PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

किन हेर्ने दीपिका पादुकोणको छपाक?



पहिलोपोस्ट

किन हेर्ने दीपिका पादुकोणको छपाक?

दीपिका पादुकोणको फिगर र उनको सजधजले धेरैलाई तान्छ बलिउडमा। त्यसमा उनको पहिरन र गहना सधैं चर्चामा रहन्छ - रिलमा अथवा रिल बाहिर पनि। दीपकामाथिको यही दृष्टिकोणभन्दा ठीक विपरीत सिनेमाले यतिखेर थिएटरका पर्दामा उपस्थिति जनाएको छ। आफ्नो सुन्दर पहिचानका बाबजुद दीपिकाले जुन स्वरुपमा आफूलाई उतारेकी छिन्, त्यो सानो 'रिस्क' भने होइन।

सन्दर्भ अरु केही होइन, उनको शुक्रवारमात्र रिलिज भएको फिल्म छपाकको हो। नेपाली मल्टिप्लेक्सहरु पनि चलिरहेको यो फिल्म किन हेर्ने त? किन हेर्ने भन्ने सन्दर्भ त्यसै लेखिएको भने होइन। हेर्ने कि नहेर्ने भन्ने तर्क पनि गर्न खोजेको होइन। फिल्म भनेको केबल मनोरञ्जन हो, टाइम पासमात्र भन्ने लाग्छ भने पनि छपाक किन नहेर्ने त? किन हेर्ने र किन नहेर्ने त भन्ने दृष्टिकोणलाई बलिउडका समीक्षकको दृष्टिकोणबाट मात्र यहाँ व्यक्त गर्न खोजिएको हो।

किशोरी/युवतीमाथि एसिड आक्रमणका समाचार नेपाली मिडियामा पनि छरपस्ट आइरहन्छन्। मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा भर्खरै प्लास्टिक सर्जरी भएको छ। एसिड आक्रणमा परेका नेपाली चेलीहरु अहिले आफ्नो अनुहार देखाएरै समाजमा उभिन थालेका छन्। उनीहरुको जीवनका सकारात्मक कथासँगै एसिड प्रहार गर्ने कुकर्मीविरुद्ध एक हिसाबको जेहाद नेपालमा पनि छेडिनुपर्छ। छपाकले उठान गरेको यही विषयवस्तुले नै फिल्म किन हेर्नुपर्छ भन्ने कुराको जवाफ दिन्छ।

नेपाल होस् या भारत, एसिड आक्रमणमा पर्नेक्रम जारी रहँदा मेघना गुलजार निर्देशित फिल्म छपाक रिलिज भएको छ। फिल्मको ‌ओपनिङ सट २०१२ को दिल्ली सामुहिक बलात्कारको घटनाबाट सुरु हुन्छ र सेट गर्छ फिल्मको टोन। एसिड आक्रमणमा परेर जीवनमा संघर्ष गर्न नछाडेकी लक्ष्मी अग्रवालको सत्य कथालाई लिड रोलमा अगाडि बढाउँछन् दीपिका पादुकोण।

छपाकले १९ वर्षीया मालती (दीपिका)को कथा बताउँछ जसको एउटा सुखी जीवन एसिड आक्रमणका कारण अर्को मोडतिर पुग्छ। हिन्दुस्तान टाइम्सले समीक्षा गर्दै छपाकका प्लटहरुले एसिड आक्रमणमा पर्नेको पीडालाई महसुस गराउने उल्लेख गरेको छ। पहिलो पटक एसिड आक्रमणपछि बिग्रेको अनुहार ऐनामा हेर्दा दीपिका जसरी असाहय अनुभूति गर्छिन्, त्यो फिल्म हेरिरहने दर्शकले पनि गर्ने समीक्षकको टिप्पणी छ। पद्‍मावत जस्तो सिनेमामा रानीको रोलमा देखिएकी दीपिका अनुहार 'कुरुप' बनाउने रोलमा अलिकति पनि कञ्जुस्याई गर्दिनन्।

'यो संवेदनशील, साहसी र हृदय विदारक कथा हो जुन हेर्न सहज छैन तर यसभित्र अर्थपूर्ण कथ्य छ,' हिन्दुस्तान टाइम्सले लेखेको छ।

छपाकमा प्रोटागोनिस्ट बनेकी दीपिकाले जसरी भूमिकालाई न्याय गरेकी छिन्, त्यसलाई खुलेर प्रशंसा गरेको छ द इन्डिएन एक्सप्रेसले।

'अहिलेसम्म तपाईँले मेकअप सहित गजबको पहिरनमा सजिएकी दीपिकालाई देख्नु भएको छ र मन पराउनु पनि भएको छ। र, आफ्नो त्यही सुरक्षित पहिचानबाट बाहिरिएकी छिन् उनी। त्यो चमकधमकको मुहार जलेको अवस्थामा देखाउने हिम्मत गरेकी छिन्। हो, यो महँगो विषय हो जुन हेर्नलायक बनेको छ,' एक्सप्रेसले लेखेको छ।

टाइम्स अफ इन्डियाले त दीपिका पादुकोणलाई फिल्मको आत्मा नै भनेको छ जुन उनले आफ्नो दमदार अभिनयबाट प्रस्तुत गरेकी छिन्। फिल्ममा यस्ता धेरै दृष्यहरु छन् जसले दर्शकलाई रुवाउने दावी गरिएको छ समीक्षामा। सँगै एसिड आक्रमणपछि संघर्ष गर्दै अरुका लागि कसरी प्रेरक बन्न सकिन्छ भन्ने पाठ पनि पढाएको छ फिल्मले।

समीक्षामा लेखिएको छ - छपाक एउटा असाध्यै संवेदनशील फिल्म हो जुन महिलाविरुद्धको हिंसाविरुद्ध उभिन्छ त्यस्तो कथा भन्छ जुन सबैले सुन्न आवश्यक छ।

फिल्मको यही संवेदनशीलतालाई आधारमा मानेर हुनुपर्छ भारतका केही राज्यहरुले यसको प्रदर्शनमा कर छुटको घोषणा पनि गरेका छन्। समीक्षकहरुको धारणालाई आधार मान्ने हो भने नेपालको सन्दर्भमा पनि फिल्म हेर्नुपर्ने मान्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell