PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ग्रुप च्याटको त्यो 'क्लु' जसले प्रहरीलाई पुर्‍यायो बस काण्डका रविनसम्म



सविन ढकाल

ग्रुप च्याटको त्यो 'क्लु' जसले प्रहरीलाई पुर्‍यायो बस काण्डका रविनसम्म

'भाइ भाइ सरी। मिस्टेकले भन्या थिन। भाइरल नगर्दिनु है भिडियो।'

त्यसपछि इमोजी : स्माइली।

२०१९ जनवारी २४ मा दुई जनाबीच भएको च्याट। त्यसको तल कपालमा दलिएको बिर्यको फोटो।

चर्चित बस काण्डमा यही च्याट नै प्रहरीको अपराधीसम्म पुग्ने 'क्लु' बन्यो।

एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने २१ वर्षीय चितवन घर भएका रविन सार्की भनिने रबिन रुचाललाई प्रहरीले नियन्त्रणमा लियो जसमा त्यही च्याटले सघायो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको हो रुचाललाई। उनले २०७५ साउन महिनामा डल्लु रुटमा चल्ने बस भित्र एक युवतीलाई हस्तमैथुन गरेर कपालमा झारेको भिडियो खिचेका थिए। उनले खिचेको भिडियो झन्डै तीन महिनापछि विभिन्न फेसबुक ग्रुप हुँदै पोर्न साइटसम्म पुगेको थियो।

सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे प्रहरीकहाँ उजुरी परेको थियो। प्रहरी प्रधान कार्यालय नक्सालले समेत चासो देखाउँदै महाशाखालाई युवकको खोजी गर्ने निर्देशन दिएको थियो। तर, एक वर्षसम्म प्रहरीले कुनै जानकारी पाउन सकेको थिए। त्यतिखेर महाशाखाको प्रमुखको जिम्मेवारी धीरजप्रताप सिंहले सम्हालेका थिए।

तर, एक वर्षपछि भने युवक समातिए। धेरैलाई लाग्न सक्छ- के बसमा हर्कत गर्ने युवक तिनै हुन् त? प्रहरीसँग के छ प्रमाण?

प्रहरीले युवकसम्म पुग्नुको मुख्य क्लु र प्रमाण एउटा फेसबुक गुपको च्याट भएको दावी गरेको छ। केही समय अघि च्याट गर्ने एक युवकसम्म पुगेर प्रहरीले अनुसन्धान गरेको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

'फेसबुक ग्रुपमा भएको च्याटले धेरै सहयोग गरेको छ। त्यसले प्रष्ट हुन्छ त्यस्तो गतिविधि गर्ने उही नै हो। यस्ता अश्लिल ग्रुपको खोजी गर्दैगर्दा खुल्दै गयो,' महाशाखाका एसएसपी थापाले भने। माथि उल्लेख गरिएको संवाद त्यही फेसबुक च्याटको हो।

च्याटमा अश्लिल शब्दहरु पनि छ।

सार्की पेशाले रिक्सा चालक हुन्। १२ कक्षा पढेका भनिएका उनी एउटा कम्पनीको मसला बजारमा पुर्‍याउने काम गर्थे। नयाँ बानेश्वरमा बस्दै आएका उनलाई अश्लिल भिडियो बनाएर १५ हजारभन्दा बढी लाइक पुर्‍याउने लोभ जाग्यो। त्यसपछि यस्तो हर्कत गरेको प्रहरीको दावी छ। तर, अहिलेसम्म ती युवकले भिडियो अपलोड गराए वापत रकम पाइसकेको भने अनुसन्धानमा खुलेको छैन।

'भाइरल भिडियो बनाएर पैसा कमाउने उद्देश्य नै देखिन्छ। तर, अहिलेसम्म कति पैसा कमाएर कति भिडियो हालेको छ भन्ने खुल्न सकेको छैन,' एसएसपी थापाले भने।

बसभित्र भएको अश्लिल हर्कतको विषयलाई लिएर गत वर्ष माघको दोस्रो साता केही महिलाहरुले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धानमा जुटेको थियो। प्रहरीले समात्ने थाहा पाएपछि सार्की भागेर भारत पुगेको प्रहरीको दावी छ। फागुन महिनामा भागेर उनी भारत गएका थिए। भारतको दिल्लीमा गएर ३/४ महिना मम बनाउने फ्याक्ट्रीमा काम गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

घटना सामान्य भएको जानकारी पाएपछि करिब ३ महिना अघिमात्र उनी चितवन आएका हुन्।

'हामी अनुसन्धानको क्रममा नै थियौं। प्राविधिक पक्षको मानिस हायर गरेर अनुसन्धान भइरहेको थियो,' एसएसपी थापाले भने। प्रहरीले घटना भएको समय केही दिन आसपासमा उनको मोबाइलको लोकेसन सम्वन्धित क्षेत्रमा भए नभएको समेत हेरेको एसएसपी थापाले जानकारी दिए।

प्रहरीले समातेका सार्की अविवाहित हुन्। प्रहरीले भिडियोमा देखिएको हात, औंला र हस्तमैथुन गर्दाको स्टाइल समेत डेमो गरेको थियो। डेमोमा भिडियोमा र सार्कीको एउटै प्रकृति देखिएको प्रहरीको दावी छ।

'हामीले डेमो पनि गराएर हेरेका छौं। सबै घटना क्रममले उनै शत प्रतिशत हो भन्नेमा कुनै दुविधा देखिँदैन,' एसएसपी थापाले भने।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। प्रहरीले सार्की विरुद्ध भने साइबर अपराध मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell