PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हिउँ परेपछि सुदूरपश्चिममा बढे पर्यटक : १० दिनमा ११ हजार भारतीय भित्रिए, स्वागत ढाका टोपी लगाएर



एम बम

हिउँ परेपछि सुदूरपश्चिममा बढे पर्यटक : १० दिनमा ११ हजार भारतीय भित्रिए, स्वागत ढाका टोपी लगाएर

कैलाली : नेपाल भ्रमण वर्ष २०२० सुरु भएको १० दिन बित्यो। भ्रमण वर्षको पहिलो दिन कैलालीको त्रिनगर भन्सारबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई ढाका टोपी उपहार दिएर स्वागत गरियो। त्यसपछि भने भ्रमण वर्षका गतिविधि शून्य छन्।

तर सौभाग्य, सुदूरपश्चिमका पहाडी जिल्लाका डाँडाकाँडा हिउँले भरिभराउ भएपछि भारतीय पर्यटकको आगमनमा भने वृद्धि भएको छ। सन् २०२० को पहिलो दिन त्रिनगर नाकाबाट सुदूरपश्चिम भित्रिने अधिकांश भारतीय पर्यटकहरूले नयाँ वर्ष मनाउन नेपाल आएको प्रतिक्रिया दिएका थिए। उक्त दिन त्रिनगर नाकाबाट मात्रै ५ सय ३४ भारतीय पर्यटक नेपाल भित्रिएका थिए।

त्यस यता सुदूरपश्चिमको तराईबाट नजिकैको जिल्ला डडेलधुरा र डोटीमा भीमदत्त राजमार्गसँग जोडिएका उच्च पहाडी भूभागहरू हिउँले भरिभराउ भएपछि भारतीय पर्यटकको आगमन वृद्धि भएको छ।

दश दिनको अवधिमै साढे ११ हजार भारतीय पर्यटक नेपाल प्रवेश गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १० दिनको अवधिमा ११ हजार ५ सय ४३  भारतीय पर्यटक नेपाल भित्रिएको बताए। ‘हामीले नाकाहरूमा तथ्याङ्क सङ्कलन गर्दा तीन वटा नाकाबाट मात्रै ११ हजार ५ सय ४३  जना पर्यटक नेपाल आएका छन्,’ उनले भने, ‘यो तथ्याङ्क कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाको हो।’

कैलालीको त्रिनगर र टीकापुरस्थित खक्रौला नाकाबाट १ हजार ९ सय ९७ सवारी साधनमा ८ हजार २ सय ३ पर्यटक नेपाल आएको उनले बताए। त्यस्तै उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट ८ सय ४१ सवारी साधन मार्फत ३ हजार ३ सय ४० पर्यटक नेपाल आएका छन्।

सुदूरपश्चिममा यो हिउँदमा तीन पटक हिमपात भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell