PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली नोटमा पृथ्वी नारायण शाहको फोटो राख्न कमल थापाको माग



प्रकाश भण्डारी

नेपाली नोटमा पृथ्वी नारायण शाहको फोटो राख्न कमल थापाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गरेका छन्।

२९८ औं पृथ्वी जयन्तीका अवसरमा भृकुटी मण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले यस्तो आग्रह गरेका हुन्। उनले पृथ्वी जयन्तीका दिनमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने समेत बताएका छन्।

‘पृथ्वी जयन्तीलाई सरकारले आउने वर्षदेखि राष्ट्रिय एकता दिवसको रुपमा मनाओस् र सार्वजनिक बिदा दिओस्,’ अध्यक्ष थापाले भने।

सिंहदरवारस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणको लागि यसअघि राष्ट्रपति जाने चलन भएपनि यो पटक नगएकोमा अध्यक्ष थापाले दुःख व्यक्त गरे।

उनले नेपाली नोटमा पृथ्वी नारायण शाहको फोटो राख्नपर्ने माग समेत गरे। जनस्तरमा पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा लिने गरेकोले सरकारले पनि यसलाई सोही रुपमा लिनुपर्ने उनको भनाइ थियो।

पृथ्वी नारायण शाह राजनीतिक व्यवस्थासँग नजोडिएर राष्ट्रिय एकतासँग जोडिएका व्यक्तित्व भएकाले उनको विषयमा मतमतान्तर गर्नु आवश्यक नभएको थापाले बताए।

उक्त कार्यक्रममा पूर्व सभामुख सुवास नेम्बाङ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबारा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पनि उपस्थित थिए।

नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा आइतवार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ।

विसं १७७९ पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए।

भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ। राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आइतवार मुलकुभर विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell