
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा थ्री स्टार क्लबले फ्रेन्डस क्लबको सामना गर्नेछ। आज १२ बजेबाट शुरुहुने खेलमा उपाधि दावेदारसमेत मानिने थ्री स्टार क्लब जित निकाल्दै शीर्ष स्थानको मछिन्द्र क्लबसँग बराबरी गर्ने लक्षका साथ उत्रने छ। यता फ्रेन्डस क्लबको लक्ष जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्ने रहने छ।
अंकतालिकामा थ्री स्टार क्लब चौथो स्थानमा छ। थ्री स्टारले पाँच खेलमा ३ जित १ हार र १ बराबरी खेल्दै १० अंक जोडेको छ। आजको खेल जितेको खण्डमा थ्री स्टार क्लबको १३ अंक हुनेछ, जुन लिग लिडर मछिन्द्र क्लबसँगको बराबर अंक हो।
अर्कोतर्फ फ्रेन्डस् क्लब अंकतालिकाको १३ औं स्थानमा छ। पाँच खेल खेलेर ३ हार र २ बराबरी खेलेको फ्रेन्डस क्लबको २ अंक छ। आजको खेलमा जित निकाल्न सकेको खण्डमा फ्रेन्डस क्लबलाई रेलिगेसनको दवाबबाट केही राहत मिल्नेछ।
दोस्रो खेलमा सरस्वती र ब्रिगेड ब्वाइज
आजै हुने दोस्रो खेलमा सरस्वती क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ। ब्रिगेड ब्वाइज अंकतालिकाको आठौं स्थानमा छ भने सरस्वती क्लब पुछारमा छ।
५ खेलमा २ जित र ३ हारसहित ६ अंक जोडेको ब्रिगेड आजको खेलमा जित निकालेको खण्डमा अंकतालिकाको पाँचौ स्थानसम्म पुग्ने सम्भवना रहन्छ। अर्कोतर्फ पाँच खेल खेलेर सबै खेलमा पराजित बनेको सरस्वती रेलिगेसनको क्षेत्रबाट बाहिरिन पनि यो जित निकाल्न चाहन्छ।
खेल आज दिउँसो ३ बजे शुरु हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुनेछ।