
बनेपा : दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले आज जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ।
‘भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा दुर्घटना न्यूनीकरणका लागि चालकलाई शपथग्रहण’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले सबै टिपर चालकलाई शपथ गराएका हुन्। सो क्रममा चालकलाई मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा सङ्गीतको बुफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र जथाभावी ओभरटेक तथा पार्किङ नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने, तीव्र गतिमा गाडी नचलाउने र गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि गाडीमा स्टिकर टाँस्नेछु लगायतका १० बुँदे शपथ खुवाइएको थियो।
सो क्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले टिपर चालकलाई हतारमा गाडी नचलाउन आग्रह गरे। जतिसुकै हतारमा भए पनि आफ्नो काममा दृढ भएर काम गरेमा कसैको भनाइ र प्रहरीको कारबाहीमा नपर्ने उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन उनले सबै चालकलाई अनुरोध गरे।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले हरेक वर्ष दुर्घटनाको दर वृद्धि हुँदै गएकाले त्यसको न्यूनीकरण प्रहरी वा चालक एक्लैले गर्न नसक्ने भएकाले त्यसमा सबै जनाको उत्तिकै भूमिका हुनु जरुरी रहेको बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले चालकले गरेको गल्तीका कारण प्रहरीले भोग्नुपर्ने अवस्था आउने गरेका कारण प्रहरी र चालक दुवैले सचेत भएर आ–आफ्नो जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताए।
सो क्रममा टिपरमा भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँसेर भ्रमण वर्ष प्रचारप्रसार गर्ने कामलाई प्रवर्द्धन गरिएको छ। प्रमुख जिल्ला अधिकारी तिमिल्सना, जिल्ला प्रहरी कार्यालय प्रमुख पौडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख तामाङलगायतले टिपरमा भ्रमण वर्षको लोगोसहितको स्टिकर टाँसेका थिए। काभ्रेपलाञ्चोकबाट मात्रै दैनिक दुई हजार २०० भन्दा बढी टिपर उपत्यका भित्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।