PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपसभामुखको अडानपछि हल खोज्न ओली र दाहाल छलफलमा, तुम्बाहाङ्फे पनि पुगिन् बालुवाटार



कुञ्जरमणि भट्टराई

उपसभामुखको अडानपछि हल खोज्न ओली र दाहाल छलफलमा, तुम्बाहाङ्फे पनि पुगिन् बालुवाटार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। शनिवार बेलुकी बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन लगाउने निर्णय गरेको थियो। तर, उपसभामुखले पदबाट राजीनामा नदिने अडान राख्दै आएकी छिन्।

उपसभामुखले राजीनामा नदिने अडान राखेपछि अहिले हल खोज्न अध्यक्षद्वय बालुवाटारमा छलफल गरिरहेका छन्। यसैबीच उपसभामुख तुम्बाहाङ्फे पनि बालुवाटार पुगेकी छिन्। त्यस्तै छलफलमा नेकपा महासचिव विष्णु पौडेल र रक्षा मन्त्री ईश्वर पोख्रेलपनि छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार संसद, उपसभामुख, सभामुख लगायतका विषयमा छलफल भइरहेको छ। नेकपामा सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ।

हिउँदे अधिवेशन प्रारम्भ भएको तीन साता भएपनि सभामुख चयनको प्रक्रिया अघि बढ्न सकेको छैन। पुष ११ र १६ गतेका लागि बोलाइएको बैठक सुचना टाँस गरी स्थगित भएको जानकारी दिइएको थियो। उम्मेद्वार चयनमा विवाद हुँदा सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन। उपसभामुखले आजको बैठक सञ्चालन गर्ने बताएकी छिन्।

तुम्बाहाङ्फेले शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई भेटेर आफू सभामुख किन नहुने भनी प्रश्न गरेकी थिइन्। दुई अध्यक्षले सभामुखबारे पार्टीले निर्णय लिने भन्दै उपसभामुखबाट राजीनामा दिन सुझाव दिएका थिए। सभामुखमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारेका छन्। यस्तै, अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई अघि सारेका छन्। उपसभामुख तुम्बाहाङ्फेको पनि सभामुखमा दाबी कायमै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समेत तुम्बाहाङ्फेलाई साथ दिएको नेकपा नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell