PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भेष 'बाबा', केस 'रेप'



सविन ढकाल

भेष 'बाबा', केस 'रेप'

काठमाडौं : केही दिनअघि केही युवा महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी बोकेर पुगे। उनीहरुको उजुरीमा २० लाख रुपैयाँ ठगिएको जानकारी थियो। प्रहरीले ठगीमा उजुरी दर्ता गरायो। तर, ठगी गर्ने मानिस सामान्य भने थिएनन्।

असामान्य हुनुको अर्थ थियो प्रहरी नै हच्किनुयो। उजुरी ‘बाबा स्वामी शिवानन्द’ माथि थियो। शिवानन्द अर्थात्, दीपक भण्डारी।

धेरैले बाबा, स्वामी, लगायत धार्मिक आस्था भएका व्यक्तिलाई भगवानको रुप नै ठान्छन्। उनीहरुले ठगी गरे पनि त्यसलाई पत्याउन सक्दैन समाज। त्यसैले कसैले आक्षेप लगाउन पनि कम्तिमा पटक पटक सोच्ने गर्छ। प्रहरीका लागि पनि यो उजुरी त्यस्तै थियो। तर, लाग्नु र हुनुमा अन्तर हुन्छ। प्रमाणले नै ठगी गरेको देखाएपछि प्रहरी जुट्यो फरार दीपकको खोजीमा।

गुल्मी छत्रकोट गाउँपालिका-१ गैह्राबारीका २९ वर्षीय ‘बाबा स्वामी शिवानन्द’ भनिने दीपक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिन सफल पनि भयो। भण्डारीले वर्किङ भिसामा चेक रिपब्लिक पठाइदिन्छु भन्दै टीकाराज पाठक, सञ्जीवकुमार राई र कृष्णप्रसाद बरालसँग १८ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। त्यस्तै उनले सृजना घिमिरेबाट भिजिट भिसामा दुबई पठाइदिने भन्दै पासपोर्ट र ३० हजार रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

'अहिले नै १८ लाख भन्‍दाबढी ठगी गरेको देखियो। ४० लाख रुपैयाँ भन्दा बढी उठाउने योजना देखिन्छ,' महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने।

उनले विभिन्न स्थानमा योग शिविर समेत सञ्चालन गर्दै आएका थिए। छोटो समयमा नै दीपकबाट ‘बाबा स्वामी शिवानन्द’ बनेका हुन् उनी। योग र धर्म प्रचारका क्रममा नै ठगीमा संलग्न देखिएपछि प्रहरीले उनलाई पक्रेको हो। ठगिने चाहिँ उनकै शिष्य भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। 'अहिले यतिमात्र ठगिएका छन्। के थाहा भोलि अरु पनि थपिन सक्छन् कि भनेर अनुसन्धान गरिरहेका छौं,' एसएसपी थापाले भने।

पाष्टर पनि उस्तै

यता 'बाबा स्वामी शिवानन्द’ समातिँदा उता क्रिश्चियन धर्मका पाष्टर समेत समातिएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर कुसुन्तिस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर विश्वास जोशी भनिने ध्रुवबाब जोशीलाई समातेको हो।

पाष्टर जोशी माथि लागेको आरोप पनि सामान्य छैन। एक युवतीलाई करणी गरेको उजुरी परेपछि प्रहरीले जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। उजुरी दिएकी युवती उपचारका लागि भन्दै चर्चमा पुगेको बताएकी छिन्। त्यही क्रममा जोशीले परमेश्वरको आदेश भन्दै महिलामाथि यौन दुर्व्यबहार गर्दै आएको उजुरीमा उल्लेख छ। उनले आफुमाथि एक वर्षमा पटकपटक करणी भइरहेको बताएकी हुन्।

'करणीको उजुरीपछि केही प्रमाणहरुले पनि संकेत गरेकाले नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' परिसरका एसपी दुर्गा सिंहले भनिन्।

पाष्टर जोशीले युवतीलाई धर्मको नाममा उपचार गर्ने भन्दै गेष्ट हाउसमा पुर्‍याएर करणी गरेको देखिएको छ। युवतीले उल्लेख गरेको गेष्ट हाउस पुगेर प्रहरीले अनुसन्धान गरिसकेको छ। गेष्ट हाउसका कर्मचारी तथा अन्य मानिसले युवतीलाई लिएर पाष्टर आएको जानकारी दिएका छ। पाष्टरले पनि गेष्टहाउमा युवती लिएर गएको तर करणी नगरेको दावी गरेका छन्। 'गेष्ट हाउससम्म गएको स्वीकारेका छन्। अरु अनुसन्धानमा खुल्ने छ,' एसपी सिंहले भनिन्।

ती २१ वर्षीया युवतीमा शरीर काम्ने रोग थियो। त्यही रोग निको हुने आशमा करिव दुई वर्षअघि चर्चमा पुगेकी थिइन् उनी।

भेष 'सिद्धबाबा' केस 'रेप'

'सिद्धबाबा' भनिने कृष्णबहादुर गिरी प्रहरीको नियन्त्रणबाट त उम्किए। तर, अदालतको चक्कर सकिएको छैन। उच्च अदालत विराटनगरमा जिल्लाको आदेश विरुद्ध निवेदन दिएका छन्। उच्चले पनि गिरीको मुद्दाको १५ दिनभित्र सक्कल मिसिल सहित कैफियत प्रतिवेदन पेश गर्न सुनसरी जिल्ला अदालतका नाममा आदेश गरेको छ।

