PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

विमानस्थलबाट भित्रने सुन लुट्न सक्रिय ग्याङ्ग पक्राउ



पहिलोपोस्ट

विमानस्थलबाट भित्रने सुन लुट्न सक्रिय ग्याङ्ग पक्राउ

काठमाडौं: प्रहरीले हतियारसहित शनिवार दुई जनालाई नियन्त्रणमा लियो। काठमाडौंको सिनामंगलबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घरमै बनाइएको रिभल्बरसहित दुई जनालाई समातेको हो।

पक्राउ पर्नेमा धनुषाका २५ वर्षीय धर्वेन्द्र पासवान र सिरहाका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन्। प्रहरीले जनाए अनुसार झा शिवा गेष्ट हाउसका सञ्चालक हुन्। त्यस्तै पासवान भने ट्राभल एजेन्सी सञ्चालक हुन्। दुबै लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

विशेषगरी त्रिभुवन विमानस्थलबाट विदेशबाट सानो परिमाणमा भित्रने सुन लुट्ने गरेको प्रहरीले जनाएको छ।

शनिवार पनि उनीहरु सुन लुट्ने योजना अनुसार सिनामंगल पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 'उनीहरु काठमाडौं आसपास लुट्ने धन्दामा सक्रिय रहेको देखिएको छ। पहिले तराईका केही स्थानमा पनि लुटेको जानकारी आएको छ। पुष्टी गर्दैछौं', डिएसपी बोगटीले भने।

सिनामंगलमा पार्किङ गरिरहेको बा १५ च १५३६ नम्बरको कार जाँच गर्दा गाडीमा रिभल्बरसहित ६ वटा गोली फेला परेको थियो। उनीहरुले हतियार गाडीको सिटको पछाडि रहेको खल्तीमा लुकाएर राखेको अवस्था प्रहरीले बरामद गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell