यस सिजनको सायद भर्जिन स्नो ल्यान्ड हुन् ती। त्यहाँ पुगेर फर्किउँ जस्तो नलागेको होइन। तर हुस्सु एक्कासी यसरी आयो कि १० मिटर दुरीमा पनि के छ पत्तै नहुने! अलिअलि हिउँ झर्न थालेपछि रमाइरहेको मनभित्र डरले डेरा जमायो।

यहाँ न बास छ, न गाँस नै। तलतिर झर्नु नै उत्तम! तल्लो थुम्कामा झर्दा फेरि बादल सरक्क हट्यो अनि चमक्क चम्कियो सैलुङ।

यति राम्रो सैलुङको टुप्पोमा पुग्दा विरक्त लाग्ने संरचना देख्दा भने मन दुख्यो। सैलुङ आफैमा एउटा उचाइको लेक हो - समुन्द्री सतहबाट ३ हजार १ सय ४६ मिटर। अब त्यसमाथि पनि भ्यू टावर? सैलुङको सुन्दरतालाई गिज्याउन ठडिए झै लाग्यो कंक्रिटको संरचना।

सैलुङको प्रवर्द्धन गर्नै गाउँपालिका लागेको सुन्दा खुशी लाग्यो। यहाँ साइक्लिङ गर्नेका लागि बाटो तयार पारिँदै रहेछ। दुई वर्षभित्र दोलखाको मुडेबाट पुग्ने सडक कालोपत्रे हुने लक्ष्य राखिएको रहेछ। घुम्नाका लागि यहाँ अथाह ठाउँ - सांस्कृतिक कथाहरु पनि। ती सबैलाई जोडेर पर्यटक भित्र्याउन कठिन छँदैछैन।

हिउँ खेल्दा अलिकति पनि चिसो थिएन तर तलतिर झर्दा सिरेटो हानेको अनुभूति हुन थाल्यो। हिउँ कुल्चिँदाका आवाजहरु उत्तिकै छ। चिप्लिने डर पनि। बाटो विराइला भन्ने पनि। तैविसेक, गाउँपालिकाले ठाउँठाउँमा बाटोको संकेत राखिदिएकाले असहज छैन।

हामीजस्तै हतारिँदैछन् अरुहरु पनि। हुलकाहुल बाँधेर आएकाहरु वल्लो र पल्लो थुम्काहरुबाट चिप्लेटी खेलिरहेका छन्। हिउँले छपक्कै छोप्दाका दृष्यलाई मनभरी कैद गरेर ओरालो लागिरहेको छु।

मन भरी प्रश्नै प्रश्न छ - हिउँ परेर ढपक्कै ढाकिँदा यति राम्रो सैलुङले आफ्नो शरीरबाट सेतो च्यादर छाड्दा कस्तो देखिएला? असारमा हरेक थुम्काभरी फूल फूल्छन् रे! त्यतिखेर सैलुङको सुन्दरता कस्तो होला? चैत वैसाखमा गुराँसले ढपक्कै ढाकिने वन पार गरेर जाँदा सैलिङ कति सजिएला?

पहिलो पटक सैलुङमा हिउँ खेलेर फर्किँदै गर्दा महसुस गरेँ - एक पटकले पूरा हुन नसक्ने यात्रा रहेछ यो। गुराँस ढपक्कै हुँदा अनि हरेक थुम्काहरुमा भूइँफूल हल्लिँदै गर्दा पुग्नै पर्छ यहाँ। प्रतीक्षामा छु ती हरेक सिजनहरुको जसमा सैलुङले आफ्नो काया फेर्नेछ। देख्न नसकेका दृष्यहरु कल्पिँदै काठमाडौं छिर्दैछु। अर्को सिजन मेरो प्रतीक्षामा छ, त्यतिखेरको सैलुङको रुप यसैगरी सेयर गर्नेछु।

हिउँसँग रमाउँदै युवा।
सैलुङको शिरमा बनेको भ्यू टावर।
टुप्पामा हिउँ खेल्न पुगेकाहरु
बौद्धमार्गीले टाँगेको लुङ्दर
हिउँमा नरमाउने को होला?
माथितिर लाग्दै।
गुराँको बुट्यानमा फूलेको हिउँ।
फोटो खिच्न कसलाई रहर नलाग्ला?


ट्रेन्डिङ पोस्ट

Ncell