PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वाग्मतीमा विरोधसहित बाबुरामको बधाई, कमल थापाले भने : बाबुरामजी हसाउनु हुन्छ...'



पहिलोपोस्ट

वाग्मतीमा विरोधसहित बाबुरामको बधाई, कमल थापाले भने : बाबुरामजी हसाउनु हुन्छ...'

काठमाडौं : आइतवार प्रदेश सभा ३ ले आफ्नो नाम र राजधानी मतदान गरी तोक्यो। यससँगै प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा भएको छ। राजधानी हेटौंडा भएकोमा र प्रदेशको नाम वाग्मती भएकोमा कतिपयले असन्तुष्टि जनाउँदै आएका छन्।

मुख्यत: विवेकशील साझाले धुलिखेललाई राजधानी बनाउन माग गरेको थियो। यद्यपि, यसको पक्षमा तीन मतमात्र पर्‍यो। यता प्रदेशको नाममा वाग्मती विरुद्ध कसैले मतदान गरेनन्। समाजवादी पार्टी नेपालका सांसद प्रेम तामाङले प्रदेशको नाम 'नेवा ताम्सालिङ' राख्न माग गरे पनि प्रस्तावक समेत नपाएपछि सदनमा उनको माग राख्ने ठाउँ नै भएन।

यसरी १०८ मत पाउँदै प्रदेश ३ को नाम वाग्मती रह्यो। धेरैले वाग्मती नाम राखेकोमा खुशी प्रकट गरे भने कतिपयले विरोध। वाग्मती नाम रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि खुशी भए। मकवानपुर राजनीतिक आधार क्षेत्र भएकाले हेटौडा प्रदेशको राजधानी हुनु संसद समेत नरहेको अवस्थामा कम फाइदाको विषय थिएन उनका लागि। आखिर उनको एजेन्डा सत्ता न संसद हुँदा नै पूरा भएको छ। त्यसैले थापाले आइतवारै ट्वीटमा आफ्नो खुशी यसरी व्यक्त गरे- 'प्रदेश नं ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियालाई बधाई। अन्य प्रदेशको निमित्त पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुनसक्छ।'

थापाको ट्वीट आएको झन्डै २० घन्टापछि आज समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका डा बाबुराम भट्टराईले प्रतिक्रिया दिए। बाबुरामले थापाको विचार पश्चगामी भएको आरोप लगाउँदै 'क्षणिक जितका लागि' बधाईसमेत दिए। बाबुरामले ट्वीट गरेका छन्- 'पौडेल, बानिया, थापाहरूको सहमतिलाई सर्वदलीय हैन एकलजातीय सहमति भन्दा उपयुक्त होला मेरा सहपाठी प्रिय मित्र कमल थापा! नयाँ संविधानले समेत बहुजातीय भनेर स्वीकारीसकेको देशलाई एकलजातीय बनाउने हठले देशलाई दीर्घकालीन द्वन्द्व फसाउन सक्छ! फेरि पनि तपाईंको पश्चगामी विचारको क्षणिक जीतमा बधाइ छ!'

बाबुरामको प्रतिक्रिया आएको ६ मिनेटपछि थापाले कमेन्ट गर्दै रिट्विट गरेका छन्। जसमा लेखिएको छ - 'हाहाहा!! बाबुराम हसाउनु हुन्छ।'

पृथ्वी जयन्तीका दिन बाबुराम पृथ्वीनारायण शाहको खरो विरोधमा उत्रिँदा कमल थापा खरो प्रशंसामा उत्रिएका थिए। यो विषयमा दुईबीच दोहोरी नचले पनि प्रदेशको नामाकरण र राजधानी तोकिएको विषयमा दोहोरी चलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell