PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

छाउगोठ भत्काउने अभियान जारी



रासस

छाउगोठ भत्काउने अभियान जारी

भीमदत्तनगर : स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा मंगलवार १२ वटा छाउगोठ भत्काइएको छ। भीमदत्त नगरपालिका-३ तिलकपुरमा सात र वडा नम्बर ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो। 

वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ भत्काउने काम भएको जानकारी दिँदै अभियानले निरन्तरता पाउने बताए। भत्काएका छाउगोठ पुनःनिर्माण गरिए वडा कार्यालयबाट उपलब्ध सुविधा दिन रोक लगाइने भीमदत्त नगरपालिका-३ का वडाध्यक्ष रामबहादुर जप्रेलले बताए।

‘यसअघि पनि हामीले छाउगोठ भत्काएका थियौँ’, वडाध्यक्ष जप्रेलले भने, ‘केही स्थानीयले फेरी निर्माण गरेको पनि भेटियो।’

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटामा पनि सोमवारदेखि स्थानीय तह र प्रहरी प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए।

यसैबीच, अछामका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी छ। जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन्।

साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ। छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ।  मंगलसेन नगरपालिकाले नगरका १४ वडा तथा चौरपाटी गाउँपालिकाले सात वडामा छाउगोठ भत्काउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षीय निर्णयअनुसार माघ मसान्तभित्र सबै वडा, फागुन १५ भित्र नगर र मसान्तसम्म जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्न अभियानका साथ लागि परेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले बताए।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार हालसम्म एक हजार ८५८ छाउपडी गोठ भत्काइएको छ। कतिपय ठाउँमा प्रहरीको टोली खटेर भत्काउने गरेकाको र कतिपयले स्वतःस्फुर्त आफैँ भत्काउने गरेकाले छाउपडी गोठ भत्केको तथ्याङ्क बढ्न सक्ने प्रहरी प्रमुख दीपक भारतीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell