PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बालविवाह रोक्न धर्म गुरुको साथ खोज्दै प्रहरी



राधेश्याम पटेल

बालविवाह रोक्न धर्म गुरुको साथ खोज्दै प्रहरी

वीरगंज : पर्सा प्रहरीले सामाजिक कुरीति न्यूनीकरण गर्न धार्मिक गुरुहरुसँग साझेदारी गर्ने भएको छ। पर्सामा पछिल्लो समय बालबालिका बेपत्ता हुने तथा भागेर विवाह गर्ने क्रम बढेसँगै प्रहरीले धार्मिक गुरुको सहयोगबाट जिल्लामा बालविवाह रोक्ने कार्यक्रम शुरु गरेको हो।

प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत पहल संस्थाको सहयोगमा आज वीरगंजमा धार्मिक गुरुहरुसँग अन्तर्क्रिया गरी बालविवाह रोक्ने सम्बन्धमा छलफल भएको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार पर्सामा चालू आर्थिक वर्षको ६ महिनामा १३४ जना महिला/पुरुष हराएकोमा १०२ जना फेला परका छन्। जसमध्ये ४४ जना महिला हराएकोमा ३२ जना फेला परेका हुन्। त्यस्तै २८ पुरुष हराएकोमा सबै फेला परेका थिए भने ६२ जना बालबालिका हराएकोमा ४२ जना फेला परेका थिए।

त्यसैगरी, गतवर्षको तथ्यांकमा पनि हराउनेको संख्या कम छैन। गत वर्ष २२८ जना महिला, पुरुष हराएकोमा १४४ जना मात्र फेला परेका थिए। त्यसमा बालबालिकाको संख्या ११८ थियो। जसमध्ये ७६ जना फेला परेका थिए।

यसैगरी, आव २०७४/०७५ मा कुल १२२ जना हराएकोमा ८४ जनालाई प्रहरीले खोजेको थियो। जसमा ३७ जना बालबालिका थिए भने त्यसमध्ये २९ जना फेला परेको तथ्यांक छ।

बालबालिकाहरुको पहुँचमा मोबाइल र इन्टरनेट हुँदा कानुनी उमेर भन्दा पहिले भागेर विवाह गर्ने क्रम बढेको जिल्ला बाल इजलाश प्रतिवेदक रितेश त्रिपाठीले बताए। उनले बालबालिकालाई मोबाइलबाट टाढा राख्नु पर्ने सुझाव दिनुको साथै चौबीसै घण्टा छोराछोरीको निगरानी गरिदिए बालविवाह हुने बताए।

हिन्दु, मुस्लिम, सिख र क्रिश्चियन धर्मका धर्मगुरु र अगुवाले आजको अन्तक्र्रिया कार्यक्रममा आफ्नो धर्म र समुदायमा बालविवाह रोक्ने सामुहिक प्रतिबद्धता गरे। इस्लाम धर्मका तर्फबाट मौलाना अली असगर मदिनी, नेपाल ख्रिष्टियन समाज पर्साका अध्यक्ष नारायण आचार्य र सिख धर्मकातर्फबाट अमरजित सिंह र हिन्दु धर्मका तर्फबाट नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष पण्डित पुरुषोत्तम दुबेले लिखित रुपमै प्रतिबद्धता जनाएका हुन्।

कुनै पनि धर्ममा बालविवाहलाई मान्यता नदिएको भन्दै उनीहरूले बालविवाह कानुनी मात्र नभइ सामाजिक अपराध पनि भएकोले समाजबाट यसलाई निमिट्यान्न नै पार्नु पर्नेमा जोड दिए।

प्रहरीको यो सचेतनामुलक अभियानसँगै राज्यले बालबालिकाको शिक्षामा पनि जोड दिनुपर्ने सुझाव उनीहरूको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell