PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उपसभामुखले संवैधानिक संकट निम्त्याएको देव गुरुङको आरोप, ‘सदन नै अवरुद्ध गरी बार्गेनिङ गर्ने?’



कुञ्जरमणि भट्टराई

उपसभामुखले संवैधानिक संकट निम्त्याएको देव गुरुङको आरोप, ‘सदन नै अवरुद्ध गरी बार्गेनिङ गर्ने?’
फोटो : reportersnepal.com

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले  संवैधानिक संकट निम्त्याएर बार्गेनिङ गरेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिँदासम्म नेकपाले सभामुखको उम्मेद्वार दिने बाटो समेत नखुलेको बताए।

उनले भने, ‘संवैधानिक संकट पैदा भएको अवस्थामा जुनसुकै पोस्टमा रहेका व्यक्ति पनि समाधानमा लाग्नुपर्ने हुन्छ। सदनलाई नै अवरुद्ध बनाएर कसलाई उम्मेद्वार बनाउने भनेर बार्गेनिङ गर्ने तरिका उपयुक्त भएन। कम्युनिस्ट पार्टीको सन्दर्भमा त्यस्तो प्रकारको संस्कार राम्रो होइन। कुनै पदमा बसेर संवैधानिक संकट निम्त्याएर बार्गेनिङ गर्ने फेयर पोलिटिक्सको विषय होइन।’

गुरुङले पार्टीले आग्रह गरेकाले उपसभामुखले ढिलो चाडो राजीनामा दिने विश्वास पनि व्यक्त गरे। व्यक्तिका इच्छा आकंक्षा भन्दा पनि संवैधानिक बाटो रोज्नु पर्ने उनको भनाइ थियो। उनले नेकपाले सभामुखमा उम्मेद्वारी दिने र उपसभामुखमा अन्य दललाई प्रस्ताव गर्ने बताए।  सभामुखको उम्मेद्वार बन्नका लागि भएपनि उपसभामुखले राजीनामा दिनुपर्ने बताए।

सभामुख र उपसभामुख एउटै दलको हुन नहुने भन्दै सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला भए सभामुखको बाटो खुल्न सक्ने उनले बताए। मार्ग प्रशस्त गर्नका लागि सर्वोच्चको फैसला र उपसभामुखको राजीनामा मात्र विकल्प रहेको उनको भनाइ थियो।

सभामुखको उम्मेद्वारबारे टुंगो नलाग्दासम्म उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिने अडान राख्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell