PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अनेरास्ववियूको पहिलो बैठक, एकातिर सपथ, अर्कोतिर बहिष्कार : ओली गएनन्, पुगेनन् प्रचण्ड पनि



कुञ्जरमणि भट्टराई

अनेरास्ववियूको पहिलो बैठक, एकातिर सपथ, अर्कोतिर बहिष्कार : ओली गएनन्, पुगेनन् प्रचण्ड पनि

काठमाडौं : नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता भएको लामो समयसम्म पनि भातृ संगठनहरुको एकता प्रक्रिया टुंगो लागेको थिएन। यही पुस १८ गते मात्रै एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन (अनेरास्ववियु) को एकता प्रक्रियत टुंगो लागेको घोषणा भएपछि लामो समयदेखिको आलोचना केही मत्थर भयो।

त्यसैक्रममा आज अनेरास्ववियुको प्रथम बैठक राजधानीमा सुरु भयो।

राष्ट्रिय सभागृहमा आयोजित बैठकमा नवनियुक्त सदस्यहरुले सपथ ग्रहण गर्ने कार्यक्रम थियो। कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त उद्घाटन गर्ने तय थियो। सुरुवातमा साढे ११ बजेका सुरु हुने कार्यक्रम १ बजेपछिका लागि सारिएको थियो। तर, बैठक झण्डै ३ बजेतिरमात्र सुरु भयो।

निर्धारित समय भन्दा ३ घण्टा ढिलो सुरु भएको कार्यक्रममा दुवै अध्यक्ष उपस्थित भएनन्।

एकतापछिको पहिलो बैठकको उद्घाटन र सपथ महासचिव विष्णु पौडेलले गराए। महासचिवले सपथ गराइरहँदा नजिकै रहेको विश्वभाषा क्याम्पसमा पूर्व अनेरास्ववियू क्रान्तकारीका ६५ जनाको छुट्टै भेला बसिरहेको थियो। एकलौटी ढंगले एकता गरिएको भन्दै उनीहरुले सपथ बहिस्कार गरे।

तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष पञ्चा सिंहको नेतृत्वमा भेला भएका विद्यार्थीहरुले तत्कालीन अध्यक्ष तथा हालका उपाध्यक्ष रञ्जित तामाङ एकलौटी ढंगले अघि बढेको भन्दै विरोध गरेका हुन्। एकता टुंग्याउने क्रममा रंजितले आफू निकटलाई केन्द्रीय कमिटीमा राखेको भन्दै उनीहरुले सपथ बहिस्कार गरेका हुन्।

सिंहले भनिन्, ' संगठनको नेतृत्व गरेका तामाङले एकलौटी ढंगबाट पदाधिकारी छनोट गरे। पहिला निर्वाचन जितेर संगठनमा आएकाहरुलाई अहिले केन्द्रीय कमिटीमा समावेश गराइएन।'

सिंह अनेरास्ववियू (क्रान्तिकारी)का तर्फबाट सबैभन्दा बढी मतले विजयी भएकी उपाध्यक्ष हुन्। सपथ बहिष्कार गर्नेमा तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) का उपमहासचिव सुकमान महरा, प्रदेश सचिवहरू दीपक देवकोटा, मदन भुल, मदन भट्टराई, सूर्यनारायण शाह, सचिवनारायण खनाल, अजयजंग शाही, गजेन्द्र देव, लक्ष्मी जोशीलगायतका ६५ भन्दा बढी विद्यार्थी छन्।

'यस विषयमा हामीले पार्टी अध्यक्षसँग कुरा राखेका थियौं। विधि प्रक्रिया अनुसार चलिएन भन्ने जानकारी दिएका थियौं,' सिंहले भनिन्, 'अध्यक्षले समस्या समाधान गरेपछि मात्र बैठक बोलाउन निर्देशन दिनुभएको थियो। तर, वेवास्ता गर्दै बैठक डाकियो।'

प्रचण्ड किन आएनन् कार्यक्रममा?

स्वास्थ्यका कारण प्रधानमन्त्री अनुपस्थित हुने धेरैजसो कार्यक्रमहरुमा प्रचण्ड पुग्ने गर्दछन्। आज पनि प्रचण्ड आउनेमा केन्द्रीय सदस्यहरु विश्वस्त थिए।

तर, तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी)का केही पदाधीकारीले बैठक बहिस्कार गरेको जानकारी पाएपछि प्रचण्ड कार्यक्रममा उपस्थित नभएको सिंहले दाबी गरिन्।

भनिन्, 'हामीहरुले बैठक बहिस्कार गरेको जानकारी दिएपछि अध्यक्ष प्रचण्ड कार्यक्रममा उपस्थित हुनु भएन।'

त्यसो त सभामुख चयनको विषयले ओली र प्रचण्ड दुवै तनावमा छन्। उनीहरुबीचको तनाव छरपस्ट हुनेगरी बाहिरिएको छ। त्यसैले पनि दुवै नेता अनुपस्थित भएको हुनसक्ने ठाउँ छ।

सिंह लगायतका विद्यार्थी नेताहरुले सपथ बहिष्कार गरे पनि भोलि पनि कीर्तिपुरमा बैठक जारी रहनेछ। यता, सिंहले भने पार्टी र विद्यार्थी नेतृत्वले निर्णय नसच्चाए राजीनामा दिने चेतावनी दिइन्।

संगठन एकीकरणका क्रममा संयोजक तत्कालीन नेकपा एमालेको अनेरास्ववियूका महासचिव ऐन महर र तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ सहसंयोजक चयन भएका थिए।

तत्कालीन अनेरास्ववियूबाट १ सय ८० जना र अखिल क्रान्तिकारीबाट १ सय ५५ जना समेटेर ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell