काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा आज राजधानीमा चियापन कार्यक्रम आयोजना गर्यो।
भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित चियापानमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी भए।
क्लबको एउटा हलमा कवि गोष्ठी थियो भने अर्कोमा शुभकामना तथा चियापान।
बाहिर नेवारी बाजाको धुन र भित्र कविताको लय। नेता कार्यकर्ता चियाको चुस्कीमा रमिरहेका थिए। भित्ताभरी टाँसिएका थिए पृथ्वी नारायण शाहको दिव्यज्ञान लेखिएका पोष्टर। मञ्चमा थियो शाहको पूर्ण कदको फोटो।
आएका नेता, कार्यकर्तालाई स्वागत गर्थे राप्रपाका अध्यक्ष कमल थापाले। यसैबीच पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको आगमन भयो। थापासँगको कुराकानी केही बेर बसेर उनी निस्किए। त्यसपछि पालो राप्रपा संयुक्तका नेता पशुपति शम्शेर राणाको। उनी पनि मञ्चमै बस्दा राप्रपा एउटै हो कि भन्ने भान भएको कुरा कार्यकर्ताबाट सुनियो।
त्यसपछि आइपुगे नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङ र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी। रेग्मी र नेम्वाङ कुममा कुम मिलाएरै बसे। बेलाबेला कानेखुसी गरे।
कार्यक्रममा अध्यक्ष थापाले भने, 'आम सर्वसाधारणले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा लिएका छन्। सरकारले पनि अर्को वर्षदखि राष्ट्रिय दिवस मनाउनुपर्छ। त्यसैले उनको तस्विर नोटमा राख्नुपर्छ।'
यति बोलेपछि सुवास नेम्वाङलाइ बोल्न थापाले आग्रह गरे उनले शुभकामनासहित राप्रपाको चियापान कहिल्यै नछुटाएको बताए। त्यसपछि कांग्रेस नेता गोपालमान श्रेष्ठले शुभकामना दिए। चियापानमा यसपछि नेकपाका नेता भीम रावल भित्रिए।
नेता तथा शुभेच्छुक आउने जाने क्रम चलिरह्यो।
अनि कार्यक्रममा पुगे कांग्रेस सभापति देउवा। पत्रकारले घेर्न थालिहाले। पत्रकारले शुभकामना दिन आग्रह गरे र उनले शुभकामना दिएपनि। सञ्चारकर्मीले फेरि केही बोल्न आग्रहपछि देउवा झोक्किए र भने, 'म केही बोल्दिनँ, के बोल्ने। बोल्ने चिज बोलिसके। अब केही बोल्दिनँ।'
राप्रपाको गरम चिया पिउन नपाउँदै उनी गरम भए। गरम चिया आएको मात्र के थियो दुइतीन चुस्की पिए र निस्किए।
आफ्नै चियापानमा सेलिब्रेटी बने कमल थापा। उनीसँग फोटो खिच्न मानिसहरुको ओइरो लागेको थियो।
फोटो लिने अर्को होड रावलसँग देखियो। आफ्ना शुभेच्छुकसँग फोटो लिइरहँदा रावल कूल देखिएका थिए।