उनको पनि केश उस्तै छ। आफ्नै अनुयायीमाथि बलत्कार। त्यसो त उनीमाथि अरु आरोप नलागेको भने होइन। तर, प्रहरी र अदालतसमक्ष पुर्‍याएको घटना भने 'रेप' नै हो। सरकारी जग्गा हडपेको, दुई वटा नागरिकता लिएको, ठगी जस्ता आरोपलाई सहजै पचाएका सिद्धबाबा बलात्कार केशमा हिरासत नै बस्नु पर्‍यो। तर, अरुले जस्तो प्रहरीको चिसो कारागार होइन, अस्पतालको भिआइपी डिलक्स क्याविनमा।

बलात्कारको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको पुस १४ को आदेशले अभियुक्त गिरी धरौटीमा छुटेका थिए।

गिरीमाथि आफ्नै महिला अनुयायीलाई गत ४ कात्तिकमा करणी गरेको आरोप लागेको छ।

उनको महिलासँग भएको सम्वाद र अडियो समेत बाहिरिसकेको छ। उनले फोनमा महिलासँग आफूले गतल गरेको भन्दै मुद्धा फिर्ता लिन समेत आग्रह गरेका छन्।

उस्तै अपराधको श्रृङ्खला

२०७४ गत मंसिर ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई पक्राउ गरेको थियो। उनी सिन्धुलीका बौद्ध 'धर्मगुरु' चाल्नाखेलस्थित गुम्बाबाट समातिए। रिम्पोछेको घटना पनि सामान्य भने थिएन।

एक महिलाले आफुलाई धर्मगुरु रिम्पोछेले धर्मको त्रास देखाउँदै ६ वर्षदेखि यौन शोषण गरेको उजुरी प्रहरीमा दिएपछि आडम्बरी धर्मगुरु प्रहरीको नियन्त्रणमा परेका थिए। उपचारको लागि गुम्बामा पुगेकी महिला माथि पटकपटक यौन शोषण गरेका थिए उनले।

लामो समय देखि उनले आफू अवतारी लामा भएको र जस्तोसुकै रोक पनि निको पार्न सक्ने भन्दै ती महिलालाई आश्वासन र धम्की दिएर यौन शोषण गरेका थिए।

लामाले पीडित महिलाहरूलाई कसैलाई भनेमा ठूलो क्षति हुने, पुनः रोग बल्झिने भन्दै तर्साउँथे। रोगको उपचारका लागि गुरुसँगै यौन सम्बन्ध उनको उपचारको मेथड बताउँथे। र, अरुसित बिहे गरे मृत्यु पनि हुनसक्ने भन्दै तर्साउँथे।

दक्षिणकाली नगरपालिका चाल्नाखेलमा रिम्पोछेले आफ्नै लगानीमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा स्थापना गरी अपराधिक गतिविधि संचालन गर्दै आएका थिए। १० वर्षदेखि चाल्नाखेलमा सञ्चालित गुम्बा १२ रोपनी जग्गामा फैलिएको छ।

उनले धर्मको नाममा नै पैसा समेत उठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

रिम्पोछे दश वर्ष अघि ट्रेकिङ व्यवसायमा संलग्न रहेकोसमेत खुलेको छ। ट्रेकिङ व्यवसायबाट कमाएको पैसाले नै उनले गुम्बामा रुपान्तरण गर्दै आर्थिकोपार्जनको नयाँ आधार खडा गरेका थिए।

जिल्ला अदालतले उनलाई पूर्पक्षको लागि थुनामा पठायो। तर, मुद्धाको अन्तिम किनारा लगाउदा भने उनले अदालतबाट सफाइ पाए। मुद्धा उच्च अदालत पाटनमा पुग्यो। उच्च अदालतले उनी विरुद्ध सात वर्ष कैद र ३० लाख रुपैयाँ जरिवाना सुनाएको छ।

अरु 'बाबा' पनि बदनामै बदनाम

लिटिल बुद्धको रुपमा चिनिएका रामबहादुर बम्जन पनि अपराधको आरोपबाट अछुतो भने छैनन्। उनीबिरुद्ध पनि बलात्कार देखि हत्यासम्मको आरोप लागेको छ। प्रहरीमा उजुरी नपरेको भने होइन तर प्रमाण नभेटिदा बम्जन प्रहरीको हिरासतभन्दा टाडै छ्न्। बम्जनको सिन्धुली, सिन्धुपाल्चोकमा रहेको आश्रममा प्रहरीले छापा मारेर अनुसन्धान गर्‍यो। तर केही फेला नपरेको भन्दै प्रहरी पछि हटेको थियो।

युवा सन्त श्रीनिवासचार्य पनि अपराधमा जोडिएका 'धर्मगुरु' हुन्। २०७४ चैतमा उनी माथि भएको गोली प्रकरणमा उनी आफै मुछिए। आफ्नै योजनामा आफैंलाई गोली हानेको रहस्य खुलेपछि उनी पनि प्रहरीको अनुसन्धानमा तानिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell