
काठमाडौ : नेपाल प्रहरीले अनुसन्धानको लागि चार वटा थप कुकुर ल्याउने भएको छ।
टेन्डर प्रकृया सकिएर आगामी वैसाख महिनासम्म कुकुर आउने गरी प्रकृया सुरु भएको छ। ब्लड हाउन्ड र बेल्जियम सेफर्ड वर्गको कुकुर ल्याउन लागेको नेपाल प्रहरीको कुकुर तालिम केन्द्रका प्रमुख डिएसपी रामचन्द्र सत्यालले जानकारी दिए।
'पछिल्लो समय अनुसन्धानमा कुकुरको माग बढेको छ। त्यसैले पनि चारवटा कुकुर थप गर्ने प्रकृया सुरु भइसकेको हो,' डिएसपी सत्यालले भने।
युरोपियन मुलुकबाट १८ लाख रुपैयाँमा चारवटा कुकुर ल्याउन लागेको हो। प्रहरीले ल्याउन लागेको ब्लड हाउन्ड जातको कुकुरले ९६ घण्टा पुरानो घटना सुँघ्ने क्षमता राख्छ। अहिले नेपाल प्रहरीसँग देशभर ९१ वटा तालिम प्राप्त कुकुर छन्। केन्द्रीय कुकुर तालिम केन्द्रमा मात्र ४१ वटा कुकुर छन्। त्रिभुवन विमानस्थलमा १० वटा कुकुर खटाइएका छन्। कुकुरको हेरचार र तालिमको लागि ६० जना प्रहरीहरू रहेका छन्।
प्रधानमन्त्री कार्यालयमा पनि प्रहरी कुकुरको कोटा रहेको छ। तर, अहिलेसम्म त्यहाँ भने कुकुर पठाइएको छैन। 'प्रधानमन्त्री कार्यालय नजिकै भएकाले पनि केन्द्रबाट नै कुकुर लगिने गरिन्छ। त्यहाँ नै कुकुर राख्ने व्यवस्था गरिएको छैन,' डिएसपी सत्यालले भने। राष्ट्रपति कार्यालयमा भने कुकुरको दरवन्दी नै छैन।
नेपाल प्रहरीसँग अहिले हिरो, डिजे, गङ्गा, जङ्गे, मुन्सी, साथी, रेस्क्यु, जो जो, जोली नाम गरेका तालिमप्राप्त कुकुर अनुसन्धानमा खटिरहेका छन्।