PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश १ का नेकपा सांसद् भन्छन्, 'सचिवालयले प्रदेशको नामाकरणमा हस्तक्षेप नगरोस्'



कुञ्जरमणि भट्टराई

प्रदेश १ का नेकपा सांसद् भन्छन्, 'सचिवालयले प्रदेशको नामाकरणमा हस्तक्षेप नगरोस्'

काठमाडौं : केहि दिन अघि मात्रै प्रदेश ३ ले प्रदेशको नाम र राजधानी पायो। प्रदेश सभामा मतदान मार्फत् नाम प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम भयो। तर, यसमा  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेश सांसदहरु असन्तुष्ट थिए। विपक्षी दल नेपाली कांग्रेस समेत नाम र राजधानीको विषयलाई लिएर विभाजित थियो। तर ह्वीप मार्फत सांसदहरुलाई वाग्मती र हेटौंडाका पक्षमा मतदान गर्न लगाइयो।

नेकपाको केन्द्रीय सचिवालयले प्रस्ताव गरेको नाम र राजधानी नै मान्नु पर्ने बाध्यता प्रदेश सांसदहरुलाई भयो। उनीहरुले पार्टीमा फरक मत दर्ता गराउन बाहेक अरु केही गर्न सकेनन्।

प्रदेश ३ को नामाकरणसँगै अब ३ वटा प्रदेशको नाम टुंगो लाग्न बांकी छ। प्रदेश नम्बर १ , २ र ५ को नामाकरण अझै बांकी छ। यता प्रदेश ३ को नाम र राजधानी राख्ने काममा केन्द्रबाट हस्तक्षेप भएपछि नामाकरण गर्न बांकी प्रदेशका सांसदहरु समेत सशंकित भएका छन्।

प्रदेश २ बाहेक प्रदेश १ र ५ मा नेकपाकै सरकार छ। त्यसैले यी प्रदेशहरुमा पनि नेकपा केन्द्रले प्रदेश ३ मा स्थापित गरेको नजिर नै कायम गर्न सक्ने अुनमान गरिएको छ।

आउने केही हप्तामा नै प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। त्यस अधिवेशनमा सकेसम्म प्रदेशको नाम टंगो लगाउने तयारी भइरहेको छ। तर प्रदेश १ का सांसदहरुले भने प्रदेशको नामाकरणमा हस्तक्षेप नगर्न केन्द्रलाई आग्रह गरेका छन्।

बुधवार राष्ट्रिय सभा गृहमा आयोजित किरात यले सम्वत ५०८० को शुभकामना आदान-प्रदान र यलम्बर स्मृती सम्मान र पुरस्कार वितरण कार्यक्रम प्रदेश सांसद रामकुमार राईले प्रदेशको नामाकरणमा पार्टी केन्द्रलाई हस्तक्षेप गर्न नहुने बताएका हुन्।

भने, 'प्रदेशको नामको विषयमा पार्टीले हस्तक्षेप गरेको अनुभव भइरहेको छ। प्रदेशको संवैधानिक अधिकार नमिचियोस्। जनताको जनमतलाई नकल्चियोस्।'

राईले प्रदेश १ लाई पहिचान सहितको किरात राज्य बनाउनुपर्ने माग समेत राखे।

कार्यक्रममा उपस्थित भएका प्रदेश १ का मुख्यमन्त्री  शेरधन राईलाई लक्षित गर्दै उनले भने, ' प्रदेशको नाम किरात प्रस्ताव गर्नुस हामी काँध थाप्न तयार छौं।'

यस्तै, सांसद प्रमिला राईले मुख्यमन्त्री किराती भएकाले पनि प्रदेश १ को नाम किराती प्रदेश हुने विश्वास व्यक्त गरिन्। त्यस्तै संघीय सांसद हेम कुमार राईले आफूहरुले कोशी प्रदेशका लागि नभएर किरात प्रदेशका लागि संघर्ष गरेको भन्दै भने, '१ नम्बरलाई किरात प्रदेश बनाइनुपर्छ। कोशी प्रदेश होइन्। हामीले कोशी प्रदेशका लागि संघर्ष गरेका थिएनौं।'

किरात राई यायोक्खा, केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा सिक्किमका निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङलाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell