PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ए डिभिजन लिगमा ४२ खेलमध्ये १४ खेल बराबरीमा : गोलको खडेरी, फेरि पनि पुरानै खेलाडीको भर



मुकुन्द घिमिरे

ए डिभिजन लिगमा ४२ खेलमध्ये १४ खेल बराबरीमा : गोलको खडेरी, फेरि पनि पुरानै खेलाडीको भर

गोल!

दशरथ रंगशालमा मंगलबारको खेलको ५५औँ मिनेटमा अमित तामाङले गोल गरे। गोल पेनाल्टीमा पाएको अवसरको सदुपयोग थियो। यही गोलले शीर्ष स्थानमा फेरि उक्लने त्रिभुवन आर्मी क्लबको सपना चकनाचुर बनाइदियो।

पहिलो हाफमा १ गोलले अगाडि रहेको त्रिभुवन आर्मी क्लबका योद्धा शाहीले रेडकार्ड पाएसँगै १० खेलाडीमा सीमित भइसकेको थियो। त्यसपछि दुबै टिमले गोल गर्न सकेनन्। आर्मीको शीर्ष स्थानमा फेरि उक्लने सपना पूरा हुन सकेन। लिगको छैटौँ चरण भने सकियो।

छैटौँ चरणमा सबैभन्दा भाग्यमानी ठहरियो मछिन्द्र क्लब। शीर्ष स्थानको होडमा रहेका ४ टिममध्ये मछिन्द्र क्लबले मात्र ३ अंक जोड्न सक्यो। मनाङ, आर्मी र थ्रीस्टार यी तीन क्लबले यो चरणमा जित निकाल्दा मछिन्द्रलाई पछि पार्दै शीर्ष स्थानमा उक्लन सक्ने समीकरण थियो। तर, मनाङ र आर्मी बराबरीमा रोकिए भने थ्रीस्टार पराजित भयो। र, मंगलबार छैटौँ चरणको अन्तिम खेल सकिँदा शीर्ष स्थानमा उक्लियो, मछिन्द्र।

चौथो चरणसम्म मनाङ मर्स्याङदी क्लबले लिड गरेको तालिका पाँचौँमा त्रिभुवन आर्मी क्लबले र छैटौँ चरणमा मछिन्द्रले लिड गरेको छ। सुरुबाटै अंक तालिकाको शीर्ष स्थानका लागि ठूलै प्रतिस्पर्धा देखिएको छ। कुनै टिमले लगातार जित ननिकाल्दा शीर्ष स्थानमा अंक दुरी एकदमै कम छ। अर्थात ३ अंकको फरकमा शीर्ष चार टिम छन्।

मछिन्द्रको र आर्मीको १३ अंक छ भने मनाङको १२ अंक र थ्रीस्टारको १० अंक छ। लिगमा अगाडि यसै होला भन्ने अवस्था छैन।

अंक तालिकामा कहिले मनाङ, कहिले मछिन्द्र र कहिले त्रिभुवन आर्मी क्लबले लिड गरिरहेका छन्।

बराबरी धेरै खेल

जारी लिगमा धेरै खेलहरु बराबरीमा रोकिए, अझ गोलरहित बराबरीमा पनि। छैटौँ चरण सकिँदा खेलिएका ४२ खेलमध्ये १४ खेलमा कसैले जित हसिल गरेन। यो संख्या कूल खेलको ३३ दशमलव ३३ प्रतिशत हो। त्यसमा पनि गोलरहित बराबरीमा ६ खेल रोकिएका छन्।

हिमालयन शेर्पा क्लबले अहिलेसम्म सबैभन्दा धेरै खेल बराबरी खेलेको छ। ६ खेल खेलेको शेर्पा क्लबले ४ बराबरी र २ हार ब्यहोरेको छ। त्यसपछि साविक विजेता मनाङ मर्स्याङदी क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लबले समान ३/३ खेल बराबरी खेलेका छन्। त्यस्तै नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, एपिएफ, संकटा र फ्रेन्डस क्लबले २/२ खेल बराबरी खेलेका छन्।

