
काठमाडौँ : सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ। हिउँदे अधिवेशन प्रारम्भ भएको तीन साता भए पनि सभामुख चयनको प्रक्रिया अघि बढ्न सकेको छैन। उम्मेद्वार चयनमा विवाद हुँदा निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन। अधिवेशन प्रारम्भबाहेक अन्य बैठक सूचना टाँसेर स्थगित हुँदै आएका छन्।
शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो। तर, सभामुखको उम्मेदवारबारे निर्णय नभएसम्म राजीनामा नदिने अडान आफू निकटहरुसँग राखेकी छन्। निर्वाचन प्रक्रिया प्रारम्भ हुनुअघि तुम्बाहाङ्फेलाई राजीनामा गराउने योजनामा नेकपा छ। उनीभन्दा उम्मेद्वार तय नभएसम्म राजीनामा नदिने अडानमा छिन्।
तुम्बाहाङ्फेले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफू सभामुख किन नहुने भनी प्रश्न गरेकी थिइन्। दुई अध्यक्षले सभामुखबारे पार्टीले निर्णय लिने भन्दै उपसभामुखबाट राजीनामा दिन सुझाव दिएका थिए। अध्यक्षद्वयले उपसभामुख कायम रहेमा नेकपाले उम्मेदवारी दिन नमिल्ने संवैधानिक व्यवस्था व्यवस्थाप्रति सचेत गराएका थिए।
तर, उनले सभामुखबारे निर्णय नभए आइतबारको बैठक सञ्चालन गरी कार्यतालिका नै अघि बढाउने चेतावनी दिएकी थिइन्।
तुम्बाहाङ्फेले आफू निकटहरुसँग आइतवारको बैठक सञ्चालन गर्ने पनि बताएकी छन्। यद्यपि संसद् सचिवालयले भने राजनीतिक सहमति नभएको अवस्थामा बैठक अघि बढ्न नसक्ने संकेत शुक्रवार नै दिइसकेको छ। आइतवारको बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्ने वा स्थगित हुने सम्भावन रहेको सचिवालयकाक एक उच्च अधिकारीले बताए।
सभामुखमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारेका छन्। यस्तै, अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई अघि सारेका छन्। सापकोटाको विकल्पमा पूर्व माओवादीबाट पम्फा भुसाललाई पनि विकल्पका रुपमा हेरिएको छ।
उपसभामुख तुम्बाहाङ्फेको पनि सभामुखमा दाबी कायमै छ। तुम्बाहाङ्फेको पक्षमा महिला सांसद्को लबिङ निरन्तर छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत तुम्बाहाङ्फेलाई सभामुख बनाउन नेकपामा दबाब दिइरहेको स्रोत बताउँछ।