
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लब र एपिएफ गोलरहित बराबरीमा रोकिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासल र विभागिय टोली एपिएफ गोलरहित बराबरीमा रोकिएका हुन्। खेलअवधि भर च्यासल हावी भए पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन।
खेलको २२ औं मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलले हेडिङमा पाएको गोल गर्ने अवसरबाट चुकेका थिए। त्यस्तै २५ औं मिनेटमा च्यासलकै अमिर श्रेष्ठले बक्स भित्रै पाएको अवसर सदुपयोग गर्न सकेनन्।
यता एपिएफका लागि दोस्रो हाफको शुरुमै रवि तामाङले पोस्टमा प्रहार गरे पनि गोलकिपर एलन न्यौपानेले बचाएका थिए। ५४ औं मिनेटमा पनि राजीव लोप्चनको हेडिङ बललाई च्यासलका गोलकिपर न्यौपानेले बचाएका थिए।
खेलको ७२ औं मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलले पोस्ट नजिकैबाट गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। र खेल पनि गोलरहित बराबरीमै रोकियो। एपिएफमा राजन गुरुङ म्यान अफ द म्याच बने।
अंक बाँडेसँगै ६ खेलमा १ जित २ हार र ३ बराबरी खेल्दै च्यासलले ६ अंक जोडेर १० औं स्थानमा पुगेको छ। यता एपिएफ भने ६ खेलमा १ जित ३ हार र बराबरी खेल्दै ५ अंक जोडेर ११ औं स्थानमा छ।
आजै भएको पहिलो खेलमा न्यु रोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै छैटौं स्थानमा उक्लिएको थियो।
लिगमा भोलि एक खेल हुनेछ। भोलिको खेलमा संकटा क्लबले शीर्षस्थानको होडमा रहेको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ।