PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सागपछि गति लिँदै पोखरा रंगशाला, सपना अन्तर्राष्ट्रिय खेल खेलाउने



मुकुन्द घिमिरे

सागपछि गति लिँदै पोखरा रंगशाला, सपना अन्तर्राष्ट्रिय खेल खेलाउने

'नेपाली फुटबल' भन्नासाथ पहिलो झल्कोमा आउँछ 'दशरथ रंगशाला'। फ्रेन्च सिद्धान्तकार फर्डिनेन्ड डि सस्युरको सेमिओटिक्सको हिसाबले भन्ने हो भने सिग्निफायर 'नेपाली फुटबल' भए सिग्निफाइड दशरथ रंगशाला देखिन्छ।

जसरी सस्युर पछि ज्याक्स डेरिडा आएर विनिर्माणवादको कुरा गरे, 'सेन्टर' र 'मार्जिन' को फरक हरायो। त्यही दृष्टिबाट केलाउने हो भने नेपाली फुटबलको कन्सेप्टलाई नै विनिर्माण गरेर सेन्टरको दशरथ रंगशाला एक पटक छाडेर पोखरा रंगशालालाई अध्ययन गरे कस्तो होला?

पोखरा रंगशाला।

गएको मंसिरमा साग अन्तर्गतका धेरै खेलहरु त्यही सम्पन्न भए। महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्यान्डबल लगायतका खेलहरु पोखरामा खेलाइए। फुटबलको क्रेज त नेपाल भरी नै छ पोखरा जस्तो शहरमा नहुने कुरा भएन। फुटबलमा भिड यति भयो कि बाहिर लाठीचार्ज नै गर्नुपर्‍यो। सानो दर्शक क्षमता भए पनि साग आयोजनाको अन्तिम समयमा एकापट्टी प्यारापिट लगायत कामचलाउ संरचना बन्यो। भनौं, फुटबल मैदानले स्टेडियमको आकार लियो।

हुन त खेलको क्रममा स्टेडियमबारे विदेश खेलाडी र पत्रकारहरुबाट असन्तुष्टिहरु पनि कतै कतै सुनिए। यद्यपि पोखराले सफलताका साथ साग सम्पन्न गर्‍यो।

कास्की जिल्ला फुटबल संघका अध्यक्षको शब्दमा भन्ने हो भने वर्षौं लाग्ने काम महिना दिनमै सम्पन्न भयो। अझै राष्ट्रिय खेलकुद परिषदले दिएको ठेक्का सकिएको छैन। र, प्यारापिट बनाउने लगायत निर्माणको काम बाँकी नै छ। त्यसभन्दा महत्वपूर्ण छ, मैदानको स्तर संरक्षण र उन्नति।

केही सातादेखि धेरैजसो स्कुलहरुमा 'स्पोर्ट्स विक' चलिरहेको छ। अब स्पोर्ट्स विकमा खेल त सबै हुने नै भयो। भेन्यु छानियो - 'पोखरा रंगशाला'। अझ भनौं निर्माणाधीन पोखरा रंगशाला। त्यहाँका इन्जिनियर लगायतलाई माथि अनुमति लिएको भन्दै बन्दै गरेको मैदानमा खेल चलाइयो। कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ्ग मैदानमा पुग्दा सटपुट पो चलिरहेको रहेछ!

'म त छक्कै परेँ,'  उनी आक्रोशित सुनिए।

त्यत्रो मेहेनत गरेर एउटा स्तरमा ल्याएको मैदान, धेरै खर्च गरेर बनाएको ट्र्याक र दुवोकै कारणले झन्डै साग समेत आयोजना गर्न नसकेको झल्झली सम्झिए उनले। यत्रो मेहेनतमा पानी फेरिन लागेको उनले देख्न सकेनन्। चर्कै विवाद भयो, त्यहाँ।

त्यसयता अध्यक्ष गुरुङ मैदान वरपरै भेटिन्छन्।

'जो पनि मैदानमा आउने र सेल्फी लिन भित्रै पस्ने गर्नाले दुवोको सत्यानास नै हुनेभयो,' उनले भने, 'सबैले छुच्चो देख्छन् देख्न त। तर, बन्नै पर्‍यो। दुवो फेरि रोपिरहेका छौं। पुरानो दुवो मर्‍यो। अहिले चाहिँ निगरानी बढाएको छौ।'

पोखरा रंगशालाको दृश्य पनि त्यस्तै नै थियो।

हामी पोखरा मैदान पुग्दा दुवो रोप्ने काम धमाधम भइरहेको थियो। मैदानमा काम भइरहे पनि रंगशाला वरपर भने थुप्रै काम बाँकी स्पस्ट देखिन्थ्यो।

तर, विडम्बना भन्नु पर्छ, साग अघि जुन स्पिरिटमा पोखरा रंगशालामा काम भयो त्यो स्पिरिट चाहिँ स्वाट्टै घटेको देखियो- रंगशाला निर्माण पूरा गर्ने क्रममा।

'जिम्मेवारी अन्तिम समयमा आयो। खेल खेलायो, दुवो उक्किन्छ। फेरि पेल्यो। नाटकै धेरै गरियो,' गुरुङले सागताका गरेको मेहेनत सम्झँदै भने, 'कास्कीमा पहिलो पटक अवसर आएको। मन्त्रीज्यू र सदस्य सचिवको आश्वासनकै भरमा चेन्जिङ रुम बनाउने देखि भोलेन्टियर गर्नेसम्म सबै काम गरियो।'

साग पछि दुवो मौलाउन नसक्नुको कारण भन्सार भएको उनले बताए।

'भारतबाट ट्रकमा दुवो ल्याइएको थियो। भित्र एसी त थियो तर १ हप्तासम्म भन्सार मै रोकिदिए। अब इन्डियनहरुले तेल खान्छ भनेर एसी पनि मार्दियो होला! अनि कहाँबाट मौलाओस् त दुबो?'

उनले उल्टै प्रश्न गरे। त्यही भएर साग लगत्तै दुवो रोप्ने काम धमाधम चलिरहेको थियो।   

स्टेडियममा अझै धेरै गर्न बाँकी रहेको उनको भनाइ थियो। त्यहाँको दृश्य हेर्दा देखिन्थ्यो पनि त्यस्तै।  

'अझै धेरै काम बाँकी छ। मैदानको मेन्टिनेन्स भइरहेको छ,' प्यारापिटतिर हेरेर उनी भन्दै थिए, 'यो फिटिङको काम बाँकी छ। विदेशीहरुले यो हेरिरहेको छ। अस्ति सागमा १ हप्तामै यी प्यारापिट फिट भइसकेका हुन्। अब अगाडि पनि छिटै निर्माण होला। पछाडितर्फ बिल्डिङ बन्छ। त्यसका लागि फलाम पनि झरिसकेको छ। त्यसपछि चेन्जिङरुम त्यही भवनमा हुनेछ।'

मैदानमा पानी नजम्ने सिस्टम बनाइएको रहेछ।

'यहाँ हेर्नुहोस् पानी ग्राउन्डमा जम्दैन। तल झर्छ र पानी पाइपबाट हाल्न पर्दैन, यसैको प्रयोग गर्न सकिन्छ,' मैदानमै भेटिएका साइट इन्जिनियर पुरुषोत्तम बरालले भने।

ठेकेदारले यो पूरा गरेर जिम्मा दिएपछि एन्फाले हेर्ने अध्यक्ष गुरुङले बताए। अनि मेन्टिनेन्सको जिम्मा एन्फाले लिनसक्ने उनको तर्क छ।

काठमाडौंको लिग सकिने बित्तिकै पोखरामा लिग हुने भएकाले त्यसका लागि तयारी गरिरहेको अध्यक्ष गुरुङको भनाइ छ।

हुन पनि मनाकामना गोल्डकप नजिकिँदै छ। फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप चल्नेछ। फेरि फागुनकै २२ देखि चैत १ गतेसम्म आहा रारा गोल्डकपको सेड्युल एन्फाले छुट्याएको छ। छिटै दुई ठूला गोल्डकपमा सहभागिता जनाउन पोखरा तयार हुँदैछ।

अहिलेलाई तलको मैदानमा अरु सामान्य खेलहरु तल्लो मैदानमा खेलाएर माथिल्लो मैदानमा ठूला खेल खेलाउने कास्की एन्फाको योजना छ। अझ अध्यक्ष गुरुङ त होम अवेका आधारमा कुनै दिन लिग हुने हो भने पनि पोखरा त्यसमा तयार अवस्थामा रहने बताए।

'नेपालको अन्तरर्राष्ट्रिय मैत्रीपूर्ण खेल यहाँ खेलाउने हाम्रो सपना हो,' गुरुङले गम्भीर भएर सुनाए। तर डेरिडाले भने झै केन्द्रको दशरथ रंगशालालाई स्मृतिबाट हटाएर फुटबलसँग पोखरा रंगशालालाई जोड्ला त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell