PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मनाङले खेर फाल्यो शीर्ष स्थानमा उक्लिने अवसर, फाइदामा मछिन्द्र



मुकुन्द घिमिरे

मनाङले खेर फाल्यो शीर्ष स्थानमा उक्लिने अवसर, फाइदामा मछिन्द्र
फोटोहरु : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज छैटौँ चरणका दुई खेलहरु भए। आजको दुवै खेल महत्वपूर्ण थियो। कारण हो शीर्ष होडमा रहेका तीन टिमको प्रतिस्पर्धा। भयो पनि त्यस्तै। मछिन्द्र क्लब आज शीर्ष स्थानमा उक्लिएको छ।

आज भएको पहिलो खेलमा मछिन्द्रले जावलाखेल युथ क्लबमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। विशाल राईले ३१ औं मिनेटमा गरेको गोल मछिन्द्रको जितका लागि निर्णायक बन्यो।

एन्फाको निलम्बनका कारण पहिलो रोजाईका दुई खेलाडीहरु बिनै उत्रिएको मछिन्द्रलाई जाउलाखेलमाथि जित निकाल्न हम्मेहम्मे पर्‍यो। जितसँगै शीर्ष स्थानमा त उक्लियो तर शीर्षस्थानमा रहिरहन मनाङको खेल पर्खनु पर्ने थियो।

आजको दोस्रो खेल थियो मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच। मनाङले जित निकालेको खण्डमा स्वतः शीर्ष स्थानमा पुग्ने थियो। तर त्यसो भएन। मनाङले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो।

पाँचौं चरणको खेलमा मछिन्द्र क्लबका खेलाडीहरुसँग झगडा गरेको मनाङको आज पनि खेल फेयर देखिएन। मनाङका ३ खेलाडीले यल्लो कार्ड पाए भने सुरज विश्वकर्मा त खेलको ७२ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिए। अर्कोतर्फ हिमालयन शेर्पा क्लबका १ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए।

मनाङले खेल बराबरी गर्दा यसको प्रत्यक्ष फाइदा पुग्यो अघिल्लो खेल जितेको मछिन्द्रलाई। योसँगै ६ खेल खेलेको मछिन्द्र ४ जित र २ बराबरीसहित १३ अंक जोडेर शीर्ष स्थानमा कायम छ। समान ६ खेलनै खेलेको मनाङ १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने पाँच खेल खेलेको त्रिभुवन आर्मी क्लब तालिकाको दोस्रो स्थानमा छ।

छैटौं चरणको शीर्ष स्थानमा कायम रहिरहनका लागि मछिन्द्रले अझै दुई खेल कुर्नु पर्ने हुन्छ। त्रिभुवन आर्मी क्लबको जित या बराबरीले र थ्री स्टार क्लबको जितले शीर्षस्थानको समीकरणमा प्रभाव पार्नेछ। चौँथो स्थानमा रहेको थ्री स्टार क्लबको १० अंक छ।

के भन्छन् प्रशिक्षकहरु?

नरेश थापा, जावलाखेल युथ क्लब :

हामीले अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनौँ। प्रतिद्वन्द्वी बलियो थियो। तर मुख्य दुई खेलाडीमा लागेको निलम्बनको असर चाहीँ देखिएको थियो। दोस्रो हाफमा उनीहरुलाई गाह्रो भएको थियो। सब्स्टिट्युट पनि खासै रहेन छ। हामीलाई यो मौका थियो तर पनि सकेनौँ।

प्रवेश कटुवाल, मछिन्द्र क्लब :

जावलाखेल आजसम्म नहारेको टिम, त्यसमाथि हाम्रो खेलाडी कारबाहीमा परेका। रणनीति बीचमै फेर्नु पर्‍यो। यो निकै महत्वपूर्ण जित हो। हामी थप गोल गर्न पनि चुकेकै हो। अवसर पाएर पनि धेरै सदुपयोग गर्न सकेनौँ।

एन्फाको कारबाही प्रति म चाहिँ असन्तुष्ट छु। जगजितहरुको कारणले झगडा भएको हो। देवेन्द्र तामाङ छुट्याउन गएको थियो। छुट्याउन जाँदा सब्स्टिट्युट प्लेयरहरुले हिर्काएका कारणमात्र देवेन्द्र जंगिएको हो। जंगिँदा पनि उसले हात लगाएन। उसलाई आफ्नै टिमका मेम्बरले समात्यो। त्यसमा पनि उसले कारबाही पायो। 

उताको विदेशी खेलाडीहरुले पनि हात लगाएको स्पष्ट देखिन्छ तर उनीहरुलाई चाहीँ कारबाही भएन। त्यसप्रति म अलिकति असन्तुष्ट छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell