PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डले कार्यकारी अध्यक्षसँग सभामुख पद साटिसके! शिवमाया नभए पनि पूर्वएमालेबाटै छानिने तयारी?



कुञ्जरमणि भट्टराई

प्रचण्डले कार्यकारी अध्यक्षसँग सभामुख पद साटिसके! शिवमाया नभए पनि पूर्वएमालेबाटै छानिने तयारी?

काठमाडौं : सभामुख चयन प्रक्रियाका लागि भन्दै संसदको हिँउदे अधिवेशन अड्किएको छ। संवैधानिक संकट नै निम्तने गरी संसद ठप्प पारिएको प्रतिपक्ष नेपाली कांग्रेसले आरोप लगाइसकेको छ।

हुन पनि पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनले माखो मारेको छैन। सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै तीनपटक सूचना टाँसेरै संसद स्थगित भइसकेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख आफ्नो पार्टीले लिने निर्णय नै बल्लतल्ल गर्‍यो - गत शनिवार। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीले सभामुख पदमा उम्मेदवार दिने बतायो। साथै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन पनि गर्‍यो।

यता उपसभामुख तुम्बाहाङ्फे भने पदबाट राजीनामा नदिने अडानमा छिन्। उनको शर्त छ - सभामुखको उम्मेदवार टुंगो नलाग्दासम्म पदबाट राजीनामा दिन्नँ।

शिवमायाले दल त्यागेर उपसभामुख भएको तर्क गर्दै नेकपाले दिएको निर्देशन नमान्ने प्रतिक्रिया दोहोर्‍याउँदै आएकी छिन्। दुई अध्यक्षहरुसँग पटकपटक भेट्दै उनले प्रश्न गरेकी छिन् - मैले सभामुख बन्न किन नपाउने?

सभामुख कृष्णबहादुर महरा एक महिलालाई यौन शोषण गरेको अभियोगमा हाल जेलमा छन्। गत असोजमा उक्त अभियोग लागेपछि महराले पदबाट राजीनामा दिएयता सभामुखको पद रिक्त छ। नेकपा सचिवालयको निर्देशनमा उनले नैतिकताका अधारमा पदबाट राजीनामा दिएका थिए। जतिबेला उनले राजीनामा दिए त्यतिबेला बजेट अधिवेशन सकिएको थियो।

सभामुख नहुँदा असहजता पैदा हुने भएकाले हिँउदे अधिवेशन छिट्टै डाक्ने बताइएको थियो। तर, सभामुखमा कुरा मिल्ने छाँट नदेखिएपछि हिउँदे अधिवेशन ढिला डाकियो।

सभामुखबारे निर्णयमा पुग्न नसक्दा गत पुस ११, १६ र २७ गतेका लागि बोलाइएको संसद बैठक सुचना टाँस गरी स्थगित भयो। अर्को बैठक फागुन ६ गतेका लागि सारिएको छ। अहिलेकै अन्यौलता कायम रहे उक्त बैठक पनि सुचना टाँसेर स्थगित हुने देखिन्छ।

कसले अड्कायो हलो?

तत्कालिन एमाले र माओवादीले २०७४ को निर्वाचनमा चुनावी तालमेल गरेका थिए। चुनावपछि प्रमुख पदहरुमा भागबण्डा गर्दा एमालेको भागमा राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष परेको थियो भने माओवादीले उपराष्ट्रपति र सभामुख पाएको थियो। त्यस्तै उपसभामुख एमालेको भागमा परेको थियो। आफ्नो भागमा परेकाले सभामुख आफूले पाउनुपर्ने अडानमा पूर्व माओवादीहरु देखिए।

सभामुखको चर्चासँगै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेवाङलाई उम्मेदवारको रुपमा अघि सारे। प्रधानमन्त्रीले अघि सारेका उम्मेदवारको पक्षमा नेकपाभित्र पूर्व एमालेको ठूलै सपोर्ट छ। पूर्व एमाले नेताहरु सभामुखका लागि नेम्वाङ उपयुक्त पात्र भएको बताउन्।

उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई अघि सारे। यता उपसभामुख शिवमायाले पनि आफ्नो दाबी पेश गरिसकेकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीको साथ उनलाई रहेको बताइएको छ। यसो त पछिल्लोपटक शिवमायालाई ओलीकै साथ पनि रहेको बताइन्छ। महिला सांसदहरुको पनि सपोर्ट पाएकी शिवमाया संवैधानिक पदमा रहेकोले पनि आफ्नो अडानबाट पछि हटेकी छैनन्। उनी पद नछाड्ने बरु महाअभियोग सामना गर्न तयार रहेको चुनौती दिइरहेकी छिन्।

प्रचण्डसँग बालुवाटार रुष्ट

सभामुख पदले दुई अध्यक्षबीच अविश्वास पैदा भएको बालुवाटार स्रोतको दावी छ। गत मंसिर २९ गतेदेखि एक साता चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा उनले पार्टीभित्र गुट झाँगिएको उल्लेख गरेका थिए। उनले बैठकमा आत्मआलोचनासहित पूर्व गल्तीहरु नदोहोर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए।

तर, उनको प्रतिवद्धता एक महिना पनि टिक्न सकेन। उनी प्रतिबद्धतामा टिक्न नसेको कुरा गत बुधवार भैसेपाटी भेलाले प्रमाणित गरिदिएको नेकपाकै पूर्व एमाले पक्षका नेताहरुले आरोप लगाउन थालेका छन्। वामदेव गौतम निवासमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु भेला भए।

'गुँट झाँगिएको भन्दै हिँडेका प्रचण्डले सचिवालय सदस्यहरुलाई छुट्टै भेला गरेपछि कस्तो संकेत जान्छ। सभामुखबारे दुई अध्यक्ष बसेर टुंगो लगाउनुपर्ने बेलामा गुटगत बैठक गर्दै हिँड्ने? सभामुखको विषयमा प्रधानमन्त्रीबारे गलत प्रचार गर्ने। यसले राम्रो संकेत देखाएन,' नेकपाका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने।

प्रचण्डले छुट्टै भेला गरेपछि प्रधानमन्त्री रुष्ट बनेका छन्। कार्यकारी अध्यक्ष पाएका प्रचण्डको उक्त भेलाको नेकपाभित्र निकै चर्चा पनि पायो। त्यसो त प्रधानमन्त्री ओली सभामुख पार्टीले उठाउने निर्णय गरे पनि उपसभामुखलाई राजीनामा गर्ने निर्देश गरेको विषयप्रति पनि असन्तुष्ट भएका छन्।

'नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हरिबोल गजुरेललगायतका नेताहरुले उपसभामुखको राजीनामा नआएर सभामुखको उम्मेदवार बनाउन नपाएको भन्नुभएको विषयले नै उपसभामुख झनै असन्तुष्ट बन्नुभएको थियो। त्यसमाथि शनिवारको सचिवालयमा पार्टीले सभामुख उठाउने भन्ने निर्णय मात्रै गर्नुपर्थ्यो। संवैधानिक पदमा भएको व्यक्तिलाई राजीनामा गर्न निर्देश दिइयो। यसले झनै जटिल बनाएको छ,' ती नेताले तर्क गरे।

ओली र दाहालबीच मनमुटाव भएको विषय सतहमा देखिन थालेको छ। शनिवारको सचिवालय बैठकमा ओली सहभागी थिएनन्। उनी सचिवालय डाकेर डायालासिसका लागि मनमोहन कार्डियोलोजी पुगेका थिए।
यसबाट प्रस्ट देखिन्छ, उपसभामुखलाई राजीनामा दिन लगाउने निर्णय प्रचण्डको थाप्लोमा हालेर ओली पन्छिन् खोजेको।

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णयको तुम्बाहाम्फेले ठाडै अस्वीकार गरिन्। उनलाई भीलिपल्टै बालुवाटार बोलाएर सम्झाई बुझाई गर्ने प्रयत्न गरियो। तर, उनी अडानबाट टसमस भएकी छैनन्। अध्यक्षको आग्रहमा संसद बैठक भने सुचना टासँ गरी स्थगित भयो।

उपसभामुख शिवमायाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदासम्म आफूले पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएकी छिन्। त्यसमाथि पनि आफू सभामुख हुन अयोग्य हुनुको कारण पेश गर्ने पनि नेतृत्वलाई चुनौतीसमेत दिएकी छिन्।

उता, पूर्व माओवादीको भागमा परेको सभामुखमा पूर्व एमालले विवाद गर्नु नहुने पूर्व माओवादी पक्षका नेताहरु बताउँछन्। नेकपाका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङ संवैधानीक पदमा बसेर बार्गेनिङ गर्न नहुने बताउछन्।

सोमवारमात्रै उनले भनेका छन्, ‘संवैधानिक संकट पैदा भएको अवस्थामा जुनसुकै पोस्टमा रहेका व्यक्ति पनि समाधानमा लाग्नुपर्ने हुन्छ। सदनलाई नै अवरुद्ध बनाएर कसलाई उम्मेद्वार बनाउने भनेर बार्गेनिङ गर्ने तरिका उपयुक्त भएन। कम्युनिस्ट पार्टीको सन्दर्भमा त्यस्तो प्रकारको संस्कार राम्रो होइन। कुनै पदमा बसेर बार्गेनिङ गर्नु फेयर पोलिटिक्सको विषय होइन।’ सभामुख कसलाई बनाउने भन्ने पार्टीले निर्णय गर्ने उनको भनाई छ।


भावी सभामुख शिवमाया!

दुई अध्यक्षको अन्तरद्वन्द्वले सभामुख चयन प्रक्रिया अझै धकेलिने देखिन्छ। दुई अध्यक्ष बसेर सभामुखबारे निर्णय लिनुपर्ने अवस्थामा कुराकानी नै हुन नसकेकाले सभमुखको विषय अझै धकेलिन सक्ने नेताहरु बताउँछन्।

उसो त दुई अध्यक्षबीच बाहिर जस्तो चर्चा चले पनि भित्रको वास्तविकता अर्कै हुन सक्ने अनुमान पनि नेता कार्यकर्ताले गर्न थालेका छन्। केही नेताबीच प्रचण्डले कार्यकारी अध्यक्षको पदसँग सभामुख साटिसकेको कुराकानी हुन थालेको छ। प्रचण्डले गत मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका थिए। सत्य यही भएमा राष्ट्रपति र प्रधानमन्त्रीको आशीर्वाद पाएकी शिवमाया नै भावी सभामुख हुन सक्ने दाबी ती नेताहरुले गर्न थालेका छन्।

कार्यकारी अध्यक्षसँग सभामुख साटिसकेकाले शिवमाया नै सभामुख नभए पनि पूर्व एमालेले सभामुख पाउने सम्भावना प्रबल रहेको बताइएको छ। शिवमायालाई स्टेजमा देखाएर ब्याकग्राउन्डमा पूर्वएमालेले नै सभामुख राख्ने ओलीको दाउ हुनसक्ने नेकपा नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell