
अमेरिका र इरानबीच अहिले तनावपूर्ण अवस्था छ। अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्युपछि खाडीमा युद्धको त्रास बढेको हो। इरानले पनि बदला स्वरुप इराकमा रहेको अमेरिकी सैन्य शिविरमा आक्रमण गरिसकेको छ। तर, सोही दिन इरानकी भूमिमा नै युक्रेनी विमान दुर्घटना भयो। उक्त विमान इरानी सेनाले 'भूलवश' मिसाइल प्रहार गरि खसाएको बताएपछि इरानमा अहिले प्रदर्शन भइरहेको छ।
इरानी विद्या्थीहरुले सरकार विरुद्ध प्रदर्शन गरिरहेको विषय विदेशी संचारमाध्यममा हेडलाइन बनिरहँदा इरानबाटै आएको अर्को समाचारले त्यहाँको सरकारलाई थप दबाबमा पारेको छ।
युद्धको त्रासबीच महिलामाथि शोषण हुने क्रम इरानमा कायम नै रहेको भन्दै इरानकी एकमात्र महिला ओलम्पिक मेडललिस्ट किमिया एलिजादेले देश छाडेको घोषणा गरेकी छिन्।
२१ वर्षीया एलिजादेले इन्स्टाग्राममा 'कपट, झुट, अन्याय र चम्चागिरी' को हिस्सा लिन नसक्ने भएकाले देश छाडेको बताएकी छिन्। उनी इरानको एक मात्र ओलम्पिक मेडलिस्ट महिला हुन्।
२०१६ को रियो ओलम्पिकमा कास्य जितेकी थिइन् उनले।
तेक्वान्दोको ५७ केजीभन्दा तलको वेटक्याटगोरीमा कास्यपदक हात पार्दै इतिहास बनाएकी थिइन्। एलिजादेले भावुक पोष्टलेख्दै 'इरानमा दबाइएका लाखौं महिलाहरु मध्ये आफू एक' भएको भन्दै आफैलाई परिभाषित गरेकी छिन्। उनले आफ्नो सफलतालाई इरानका शासकहरुले 'प्रोपोगान्डा टुल' का रुपमा प्रयोग गरेको आरोपसमेत लगाइन्।
उनले अब आफू प्रोपागान्डा टुल नबन्ने भन्दै इरानी महिलाहरुलाई दमनबाट छुट्कारा दिने प्रयास गर्ने बताइन्।
इरानको समाचार एजेन्सी इसानाले भनेको छ: इरानी तेक्वान्दोमा झट्का, किमिया नेदरल्यान्डस्मा बसिन्। उक्त रिपोर्टका अनुसार किमियाले २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाउने छिन तर इरानको झन्डामा नभएर नेदरल्यान्डको झन्डामा।