अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले क्रिकेटको लोकप्रियता बढाउने लक्ष्यका साथ विश्व कपमा सहभागी देशहरुको संख्या बढाउने बहस अघि सारेको छ।
अस्ट्रेलियामा अक्टोबरमा हुन गइरहेको विश्वकपमा १६ टिमको सहभागिता रहने छ। तर, त्यसपछिका विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने तयारी आइसिसीले गरिरहेको द टेलिग्राफको रिपोर्टमा जनाइएको छ। रिपोर्टका अनुसार सन् २०२४ को विश्वकपमा २० टिमले सहभागिता जनाउने छन्।
फुटबल र बास्केटबल जस्तै क्रिकेटलाई पनि अघि बढाउन आइसिसी विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउने तयारी गरेको उक्त रिपोर्टमा जनाइएको छ।
रिपोर्ट अनुसार विश्व बजारलाई ध्यानमा राख्दै क्रिकेटमा सहभागी राष्ट्रको संख्या बढाउन अहिले अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर बनाउने क्रममा यो विषय चर्चामा आएको हो। जसमा आइसिसीले अमेरिकाको बजारलाई केन्द्रमा राखेर बहस अघि बढाएको छ।
फुटबलले विश्वकपमा ४८ देशहरुको सहभागिता गराउने तयारी बहसमा रहँदा बास्केटबलले पनि ३२ टिमलाई विश्वकपमा सहभागी गराउने तयारी गरेको छ। यस्तोमा क्रिकेटमा थोरै राष्ट्रमात्र सहभागिता रहँदा क्रिकेटको लोकप्रियता माथि नै उठ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आइसिसीले यो बहस चलाएको बताइएको छ।
नेपाललाई प्रभाव
विश्वकपमा सहभागिता जनाउने राष्ट्रको संख्या बढाएको खण्डमा नेपाललाई प्रत्यक्ष फाइदा हुनेछ। पछिल्लो दशक नेपालले क्रिकेटमा फड्को मारेको छ। नेपालसँग अहिले एकदिवसीय वरीयता पनि छ। तर, विश्वकपको मैदानमा भने नेपाल एकपटक मात्र उत्रिएको छ। यस्तोमा नेपाल, क्यानडा, अमेरिकालगायतका देशहरुलाई अवसर हुनसक्ने रिपोर्टमा जनाइएको छ।
यद्यपि, क्रिकेटका बिग 'थ्री' मानिने अस्ट्रेलिया, भारत र इङल्यान्डले भने यस बहसलाई असहज रुपमा लिइरहेको बताइएको छ।