नेपाली यू २३ टिमका प्रशिक्षक बालगोपाल महर्जन बराबरी हुनु भनेको प्रतिस्पर्धाको संकेत भए पनि अहिलेको लिगको हकमा भने गोल गर्ने खेलाडीको अभाव भएको देख्छन्। त्यसमा पनि युवा खेलाडीको पहिचान नहुनु, लिगका लागि क्लबहरुको तयारी नपुग्नु, समर्थकको उपस्थिति फितलो रहनु लगायतका कारण देख्छन महर्जन।

लिग निर्देशक तथा फुटबल विश्लेषक सञ्जीव मिश्र राष्ट्रिय टिमका खेलाडीहरु सबै टिममा छरिएकाले यस्तो अवस्था आएको बताउँछन्।

‘यस पटक गोल धेरै नहुनुको एउटा मुख्य कारण चाहिँ राष्ट्रिय टिमका मुख्य खेलाडीहरु छरिएर खेलेकाले पनि हो। पहिलापहिला एउटा दुईवटा टिममा सबै राष्ट्रिय खेलाडीहरु अटाएर खेल्दा तिनै टिमहरु हावी हुने अवस्था थियो। त्यसले अहिले टिमहरुबीच खासै फरक देखिँदैन, उनीहरुको लेभलमा फरक देखिँदैन। तर स्कोर निस्किन चाहिँ गाह्रो पर्‍यो। स्ट्राइकरहरु फिनिसिङमा पनि चुकेकै हो,’ उनले भने।

त्यस्तै गोलको अवसर सिर्जना गर्न पनि टिमहरु चुकेको मिश्र बताउँछन्। ‘सबै टिम त म भन्दिनँ तर कतिपय टिमहरुको चाहिँ बल पोसेसनदेखि गोलको अवसर सिर्जना गर्ने कुरामा पनि समस्या देखिन्छ। पासै खेल्नमा पनि समस्या छ। त्यसले पनि गोल गर्न गाह्रो भइरहेको छ।‘

घटेको गोलअन्तर

जारी लिगमा यही टिम हावी भइरहेको छ भन्ने अवस्था छैन। शीर्ष स्थानको होडमा रहेको टिम रेलिगेसन जोनमा रहेको टिमसँग पनि पराजित भइरहेको छन् भने विगतमा राम्रो प्रदर्शन गर्दै आएको टिमले पनि फितलो प्रदर्शन गरेका छन्।

जारी लिगमा सबैभन्दा ठूलो गोल अन्तरको जित भनेको एनआरटी क्लबको हो। एनआरटीले सरस्वती युथ क्लबमाथि हात पारेको ४-० को जित नै जारी लिगमा सबैभन्दा फराकिलो अन्तरको जित हो। सबैभन्दा धेरै जित भनेको १ गोलको अन्तरले भएको छ। कूल १६ खेलहरु १ गोलको अन्तरमा जित-हार भए। त्यस्तै १० खेल २ गोलको अन्तरले जित-हार भए। त्यस्तै ३ गोलले १ खेल र ४ गोलको अन्तरले १ खेलमा जित हार भयो।

प्रशिक्षक महर्जन लिग दर्शकको फितलो उपस्थितिले पनि खेलाडीमा उत्साह नआएको हुनसक्ने बताउँछन्। त्यस्तै पूर्वाधारको अभावले यस्तो भएको हुनसक्ने उनको भनाइ छ।

महर्जनले गोल गर्ने खेलाडीमा आट्याकिङ जस्तो देखिनु पर्ने हो त्यस्तो नदेखिएको बताए।

‘गोल गर्नका लागि अट्याकिङ ठाउँमा पुगिसकेपछि गोल गर्ने जुन लगाव, मेहेनत हुन पर्ने हो त्यसको कमी देखिन्छ,’ महर्जनले पहिलोपोस्टसँग भने,‘यो लिगमा चाहिँ विदेशी खेलाडीहरुको पनि प्रदर्शन त्यति बलियो देखिएन। पहिला चाहिँ विदेशी खेलाडीले स्कोर निकाल्ने वा टिममाथि नै हावी हुने देखिन्थ्यो। त्यो अहिले देखिएन।’

अर्कोतर्फ मिश्र विदेशी खेलाडीहरुको हकमा केही क्लबमा राम्रो प्रभाव छोडिरहेको बुझेका छन्।

‘एउटा दुईवटा क्लबमा विदेशी खेलाडी राखेर पनि उनीहरुको प्रभाव नदेखिएको होला तर, अधिकांशमा ३ विदेशी खेलाडीले ५ नेपाली खेलाडी बराबरको खेल खेलिरहेका छन्,’ उनले तुलना गर्दै भने।

लिगमा खेलको माहोल पनि खासै जम्न नसकेको बुझाइ प्रशिक्षक महर्जनको छ। खेलको समय र दर्शक आउने समयमा तादम्यता मिलाउन सके खेलस्तरमा पनि केही सकारात्मक प्रभाव पर्न सक्ने बुझाइ महर्जनको छ।

‘दर्शकको हौसलले पनि खेलमा धेरै असर गर्छ। अस्ति सागमा हेर्नुस न, दर्शकको साथ र समर्थनले खेलाडीलाई पनि खेलौँखेलौँ भन्ने जस्तो वातावरण बनाएको थियो। यसले पनि अलि मोटिभेसन गर्छ,’ उनले भने।

जारी लिगमा सर्वाधिक गोल गोलकर्ता सन्तोष साहुखल रहेका छन्। च्यासल युथ क्लबका कप्तानसमेत रहेका उनले जारी लिगमा ५ गोल गर्दै व्यक्तिगत स्कोरतर्फ अघि छन्। उनी शहीद स्मारक लिगमा १०० गोल पुर्‍याउने पहिलो खेलाडीसमेत हुन्। उनलाई पछ्याउँदै मछिन्द्रका सोमिडे एडिलेजा, मनाङका विमल राना, एपिएफका आशीष लामा, आर्मीका नवयुग श्रेष्ठ र नेपाल पुलिसका सुमन लामाले समान ३/३ गोल गरेका छन्।

खेलमा युवा खेलाडीहरु चम्किन नसक्नुको कारण लिगको तयारीमा ध्यान नपुगेकाले भएको महर्जनको बुझाइ छ। विभागीय टिमबाहेक अरु टिमले लिग सुरु हुनै लाग्दामात्र थाल्ने भएकाले नयाँ खेलाडी माथि आउन गाह्रो भएको उनको विश्लेषण छ।

‘विभागीय टिमहरु बाहेक अरु टिमले लिग आउन लाग्दामात्र तयारी अघि बढाउने हुँदा तिनै रेडिमेट खेलाडी राख्ने र नयाँ खेलाडीको स्काउटिङ गर्ने, ट्रायल गर्ने या उसको प्रदर्शन हेर्ने लगायतमा ध्यान नपुगेको देखिन्छ,’ महर्जनले युवा खेलाडीको लिगमा अवस्थाबारे कुरा गरिरहँदा गम्भीर सुनिए।

यू २३ मा युवा खेलाडीको जोस र उत्साहलाई नजिकबाट नियालिरहेका महर्जनलाई युवा खेलाडीले बढी संघर्ष गर्नुपरेको भन्ने लागेको छ।

हुन पनि अवस्था त्यस्तै नै छ। लिगमा पुराना खेलाडीहरु सन्तोष साहुखल, भोला सिलवाल, जुमानु राईलगायत मैदानमा छन्। भएका युवा खेलाडीहरुले पनि उल्लेखनीय योगदान दिन नसकिरहँदा तिनै खेलाडीको भर पर्नुपरेको अवस्था देखिन्छ।

तर, गोल गर्न नसकेकै कारण शीर्ष स्थानमा ‘जाम’ भएका क्लबहरुको अवस्थाले चाहिँ खेललाई थप रोचक बनाउँदै लगेको छ। यसले खेल यति अनिश्चित बनाउँदै लगेको छ कि सातौं चरण सकिँदा पनि कुन टिम शीर्ष स्थानमा उक्लिएला भन्न सकिने अवस्था छैन।

छैटौँ चरणको खेल चलिरहँदा दशरथ रंगशालामा भेटिएका एकजना खेलपत्रकार भन्दै थिए, ‘यो लिग पहिला ला लिगा को प्याट्रनमा थियो। यी ३ मध्ये १ ले जित्ला भन्ने निश्चित नै हुन्थ्यो। अहिले त प्रिमियर लिग जस्तो भएको छ। एउटा खेल हेर्‍यो यही टिमले जित्छ जस्तो। अर्को खेल हेर्‍यो त्यही टिमले जित्छ जस्तो। हेर्दै गएपछि कुनले जित्छ जित्छ। अनिश्चित।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell