
काठमाडौं : काठमाडौं महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ। कामपाले आज वडा नम्बर २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट सफल परीक्षण गरेको हो।
उक्त प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवर्द्धन तथा सहभागिता कार्यक्रमको पाँच लाख रुपैयाँ वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट दुई लाख रुपैयाँ संघसंस्था र उपभोक्ताको दुई लाख ४० हजार ६१२ गरी कूल नौ लाख ४० हजार ६१२ रुपैयाँ लगानीमा मांसगल्ली उपभोक्ता समितिले पाइप जडान गरेको हो।
परीक्षणको शुरुआत कामपाका प्रमुख विद्या शुन्दर शाक्यले गरेका हुन्। परीक्षणपछि प्रमुख शाक्यले विपद् क्षति न्यूनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम रहेको बताए।
उनले भने, ‘हरेक नगरसभामा यसका बारेमा गहन छालफल गर्छौँ र आवश्यक नीति बनाउने गरेका छौँ।’
दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीतिअन्तर्गत काम हुने पनि उनले जानकारी दिए।
शाक्यले भने, ‘हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पुर्याएका छौँ। अब केही दमकल खरिद गर्दैछौँ भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेका छौँ।’
कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगर विपद्का समयमा आवश्यक पर्ने सामग्री तथा उपकरणलाई वडास्तरमा भण्डारण गर्ने योजनामा रहेको बताए।
‘विपत्ति परेका बेला खोज तथा उद्धार र राहतको प्राथमिक कामका लागि कतै जान नपरोस्’, उपप्रमुख खड्गी श्रेष्ठले भनिन्।
कार्यक्रममा वडा २७ का वडाध्यक्ष चिनियाँमान बज्राचार्यले यस प्रणालीलाई अब क्रमशः अन्य भित्री शहरी ठाउँमा पनि बिस्तार गर्दै लैजानुपर्ने बताउँदै कामपाका धेरै गल्लीमा दमकल नजाने भन्दै यसको महत्व धेरै रहेको धारणा राए।
सो अवसरमा वडा २५ का अध्यक्ष एवं महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भने, ‘हामी विगतको दुःख चाँडै बिर्सिन्छौँ। मान्छेलाई जुनबेला पनि र जस्तोसुकै खालको पनि आपत् आइपर्न सक्छ। अझ भित्री शहर त आगलागीको दृष्टिले अति नै जोखिमपूर्ण छ। अब हामी जोखिम क्षति व्यवस्थापनको कामलाई तीव्र बनाउँछौँ। नगरवासीलाई सुरक्षित छौँ भन्ने अनुभूति दिलाउँछौँ।’