
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताएका छन्।
मंगलवार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौता पत्र आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले नेपाल प्रहरीले प्रयोग गर्ने लाठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको बताए। केही वर्ष अघिसम्म गाउँगाउँका जंगलहरुमा बेत पर्याप्त भएपनि अहिले जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।
‘हिजो केटाकेटी बेलामा बेतको जंगलहरु धेरै देखेको थिएँ। अहिले फडानी गरेर त्यहाँ बास्ती बसेका छन्,’ उनले भने, ‘प्रहरीलाई बेतको लाठ्ठी भारतबाट आउने गरेका छन्। हाम्रो देशमा उन्नत जातका निगालोहरु पाउने भएपनि त्यसको सदुपयोग हुन सकेको छैन।’
मन्त्री भट्टले स्रोत, साधन र कला भए पनि त्यसको सदुपयोग गर्न नसकिएको बताए। जुम्ला र दार्चुलाको राडीपाखी लिएर दिल्लीमा स-साना केटाहरु व्यापारका लागि हिँडेको स्मरण गरे। व्यापारघाटा बढ्यो भनेर मात्रै चिच्याउनुभन्दा अब घटाउनतिर सबै अग्रसर हुनुपर्ने उनको धारणा थियो। निर्वाचनको समयमा राजनीतिक दलहरुबीच बैचारिक द्वन्द्व हुने गरेको भएपनि विकास जनताका लागि गरिने भएकाले सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने उनले बताए।